परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रचण्डको पत्र र भिरघरेको गफ !

फुटानी

आज त भिरघरेसंगै कान्छा बाहुन पनि आए छौ । कसरी फुर्सद मिलायौ ? कसैको सराद्धे छैन कि क्या हो ?

आज कसैले बोलाएन हौ गफाष्टक । लु भन, अब तिम्रा प्रचण्डको खबर के छ ? हुन त यो कान्छा बाहुनलाई केको राजनीति भनौला तर सबैलाई उत्सुकता त भै हाल्छ नि !

हौ कान्छा बाहुन ! मैले पैला पनि भनेकै थिएँ हाम्रो प्रचण्ड कामे्रडले एमालेको चिता पोखालेरै छाड्छन् भनेर । अहिले त्यही एमालेलाई समाप्त पार्न खोज्दै छन् भन्ने खबर आको छ । हाम्रो सर्वहारा वर्गको महान नेता काम्रेड प्रचण्ड खुङखार क्रान्तिकारी ब्यक्ति हुन । उनले चाहे भने जस्तोसुकै शक्तिशाली पार्टीलाई पनि धूलो चटाई दिन्छन् ।

हो काकाले ठिक भने । पहिला पनि जनमोर्चा, मशाल, माओवादी, एमाओवादी, मोहन विक्रम सिंह, मोहन वैद्य, बाबुराम, वादल सबैलाई धुलो चटाई दिए। त्यसपछि केही व्यक्ति लिएर एमालेलाई धूलो चटाउन त्यहाँ पुगेका छन् । अब माधव नेपालले ठाउँ छाडे, आफ्नो एमालेको संगठन बिर्सिए, लकपकाए र प्रचण्डलाई विश्वास गरे भने चिता पोखाल्न बेर लाउँदैनन् ।

जे भन भिरघरे पहिलाको कुरा नगर । कहिले तिमारु क्यान्टनमेन्टको भ्रष्टाचारको कुरा, कहिले आफन्तहर्लाई पद बाँडेको कुरा, कहिले ठेक्कापट्टाको कुरा, कहिले एकातिर फर्केर रुने अर्कोतिर फर्केर हाँस्ने गरेको कुरा, किहिले दिल्ली, कहिले एमाले र कहिले काँग्रेससँग अङ्गालो मार्न पुगेको कुरा गरेर हाम्रो काम्रेडको मिशनलाई ओझेल पार्न खोज्छौ । तिमारु कांग्रेसीहरु अहिले एमालेतिरै लागेका छौ ।

हामी कतै लागेको छैन काका । तिम्रा प्रचण्डले एमालेको दह्रो संगठन एक प्रकारले भत्काई सकेका छन् । यही नै प्रचण्डाको मिशन थियो पुरा हुँदैछ । तिम्रो पार्टी विलय भएपछि सदस्यता रिन्यू गरिएन, लेभी तिरिएन, संगठन बनेन, पार्टी समितिहरु निर्माण र बिस्तार गरिएन । अझ यहाँभन्दा बढी प्रचण्डले के गर्न सक्छन् त्यो गर्दै छन् भनेर एमालेहरु भन्दै छन् ।

तिमार्ले भनेर हुन्छ ? हेर्न हाम्रो प्रचण्डले आफूले लेखेको पत्रमा आफ्नै प्रशंसा गरेको छ कि छैन ? ओलीको उछितो काडेको छ कि छैन ? हाम्रो बहादुर प्रचण्डले एमाले मात्र होइन कम्युनिष्ट आन्दोलन र इतिहास समाप्त पारेर भए पनि प्रधानमन्त्री बन्नै पर्छ । यत्रो नरसंहार र उच्च छलाङवाला चिम्पान्जी युद्ध के ओलीलाई प्रधानमन्त्री बनाउन गरेको हो र ! लु भन त कान्छा बाहुन । प्रचण्डको कुण्डली के भन्छ ?

