परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अधिवेशनसंग हाम्रो प्रचन्नको भेट भकै छैन!

फुटानी

देखिस् होला नि भिरघरे हाम्रो प्रचण्डका पछि पछि गुटुङटुङ मान्छे ओइरेको । जनसभा पनि सानो सानो होइन । खोलो पैह्रो नै हाम्रोतिर आयो । ओली र शेरबहादुर त चिल्लै ।

हो काका ! चुनावको नतिजा नआएसम्म सबै जनता तिमार्को । नतिजा आउन थाले पछि खोलो पैह्रो मात्र तिमार्को जनता हाम्रो । देउवा दाइलाई मन नपराउने कोही छैन । तिम्रो प्रचण्ड र माधव त चुनावदेखि बाह्र हात टाढा भाग्छन् ।

हेर भिरघरे, ओली र तिमार्को देउवा मिलेका छन् । तर हाम्रो प्रचण्डले घुमाएर धर्नासो खुस्किने गरी हाने पछि थाहा पाउछन् ।

काका ! प्रचण्डले साम्राज्यवाद र विस्तारवाद समाप्त पारे जस्तै हामीलाई समाप्त पार्ने हो भने फेरि चतरा गएर भैंसी पूजा गर्नुपर्छ। होइन भने उनलाई रगतले पिर्छ। तिमार्को जनसेनाका कमाण्डरहरु पनि लाइन लागेर ओलीतिर गए । उता उदयपुरतिरका माधवका मान्छे पनि प्रचण्डको पछुवाको पनि पछुवा बनिदैन भनेर ओलीतिरै फर्किए । झापा र धनगढीमा पनि हालत त्यस्तै हुँदैछ ।

नचाहिने कुरो गर्छ भिरघरे । काम नलाग्ने खालका उता गए काम लाग्ने खालका यतै छन् । ऐतिहासिक काम गर्ने प्रचण्ड र माधवलाई छाडेर जानेलाई पनि कार्यकर्ता भन्नुहुन्छ ? ओलीले के नै गरे र । त्यही चीनसंग वाणिज्य सन्धी, चुच्चे नक्शा जारी र नाकाबन्दीका बेला अडान यस्तै चानचुने काम त होनी, त्यहाँ भन्दा के चै गरे र ! सडक, खानेपानी, सिँचाई, अस्पताल, पुल र विद्यालयहरु सप्पै बन्ने वातावरण हाम्रो प्रचन्न काम्रेडले बनाउने सोचेको थियो । अझ हाम्रो झलनाथ काम्रेडले त भनी सके, ती पनि ओली होइन, इन्जिनियर, डकर्मी र सिकर्मीहरुले बनएको हो भनेर । ओलीले प्रचन्नलाई अलिकति उछिनेको मात्र हो ।

त्यही त काका ! ओलीले सप्पैलाई उछिने । इतिहासमा उन्कै नाम लेखिने भयो । माधव नेपालको र झलनाथ खनालको केही पनि नगरेरै बालुवाटारमा फोटा झुण्डिएका प्रधानमन्त्री भनेर लेखिन्छ भने प्रचन्नको १७ हजार निर्दोष जनता ठहरै…!

वाइयात कुरो गर्छ । यस्तो कुरो गर्ने एकजनालाई दाङमा मैले दुई टुक्रा बनाई देको थें ।

तिमार्ले दाङमा मात्र होइन सप्पै जिल्लामा तर्क गर्ने, चन्दा नदिने, भिन्न विचार राख्ने र तिमार्को कार्यकर्ता नबन्ने सप्पैलाई दुई टुक्रा पारेको इतिहास जिउँदै छ नि काका । अब त्यही अतितले लखेटेर तिमार्को इहलिला चिलिमच्वाँट पार्छ ।

हेर भिरघरे ! राजनीतिमा कुनै बेला गल्ती भयो होला ! त्यसैलाई लिएर बेलायतमा जस्तो कसैको खेदो खन्नु हुदैन । तमारु काँग्रेसहरु पनि ओलीको पछि नलाग । त्यो १ नं. प्रदेश र बागमती प्रदेशमा हाम्रो भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइहाल । त्यसपछि तिमार्लाई हाम्रो प्रचन्नले काखी च्याप्ने छन् । पचन्नको शक्ति तिमेरुलाई थाहै छैन, केपी ओलीलाई प्रधानमन्त्री बनाएकै प्रचन्न हो तर जनताले चुनेका भनेर भ्रम फैलाए !

हेर यी बुढाको कुरो ! प्रचन्न आफैं माधव नेपालको शरणमा छन् । त्यही माधव नेपालका भीम र अष्टलाई हाम्रो भन्दै छौ । त्यहाँ भन्दा बढी तिमार्को विजोग के हुन्छ?

