परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आरन  हेर्न  आएँ

बुढ्यौली साहित्य (शृङ्खला - २०)

बढ्दै उमेर जब पुग्दछ काट्छ सीमा

घट्दै गए बल बुता गति हीन छाया

संसार यो कति थियो रस राग युक्त

सारा कुरा अब भए सपना विचित्र ।१

 

अग्ला पहाडतिर जन्म भयो दुबैको

मागी बिहे गरिदिए जुन भोग्न लेख्यो

पेशा थिएन घन घोट गरेर खायौं

शिक्षा थिएन पहिले पछि चेत पायौ।२

 

उठ्दै बिहानपखमा कलतर्फ जान्थे

बेला रहेतक कडा पसिना निकाल्थे

भाँडाकुँडा कति बने घनले पिटेर

त्यै सीप खान उनको छ कमाइ थोर ।३

 

फाली कुटो र हँसिया दिनकै बनाए

त्यो तप्त राप उनले बहुतै पचाए

आँटो पिठो जति मिले म पकाइदिन्थें

सिस्नो र साग बनको म जुटाइ दिन्थें ।४

 

छोरी थिए घर गए, सबको बिदाई

गर्दै रह्यौं नयनका गह ती सुकाई

सन्तान हुन् जति जसो प्रभुले दिएको

लेखेर यो नसिबमा पहिल्यै भरेको ।५

 

धेरै खपेर दुःख दर्द गयो उमेर

के हुन्छ आज दुःखका कथनी गरेर

गाह्रो भयो मुलुकमा दलका विचार

निर्धा सबै मनुज यी पिसिए अचार ।६

 

छोडेर जन्म धरती तल फाँट झर्दा

भोग्यौं निकै कहर वास नवीन गर्दा

आँखा बसे घन उचाल्न भयो फसाद

यो राज्यको नियमले परियो विशाद ।७

 

कोभीडले तन भयो कति शक्तिहीन

अन्य आकर्षणहरू

कर्णाली महिला र खोकी

भरोसाको त्यान्द्रो चुटेको बेला

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा

मानवीय जीवन, मृत्यु र कर्तव्य

आँखा अस्पताल र भित्री आँखा

खोकी रुघा सब मिले तन छिन्न पार्न

बूढो शरीर तनमा रति शक्ति छैन

खाना रुचेन र दवा किनिसक्नु छैन ।८

 

पत्याउँदैन छ समाज विभेद गर्ने

आगो निभेपछि यहाँ कुन हुन्छ ताप्ने

कैयौं गुहार गरियो कुन सुन्छ आर्त

बाटो उतै लिनु भयो पतिले शिवार्थ ।९

 

जन्मेर मानुष भई भव सिन्धु भोगी

मेरा गए पति उतातिर दैव लागी

बाँकी यता अब म केवल एक पात्र

आधा मरेपछि भएछु मसान मात्र ।१०

 

कस्तो हरे विधि विधान रचेर फेरि

एक्लै छु आज घर वस्त्र सफेद पैह्री

साथी थिए अघिनसम्म समाज मेरा

सिध्याइ कर्म सब जानुभयो अबेर ।११

 

चन्दा दिएर सबले अभियान साथ

उम्काउने सकल कर्म भएछ खास

रित्तो छ यो घर धरा म कसो गरूँ खै

खेती र अन्न अब के कसरी कुरूँ खै ?१२

 

तिम्रा यिनै घन र आरन हेर्न आएँ

लाचार छन् सब यता अझ सुम्सुम्याएँ

मेरै समान अझ आँसु खसाल्छ पिर्का

भो भो न रो अब भने पनि मान्छ सुर्ता ।१३

 

बिन्ती सुनेन किन ईश्वरले र मेरो

रोएर बाँच्न कतिसम्म छ कर्म फेरो

लैजा भनेँ तर कठै किन सुन्न छाड्यो

एक्लै छु साँझ घरमा भल आँसु जाग्यो ।१४

 

(लोहार्नी दिदी आफ्ना स्वर्गीय लोग्नेको  क्रिया कर्म सकेपछि पहिलोपटक आरनमा  पुग्दा)

छन्द :- वसन्ततिलका

Facebook Comments