परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ठ्याक्कै हाम्रा गाउँले भिनाजु जस्ता रा’न यी प्रचण्ड !

फुटानी

लु… भोलिदेखि तिहार पनि सकियो । ए झुम्री ! स्कुसमा रस हालेर तरकारी बना त दह्रो गरी खानु पर्छ ।

हौ काका ! के दह्रो गरी खाने भनेको ! जाबो स्कुसमा रस हालेर दह्रो गरी खाने भन्छौ । कोरोनाले संसार खायो भन्छन्, फलानोले राष्ट्र खायो, ढिस्कानाले सडक र पुल खायो, गाउँ पालिकाले बजेट नै खायो भन्छन् । तिमी भने स्कुस खार बस । ए… काकी ! म त तिमीसंग कुरा गर्न आको !

के कुरो भिरघरे ।

हैन हौ काकी ! भैसीं बेच्यौ भने अलिकति पैसो देउन !

कहाँ बेच्नु किन्ने मान्छे भड्काई दिई हाले नि !

हैन गाउँले भिनाजुले भेटे कि क्या हो ।

हो त भिरघरे ! यो गाउँमा उभिण्डेका गाउँले भिनाजु रहेसम्म किसानले किनबेच गर्न नपाउने नै भए । हाम्रो भैंसी किन्न आउनेलाई बाटैमा भेटेछन् । ६५ हजारमा लाने कुरो गरेका थिए । त्यस्तो सिङ पनि नमिलेको, खुट्टा हेर्दा पनि बाँङ्गो जस्तो देखिने त्यस्ता भैंसीलाई पनि ६५ हजार हालेर लिने ? चोरेर ल्याको पैसा हो कि क्या हो । ४५ हजारसम्म भनेको भे त ठिकै थियो, राम राम राम ! तिम्रा पनि आँखै फुटेका’ भनि दिए छन् ।

त्यतिमात्र कहाँ हो र यता फेरि मलाई पनि “यति रोज्जा भैंसीलाई ६५ हजार मात्र भन्ने, तपाईको मति भ्रष्ट भयो कि क्या हो, आफ्नो माल चिन्नु छैन” भनेर खुब उकास्तै थियो ।

ला वित्याँस परेछ । अनि किन्न आउने मान्छे आएन त काकी !

किन आउँथ्यो । फेदीखोला गएर भैंसी किनेर ल्याएछ ७५ हजारमा । अहिले भैंसी किन्ने मान्छे पुरपुरोमा हात लगाएर बसेका छन् अरे । त्यस्तो राम्रो भैंसी छाडेर १० हजार बढी पनि हालें, दुध पनि थोरै दिने रछ । खत्तम भयो । फाटाहाले सस्तोमा धेरै दुध दिने राम्रो भैंसी पाइन्छ भन्यो । ‘होलातानी’ भने, नराम्रोमा फसियो भन्दै छ रे !

हौ काका उभिण्डेमा कान्छा बाहुनको गाई किन्न एकजना आका थिए । गाउँले भिनाजुले थाहा पाई हालेछन् । ‘तपाईहरु किनबेच गर्ने मिलेपछि भै गयो नि’ भनेर सबैले सुन्ने गरी भनेछन् । अनि किन्ने मान्छेलाई इसारा गरेर भिनाजुले बोलाएछन् र कानमा ‘हरे मूर्ख दानमा आको गाईलाई पनि यत्रो दाम हाल्ने ? तिम्रा पनि बुद्धि चै पानी प्युन गएछन्’ भनी दिएछन् ।

लु बिताएछन् ! अनि !

अनि के हौ काकी पछि आएर लान्छु, मिलाएर दिनुपर्छ नत्र लान्न भनेछ । गाई किन्न आको मान्छे गैसकेपछि भिनाजुले कान्छा बाहुनलाई ‘३४ हजार पर्ने गाई २७ हजारमै दिने, तिम्रो मति के भाको हँ’ भनेर हप्काएछन् ।

काकी ! यी गाउँले भिनाजु रहुनजेल यो गाउँमा किसानले केही किनौला र केही बेचौंला भन्न पाउने छैनन् ।

हो नि भिरघरे ! हाम्रा गाउँले भिनाजु र नेकपाका प्रचण्ड एकै खालका रा’न ! माधव कहाँ गयो एक थोक, वामदेवकोमा गयो बेग्लै थोक, झलनाथकोमा गयो अर्कै थोक, ओलीकोमा पुगेपछि नाना थोक । सबैलाई पाङ्ग्रा फनफनी घुमाई गर्छन् ।

के भन्छे यो झुम्री ! हाम्रो प्रचण्ड काम्रेडलाई त गाउँले भिनाजुसँग पो तुलना गर्छे ! कताको राजाराम, कताको गने हराम !’

अन्य आकर्षणहरू

प्रचण्डको पत्र र भिरघरेको गफ !

होइन अझै फुट्दैन कि क्या हो !

कठै बबुरा पत्रकार !

झापादेखि कन्चनपुरसम्म उस्तै हो!