यो झुम्री पनि ओलीको पक्ष लिएर बढी नै बोल्छे । कहिले ‘बुहारीले एकादशीमै मेलम्चीको पानी ल्याइन’ भनेकी छ । कहिले ‘घरपटीले मल ल्याए अरे’ भनेर कटाक्ष गरेकी छ । कहिले ‘छोरी, बुहारी, जुवाई, भाई, भतिज–भतिजी सप्पैलाई प्रचन्नले बोकेर वैतर्णी पार गराए’ भनेर कटाक्ष गर्छे । यो सप्पै ओलीले गर्दा भा’को हो । होइन भने प्रचन्न त जहिले पनि ‘जनयुद्ध’ मा खटिने, घाइते हुने, पीडित भएका, अङ्गभङ्ग भएका र कमाण्डरहर्लाई सारै माया गर्ने मान्छे थिए ।

सुनिस भिरघरे तेरो काकाको कुरा ! ओलीले गर्दा प्रचन्नका शाखा–सन्तानले औसर पाको अरे ! जनयुद्धका कमाण्डरहरुलाई माया गरेर, आफ्नै ठानेर त उनीहरुका नाममा निकास भएको रकम आफैं झ्वाम पारे । आफ्नाको खानुलाई हिनामिना भन्न मिल्दैन क्यारे ।

सुने काकी ! यस्तै विचार राख्ने बाहेक प्रचन्नसंग मान्छे नै को छन र । केही महिनापछि जब माधवसंग झगडा हुन्छ अनि माधवलाई पनि ओलीलाई भन्दा बढी गाली गर्छन् । यिनार्को वानी यस्तै हो ।

भिरघरे ! छोड्दे यस्तो कुरा बरु भन काठमाडौंमा वामदेव के गर्दै छन् रे !

के गर्छन् तिनले ! पार्टी एउटै बनाउने भनेर लागेको खबर छ । केपी र प्रचन्न दुवैले गल्ती गरेको छ भनेर मिलाउन खोज्दै छन् अरे । मलाई त लग्दैछ पार्टी एक बनाउन भनेर तेस्रो पार्टी खोल्छन् होला तिनले ।

होइन वामदेव पनि के भाका हँ । अब ओलीलाई साधारण सदस्यबाटै हामीले वर्खास्त गरी सके पछि फेरि केको एकता !

तिमारु त छिटो नि काका ! पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्रीलाई आफ्नै कोठामा बसेर वर्खास्त गर्न सक्छौ । विचरा प्रचन्नले पनि के गरुन् । महाधिवेशनको कहिल्यै सामना गरेका छैनन्। कार्यकर्ता, सङ्गठन, नीति, सिद्धान्त, जनवादी केन्द्रीयता कुन चराको नाम हो बुझ्नु र भोग्नु परेको छैन । फेरि भएन भाग्यमानी पनि छन् । तीन वर्ष केपी ओलीको ‘सेकेण्ड मेन’ बन्नु बाहेक ३२ वर्ष एकछत्र पार्टीको फष्ट ‘मेन’ भर ‘पार्टीमौजा’ चलाए ।

क्षमता हुनेले चलाउने हो भिरघरे ! ओली जस्ताले त चलाको छ । हाम्रो प्रचन्न त जाज्वाल्यमान, जे गर्न पनि सक्ने मान्छे ।

हो काका ! कहिलेकाहीँ हावा पनि हुरी बतास बन्छ । अब ओलीको कुरो । उनी त महाधिवेशनमा माधवलाई जितेर अध्यक्ष बनेका हुन । हाम्रो देउवा र ओलीसंग प्रचन्नको तुलना गर्न मिल्दैन ।

कस्तो डेब्रो कुरा गर्छ भिरघरे ! बाबुराम, मोहन बैद्य जस्ता पछुवा बनार हिँडाउने मान्छेलाई साधारण भनेर गिल्ला गर्छ । बाबुराम र हिसिलालाई एकपटक झण्डै आलोककै बाटोमा पु¥याई दे’को हाम्रो काम्रेडले । इण्डियाको दबाव नभाको भए त्यसैबेला बाबुराम लगायत त्यो पक्षका सबै परम्धाम चलान हुन्थ्ये । हाम्रो प्रचन्नले, फेरि कुम हल्लाएर आदेश दिने समय आउँदै छ भिरघरे !

खै काका ! एमालेका कार्यकर्ता जति ओलीतिर फर्किदै छन् । तिमार्को लडाकु, घाइते, कार्यकर्ता र समर्थक पनि उतै झुमिदैछन् । यस्तोमा प्रचन्नको पालो कसरी आउला र ! तिमार्लाई माया गर्ने हाम्रो गिर्जा बाबु पनि छैनन् ।

अहिले प्रचन्नलाई रातको निद्रा न दिनको भोक भएको हुनुपर्छ । उता लडाकुहर्ले युरोपसम्म पुगेर मुद्दा हाले जस्तो छ । यता अख्तियारले पनि फाइलको धुलो टकटक्यायो भन्दैछन् ।

त्यसले टकटक्याएर फाइल मात्रै अगाडि बढाओस् त ! हामी अख्तियार अदालत, जेल, फाँसी सब समाप्त पार्छौ । हामीले पनि हतियार भिरेर मान्छे छर्लप्पै…!

लु काका ! म तिम्रा यस्ता पाँङदुरे फौजदारी कुरा सुनेर बस्तिन । लागें घरतिर !

जै नेपाल !

Facebook Comments