सामर्थ्य
(छन्द: वसन्ततिलका)
ब्वाँसो र बाघ दुइटा जब दाउ हेरी
बस्छन् भने बगलमा घर गोठ घेरी
सक्छन् जहान कसरी घर गर्न फेरि
आफैँ बसे त अगुवा सुरुवाल छेरी॥१
कविता
बन्दैन जो धरणमा नर कर्म-वीर
चुम्दैन लक्ष्य डरपोक बने अधीर
जो भोग गर्छ सुविधा नगरेर ठोस
कर्तव्यहीन नरमाथि खनिन्छ दोष॥२
सम्झी महान् विगतका बलभद्रलाई
ती भीम भक्ति अमरैकन दृष्टि लाई
भोगिन्छ भोग्छ जन पौरखकै कमाइ
जो डर्छ मर्छ उ त निश्चय हेर भाइ॥३
सङ्घर्ष गर्छ दुनियाँ अधिकार माथि
बाँधेर राख्छ नर नै मदमत्त हात्ती
चाहे उपाय सब मिल्दछ हुन्छ जाती
चाहिन्छ मात्र नरमा दमदार छाती॥४
यो विश्व गोल हुनहार फराकिलो छ
हावा विशुद्ध नभको झन पोषिलो छ
टेक्यो भने शिखरमा रवि तेजिलो छ
छायाँ कुरे त रुखको जड ओसिलो छ॥५