होइन काका । काकीले ठिकै भनिन् । प्रवृत्तिको कुरा । कसै कसैको बानी नै हुन्छ । छुस्के, दुर्जन, काम भाँड्ने, बिगार्ने, कानीखुशी गर्ने अनि हुन लागेको काम नभएपछि ‘मैले त भलो नै होस् भनेर सल्लाह दिएकै थिएँ । भएन त के गर्नु’ भनेर आफू चोखो बन्न खोज्ने । ठ्याक्कै प्रचण्ड प्रवृत्ति र हाम्रो गाउँले भिनाजु प्रवृत्ति सोह्रै आना मिल्छ ।

अब त यो गाउँकाले पनि गाउँले भिनाजुलाई चिन्नु पर्ने, चेत्नु पर्ने । हाम्रो गाउँले भिनाजुले बिगार्छन है भनेर मूर्खहरुले अझै चेतेनन् ।
के नचेत्नु । ठूलाघरेको भैंसी बेचेनी डबके कान्छालाई । पहिला नै किन्ने र बेच्ने बीचमा ‘भिनाजुले भनेको दुवै पक्षले उनकै अगाडि पोल खोला-खोल गर्ने र दाम चैं आजै निणर्य गरेर लिने दिने भनेर सहमति गरे छन् । अनि भिनाजु आएपछि साउती गर्दै डबकेलाई १० हजार किन बढी दिन्छस् । डकैती गरेको पैसा हो कि क्या हो भनेछन् । अनि यता ठूलाघरेलाई किन १० हजार घटीमा दिन्छौ । मःम खाने थारो भैंसी भनेर हुन्छ, हेरन सिङनै कति राम्रो छ भनेछन् ।

अनि काकी ! के भयो ?

अनि डबकेले ‘हाम्रो गाउँले भिनाजुले १० हजार घटीमै यतिको भैंसी आउँछ भन्दा भन्दै मैले १० हजार बढी नै तिरेर लगें है’ भन्दै पैसा गन्दिएछ । ‘अनि यता ठूलाघरेले पनि गाउँले भिनाजुले भन्दा भन्दै पनि मैले १० हजार घटी मै भैंसी दिएँ है’ भन्दै पैसा खल्तीमा हालेछन् । अनि ठूलाघरेको छोराले ‘यस पटक चाहिँ गाउँले भिनाजु तीन बल्ड्याङ खेल्यौ अरुतिर ट्राई मार’ भन्दिएछ । भिनाजु उठेर टाप ठोके छन्।

ला… ठिक गरेछन् । अब अलिपछि प्रचण्डलाई पनि त्यसै गर्छन् होला ।

के भन्छ यो भिरघरे ! उभिण्डेको गाउँले भिनाजु हो र प्रचण्ड भनेको ! उथलपुथल हुन्छ । त्यो एमाले भन्नेको दह्रो सङ्गठन, जबज र सूर्य चिह्नलाई धुजा-धुजा नपारी जसले जे भने पनि हाम्रो प्रचण्ड काम्रेड रोकिनु हुन्न भन्ने मलाई पूणर् विश्वास छ ।

त्यति परको कल्पना चैं नगर बुढा ! माधव, वामदेव, झलनाथ नबुझ्ने चैं छैनन् । आखिर ‘भेडा भेडासंग, बाख्रा बाख्रासंग’ हुन्छ नै । अब उभिण्डेमा धेरै पानी बगी सक्यो । जबज एकतिर खुङ्खार प्रचण्डपथ अर्कोतिर । अन्तिममा यही नै हुन्छ ।

ए भिरघरे ! यो थाङने कुरा छोड्दे बरु भन काठमाडौमा राजनीति के हुँदै छ रे !

केही हुँदै छैन । चिठ्ठी लेखा लेख हुँदैछ । नेकपामा प्रचण्ड प्राधिकार सम्पन्न बन्न चाहन्छन् भने ओली त्यो दिने पक्षमा छैनन् । हुन पनि हो नि काका ! एक्लै, स्वछन्द, मनमौजी तरिकाले ३० वर्षसम्म पार्टीको लगाम आफ्ना हातमा लिएर बाबुराम र मोहन बैद्य जस्तालाई जोतेर बसेका प्रचण्ड अहिले ओलीको मातहतमा बस्नु पर्दा सानो चोट परेको छ त ! त्यसै चिठ्ठी लेख्छन् त्यस्तो । भर्खर प्रेम बसेकी तरुनीले घुक्र्याए जस्तो पो छ गाँठे ।

हो भिरघरे – मलाई अहिले जस्तो लाग्छ ‘प्रचण्ड पथ’ को हावा चलेको । हुन चैं रित्तो भाँडो रछ नि । एक पटक त बाबुराम र मोहन बैद्यलाई पनि थाङ्नामा सुताए। ओलीलाई पनि त्यसै गर्न खोजेका होलान, नाप्पियो ।

नकरा झुम्री ! हेरन प्रचण्डको पत्रमा कस्तो सैद्धान्तिक कुरो लेखेको छ ! अब छलाङ्ग मार्छन् ।

अनि काका छलाङ्ग संगै पछारिन्छन् ! व्यहोरा चैं उभिण्डेका गाउँले भिनाजु र प्रचण्डको ठ्याक्कै मिल्छ । त्यो चैं के हो नि काका !
हेरन काका, छर्लङ्गै भैगो नि । केपीले भ्रष्टाचारीलाई संरक्षण दिए भनेर प्रचण्डले नै भने पछि । भ्रष्टाचारी प्रचण्ड एण्ड कम्पनी, उनलाई संरक्षण दिने केपी ओली । यसै भनेको त होला ।

चुप लाग भिरघरे । मेरो कन्सरी तात्ने कुरा नगर ।

ठिकै छ नि काका म अब सरासरी गाउँले भिनाजुकोमा गएँ । ‘प्रचण्डलाई पनि तपाइँले नै दीक्षित बनाएको हो’ भनेर सोध्छु । होइन भने तिमीले जसरी यो गाउँ भाँडेका छौ त्यसरी प्रचण्डले नेकपा र देश कसरी भाड्न सके त ! भनेर गाउँले भिनाजुलाई नसोधी छोड्दिन । मिल्न पनि ठ्याक्कै पो मिल्छ त यी दु्ईजनाको गतिमति, लाजसरम, बानीव्यहोरा । लु म हिँडे ।

जै नेपाल !

Facebook Comments