परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आँखा अस्पताल र भित्री आँखा

बुढ्यौली साहित्य शृङ्खला - १९

आँखा जीवनको महत्तम कडी यो ज्योति हो चक्षु हो
आँखाले सबथोक देख्दछ यता ढोका कता पट्टि हो
यो संसार चिनाउने नयन हे देखाउँछौ ईश्वर
आँखा छैन भने सबै फजुल हुन्  चोला यही नश्वर ।१

 

धेरै  नै दिनदेखि आँसु बहने गाह्रो भयो देख्न र
टाढाको कुन वस्तु के कठिन भो छुट्याउनै मुस्किल
यस्तो दुःख परेर एक किनियो चस्मा निकै मुल्यको
त्यै चस्मा पनि  भाँचिएर लँगडो जस्तो भएको थियो ।२

 

खुट्टो एक टुटेर लाउन यही मिल्दै नमिल्ने भयो
खुट्टो फेर्न भनेर साईत झिकी खुट्टा उता सारियो
टाढाको छ बजार पुग्न हिँडियो चाँडो बिहानै गरी
पुग्दा बन्द दुकान देखिन गयो गर्ने कसो हो हरि ।३

 

अर्को खोज्न पर्यो दुकान जसमा राम्रो बनाओस् पनि
गर्दा खोज तलास सुचित भएँ जा अस्पतालै भनी
कोही सज्जन भेटिए र उनले सल्लाह राम्रो दिए
हाम्रो बढ्छ उमेर सो किसिमले चाहिन्छ चस्मा अरे ।४

 

हिँड्दै पैदल अस्पताल पुगियो खोजी तथा सोधनी
आँखा जाँच गरेरमात्र दिइने थाहा भयो यो पनि ।
लागें नम्बरमा उतातिर गई पालो कुरेको थिएँ
जाँच्दामा जलबिन्दु रैछ  भनियो खङ्रङ्ग आफैं भएँ ।५

 

आँखामा जलबिन्दु भो यदि भने अप्रेसनै पर्छ रे
पैसाको कति लोभ गर्नु जनले आँखा गए हुन्छ के
पाक्ला घाउ भनेर कत्ति नलिनू चिन्ता र सुर्ताहरू
जाडो याम छ यो यही समयमा चाँडो गरौं के गरूँ ?६

 

यस्ता बात सुनेर आँट मनमा राखेर आएँ घर
पैसाको सब इन्तजाम गरियो खोजी ऋणै आखिर
साथी एक लिएर आउन भनी ताहाँ भनेका थिए
कुर्ने एक त चाहियो नजिकको मैले बुझेको थिएँ ।७

 

अन्य आकर्षणहरू

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा

मानवीय जीवन, मृत्यु र कर्तव्य

आरन  हेर्न  आएँ

बुढ्याइँ दुखेको छ मेरो !

बोलाउँछु फोन गरेर

छोरा तीन भए तथापि अहिले जम्मै उता बाहिर
जाऊँ लौ मसँगै भनेर कसरी लैजानु स्वास्नी तर
राखें बात र एक सज्जन मिले मेरा छिमेकी थिए
राजी भैकन हुन्छ जान्छु म भने साथी उनै पो भए ।८

 

त्यो अप्रेसनका सबै झिटिमिटी लाएर सुत्दो भएँ
घन्टा एक लिएछ सो अबधिका जम्मै कुरा बिर्सिएँ
मेरा ती भगवान हुन् जजसले सेवा मलाई गरे
मेरो नेत्र उघार्न कम्मर कसी आँखा मलाई दिए ।९

 

त्यो तेस्रो दिनसम्म बास हुन गो साथी छिमेकी उही
साँच्चै डाक्टर हुन् यही भुवनका द्यौता भनेका सही
राम्रो रैछ सबै कुरा र भगवान् मेरा थिए दाहिना
आफ्नो पुत्र र रक्त छैन तर यो साथी भयो दाहिना ।१०

 

बेलामा कहिल्यै गरें मदत वा केही गरूँला पछि
त्यो तिम्रो गुण भार तिर्न छ अहो मेरा हितैषी सखी
आँखा खोल्न गएँ तथापि मनका आँखा थिए बन्द र
राम्रो राख्न सके विचार मनमा साथी छिमेकी तर ।११

 

मेरा भौतिक नेत्र यी खुलिसके खुल्दैछ भित्री पनि
हो सन्तान भनिन्छ भन्न तर हो साथी छिमेकी छ नि
आफैंले सब राख्न पर्छ दुनियाँ राख्ने उही चाल हो
आफू मात्र नहेर सज्जनहरू देख्ने उही काल हो ।१२

 

आत्माले सबका विचार बुझ लौ सेवा दुखीको गर
साँच्चै मानिस देवता हुन सकोस् त्यागेर हिंसा पर
देऊ औषध दुःखका बखतमा साथी फुकाऊ मन
साँचो यै धन हो र जान्छ सँगमा पर्दैन छोरा हुन ।१३

 

( आँखा अप्रेसनका लागि अस्पताल बस्दा छिमेकीको सहयोग पाएका बृद्धको अनुभवमा आधारित )

 

छन्द : शार्दूलविक्रीडित
Facebook Comments