हेर गफाष्टक, तिमी भनेको जनहत्याबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने पार्टीको उत्पादन हौ । हामी भनेको सर्बसाधारण । प्रचण्डको कुण्डली राम्रो छैन । साढेसातको दशाले प्रचण्डको होसहवास गुमाएको छ, लोभ र मोह बढाएको छ, मन घुमाएको छ, रातभर सपनामा प्रधानमन्त्रीको कुर्सीमा आफू बसेको देख्छन् । उठ्दा दिमाख वाँउडिएको पाउँछन् । हिनताबोध, कुण्ठा र आक्रोस् एउटै अङ्कमा खप्टिएको छ । अलि सतर्क भएनन् भने यही अङ्कले राजनीतिमा नबौरिने गरी पछार्न सक्छ । कुण्डलीले यही भन्छ ।

हौ काका कुण्डलीको के कुरा । यदि ओलीले अब प्रचण्डलाई समाप्त गर्नैपर्छ भन्ने ठानेर त्यही हिसावले प्रतिउत्तर दिए भने सायद प्रचण्ड उठ्न नसक्ने गरी कक्रिन्छन् । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए भने प्रचण्डको गति के हुन्छ ? त्यसबेला झोली तुम्बा बोकेर प्रचण्ड कता जान्छन् ?
कस्तो कुरा गर्छ यो भिरघरे । त्यसबेला प्रचण्ड काम्रेड प्रधानमन्त्री बन्छन् ।

नाप्पियो ! त्यसबेला माधव नेपाल प्रधानमन्त्री र केपी ओली पार्टी अध्यक्ष भएर चलाउछन् । संसदीय दलको नेता बन्नु पर्छ प्रधानमन्त्री हुनलाई । तर, मलाई लाग्छ कुरा त्यति पर पुग्दैन । ईश्वर पोखरेल, रामबहादुर थापा बादल र लेखराज भट्टलाई मन्त्रीबाट हटाउने र प्रभु साह, हरिबोल गजुरेल र टोपबहादुर रायमाझीलाई कहिल्यै मन्त्री नबनाउने शर्तमा कुरो मिल्न सक्छ ।

के वाइयात कुरो गर्छस् भिरघरे ! अब कुनै हालतमा पनि हाम्रो आशक्ति र लोभ हुँदै नभएका काम्रेड प्रचण्डले यो मुलुकको इतिहास लेख्ने छन् । माओवादी युद्ध सफल नभए पनि एमाले समाप्त पार्ने हाम्रो पुरानो, धेरै पुरानो कार्ययोजना सफल हुने छ । छोड यो कुरो । बरु भन कान्छा बाहुन गाउँ घरतिर के भन्छन्?

के भन्छन् र ! ओलीलाई दोष दिन्छन् । ओलीलाई पनि ठिक्क पर्‍यो, जानी जानी ओलीले काउसोको थैलो बोके । अब काउसो पोखिन थाल्यो ओलीलाई कन्याउँदाको हैरान हुन्छ ।

नचाहिने कुरो नगर बाहुन । ती लठबुङहर्ले त्यसो भनेर हुन्छ । बाबुरामले त ओलीलाई अब हटाउनै पर्छ भने ।

ए काका ! बाबुरामलाई अब रामराम भन । तिनको मन ठेगानमा छैन, आफ्नो बुद्धीले चल्ने होइनन, लाइअह्राएको काम गर्ने यस्ता मान्छेको कुनै भर हुँदैन । अलि पछि प्रचण्डको पनि त्यही गति हुन्छ । अबको चुनाप त आउन देउ ।

जनताका महान नेता उत्पात क्रान्तिकारी उघ्रदूत । त्यस्ता प्रचण्डलाई जनताले शिरमा बोकेर…. ।

घुच्चुकमा ठोक्छन् भनन ! एमालेले साथ दिदैन, हाम्रो काँग्रेसले किक हान्छ । अनि आफूसंग जनता छैन । होइन मेरो एउटै कुरो जनताको बहुदलीय जनवाद मन पर्दैन भन्ने, चुनापमा भाग लिने, एमालेसंग टाँसिने, सूर्य चिन्न स्वीकार गर्ने अनि ओलीलाई मान्छु भन्ने, अनि अहिले आएर ओलीकै खेदो खन्ने ?
मेरो कन्सिरी तात्तिने कुरो नगर भिरघरे !

हिड कान्छा बाहुन हिड घरतिर । लु काका । तिम्रो र प्रचण्डको कन्सिरी एक्कै पटक सेलाउँछ हामी हिड्यौं । अब प्रचण्डको खैरियत छैन । बुझिराख है काका ।

जै नेपाल !

Facebook Comments