परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

होइन अझै फुट्दैन कि क्या हो !

फुटानी 

कर्णालीको भेलसरी राजनीति उरालेका छन् नेपालमा । नेकपाको दैनिकीलाई आकास खसेको रुपमा ब्याख्या गर्न तल्लीन छन् पत्रकार र उपबुज्रुकहरु । यिनार्लाई लेख्न र बोल्न पाए पुग्यो । नेकपाको किचलोमा चेप्टिएर राष्ट्रनै समाप्त भएको ब्याख्या गर्छन् । जुन दिन नेकपा एकताको नाटक मञ्चन भयो त्यही दिनदेखि किचलो सुरु भएको हो । अरु केही भएको छैन र हुँदा पनि हुदैन ।

हैन के सोची रा’को छस् हौ भिरघरे ! बोल्दा पनि बोल्दैनस् त !

के बोल्नु हौ काका ! हाम्रा पत्रकार र स्वघोषित बुद्धिजीवी भनाउदाहर्ले लेखेको पढेको र बोलेको सुनेर छक्कै पर्छु । त्यही बारेमा सोची रा’को ।

हामीलाई पनि सुनान के विषयमा छक्कै परिस हँ ! अहिले काठमाडौंमा केके हुँदै छ ? लौ एकसरो सरसर्ती सुना त !

के भनौ काका ! हाम्रा पत्रकार, बुद्धिजीवी, अनि हावामा कुद्ने जमातहर्लाई काठमाडौं खाल्डो मात्र नेपाल भन्ने लागेको छ । त्यो खाल्डो बाहिर ७३ जिल्ला छ भन्ने बिर्सिएका छन् । हो पक्कै पनि विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा ठूलो क्षति पु¥याएको छ । यसले गर्दा अतिरिक्त आम्दानी गर्न पल्किएका, मुनाफाखोर, ब्यापारी, विचौलियाहर्लाई गाह्रो प¥यो होला । हामी किसान, पशुपालक, शिक्षक, कर्मचारी, मजदुर, ड्राइभर, खलासी, भेडा गोठाला लगायत समग्रमा भन्नु पर्दा ग्रामीण क्षेत्रका जनलाई तात्विक फरक परेको छैन ।

ठिक भन्यो भिरघरेले । वास्तवमा यसपालि अन्न पनि बढी नै उत्पादन भयो । हेर्न, तल्लो घरको साँइलो घर आएपछि मज्जाले अन्न फलायो, एक लाखभन्दा बढीको त तरकारी बेच्यो अरे । त्यसै भन्दै थ्यो हिजो । हैन त झुम्री !

हो त ! उहाँ उभिण्डेको ठाँइलो भन्दै थियो यसपालि सबै परिवार भेला भएर काम गर्दा एक वर्षलाई खान लाउनलाई राम्रै पुग्ने भयो भनेर । यहाँ अरुलाई केही भएको छैन । काम नगरी राजनीतिक गफ चुटेर हिंड्नेहर्लाई ठूलो मर्का परेको छ ।

हो त काकी ! हाम्रो डोल्पाको उभिण्डे खोलामा बाढी आउँछ कुरै नबुझी उहाँ झापाको अदुवा खोलामा बाढी आयो भनेर भट्टी गफ चुट्छन् । अनि एक थरी मानिस त्यसैलाई पत्याएर हिड्छन् ।

हेर भिरघरे ! यो समाजमा विभिन्न खाले मानिस छन् । हामी तीन जनाकै विचार मिल्दैन । तँ देउवा दाइ ठिक भन्छस्, तेरो काकी झुम्री ओली ठिक भन्छे र म हाम्रो प्रचण्ड काम्रेड नै ठिक भन्छु । अनि कहाँबाट मिल्छ हाम्रो विचार !

विचारको कुरो, सिद्धान्तको कुरो, वादको कुरो, मिलेर देश विकास गर्ने कुरो कस्ले गरेको छ र काका ! म काँग्रेस भए पनि ओलीलाई पाँच वर्ष निर्विवाद रुपमा सत्ता चलाउन दिनु पर्छ भन्ने मान्छे ।

ठिक हो नि भतिज ! यी बुढालाई त प्रचण्ड बाहेक अरु प्रधानमन्त्री, पार्टी अध्यक्ष र नेकपाको नेता हुन लायकको मान्छे नै छैन भन्ने लाग्छ । यस्तै विचारले हो पार्टी एकता नहुने भनेको । कर्णाली नदीमा हाम्रो उभिण्डे खोला मिसिएको जस्तो एमालेमा विलय भाको  था’छैन गफ चैं उनारु नै बढी चुट्छन् ।

नकरा झुम्री ! के को विलय ! एकता भनिएको थियो । एकता भए जस्तो छैन । हामीलाई वर्वाद पारे । मैले त हाम्रो ‘महान गौरवशाली’ पार्टीको अध्यक्ष काम्रेड प्रचण्डलाई ‘हाम्रो प्रखर विरोधी ओली हुन, उनैसंग एकता गर्दा भलो हुदैन है’ भनेर एकता हुनु भन्दा अगाडि नै भनेको थिएँ ।

नरिसाउ काका । म एउटा सत्य कुरो भन्छु ओलीले धाप् नमारेको भए तिम्रो प्रचण्ड काम्रेड काहाँबाट जित्ने थिए ? देउवाले अंगालो नहालेको भए प्रचण्डकी छोरी कहाँबाट मेयर बन्ने थिइन । मत पत्र नचपाएको, नच्यातेको भए, देवी ज्ञवालीका अगाडि को टिक्ने थियो ?

यस्तो कुरा नगर भिरघरे । मेरो कन्सिरी तातिन्छ । प्रचण्ड नभएको भए ओलीले कहाँबाट जित्ने थिए ? देउवाले काँबाट जित्ने थिए ?

लु देखिस् भिरघरे ! कस्तो निहुँखोजा कुरो गरेको । अब ओली र देउवाले पनि प्रचण्ड कै कारण जितेको पो भन्न थाले । माओवादीको यही घण्मडले त नेकपा नै वदनाम हुन थालेको छ । कुन चैं दिन दुधको माखो टिपेर मिल्काए जस्तो एमालेले टपक्क टिपेर फाल्छ अनि माओवादीले था’पाउँछन् ।

हो नि काकी ! त्यही ओलीको भरमा थेगिएको छ, त्यही ओलीको सत्तो सराप गरेको छ ।

हेर भिरघरे ! ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा’ भनेर एकता गरेको थियो । तर, हामीलाई पाखा लगाए । अहिले ओलीले सप्पै वर्वाद गरे ।

होइन बुढा ! तिम्रो अनौं खोसे कि, कोदालो खोसे कि के गरे ओलीले ? पार्टीको काम गर्नु भनेर प्रचण्डलाई जिम्मा देको त्यता सिन्को भाँच्न सकेनन् । अहिले आएर फेरि ल्याङल्याङ । त्यस्ता अस्थिर विकामे सामान ओलीले पनि बोकेर हिड्नु हुदैन । आफ्नो सङ्गठन छैन, कार्यालय छैन, खाली पैसा, पैसा । ठेक्का पट्टा, खाली किचलोका किचलो । अब वार–पार हुनु पर्ने हो तर भै रहेको छैन । अन्तिममा जबजहरु एकातिर अरु एकातिर हुन्छन् ।

ठिक भनिन् काकीले ! कति किच–किच ! जेमा पनि भाग पाइन भनेको छ, जेमा पनि विरोध गरेको छ । प्रचण्ड पनि ‘उठ जोगी फड्कार छाला, जहाँ जाला उहीँ खाला’ भनेर हिडे हुन्छ । लु म लागें घरतिर ।

जै नेपाल !

Facebook Comments