परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

युरोप कोरोनाको दोस्रो लहरसँगै लकडाउनतिर, नेपालमा पनि जोखिम बढ्दो

कोरोना कहर

काठमाडौँ । युरोपमा कोरोनाको कहर फेरि फर्केपछि जाडो बढेसँगै यो महामारी अझै बढी फैलिने डर बढेको छ । कोरोनाको दोस्रो लहर भनिएको योे महामारीको दोस्रो चरणसँग जुझ्न पश्चिमी युरोपका देशहरू पुनः लकडाउनतिर फर्किन थालेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले आउँदो एक महिनाका लागि पूर्ण लकडाउनको घोषणा गरिसक्नुभएको छ । राष्ट्रपति म्याक्रोनको भनाइमा यो वर्षको सुरुतिरको पहिलो लहरभन्दा कोरोना भाइरसको यो दोस्रो लहर अझ भयानक हुनेछ । फ्रान्समा शुक्रबारदेखि यो लकडाउन लागु हुनेछ र औषधोपचार या अत्यन्त जरुरी काम बाहेक घरबाहिर जान नागरिकले पाउने छैनन् । फ्रान्समा गएको अप्रिलयता हिजोआज कोरोनाबाट दैनिक सङ्क्रमित हुने र मर्नेको सङ्ख्यामा बढोत्तरी भएको छ । पछिल्लो २४ घण्टाको अभिलेख हेर्ने हो भने फ्रान्समा २४४ जनाको मृत्यु भएको छ भने ३६ हजार बढी सङ्क्रमित थपिएका छन् ।

फ्रान्सको कडा लकडाउनको तुलनामा केही खुकुलो लकडाउनको घोषणा गरेको जर्मनीमा पनि रेष्टुरेन्ट, बार, जिमखाना र सिनेमाहलहरू बन्द रहनेछन् । जर्मनीकी चान्सलर एङ्गेला मर्केलले आउने सोमबारदेखि यो केही खुकुलो लकडाउनको घोषणा गर्नुभएको हो । जर्मनीका स्वास्थ्य अधिकारीहरूबा अनुसार, पछिल्लो २४ घण्टामा त्यहाँ ८९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या झण्डै १७ हजार पुगेको छ ।
अर्को पश्चिमी राष्ट्र बेलायतमा पनि कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बढिरहेको छ । पछिल्लो अध्ययनले बेलायतमा दैनिक एक लाखका दरले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ  ।

युरोपियन कमिसनका अध्यक्ष अर्सल्ला लेयनले युरोपमा फेरि फर्केको कोरोनाको लहरका कारण यसपल्टको क्रिसमस भिन्दै खालको हुने आँकलन गरेका छन् ।

अमेरिकामा राष्ट्रपतीय चुनाव यही कात्तिक १८ (नोभेम्बर ३) मा हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्र्याटिक पार्टीका जो वाइडेन चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रपति ट्रम्पले चुनावी प्रचारप्रसारमा समेत वास्तै नगरी कोरोना फैलाउने कार्य गरेको र उहाँ कोरोनाका कारण जनताकोे स्वास्थ्यमा परिरहेको तथा पर्न जाने असरप्रति कत्ति पनि चिन्तित नरहेको भनेर आलोचना भइरहेको छ । अहिले पनि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस प्रभावित देश बन्न पुगेको छ । अमेरिकामा ९१ लाख २३ हजार बढी सङ्क्रमित छन् भने दुई लाख ३३ हजार बढीको कोरोनाका कारण ज्यान गइसकेको छ । चुनावी प्रतिस्पर्धाभन्दा पहिले गरिएका ताजा सर्वेक्षणहरूमा वाइडेन ट्रम्पभन्दा अगाडि देखिएकोे अवस्था छ ।

छिमेकी देश भारतमा कोरोना रोक्न ठूलो भूमिका निभाएको भनेर भाषणबाजीमा रमाएका नरेन्द्र मोदीको अहिले कोरोना रोक्न नसकेको भनेर देशभित्र व्यापक आलोचना भइरहेको छ । भारत कोरोनाबाट प्रभावित विश्वकै दोस्रो राष्ट्र बन्न पुगेको छ । भारतमा ८० लाख ४० हजार बढी कोरोनाबाट सङ्क्रमित भएका छन् भने यो कहरबाट मर्नेको सङ्ख्या एक लाख २० हजार नाघेको छ ।

त्यसो त नेपाल पनि कोरोना सङ्क्रमणका हिसाबले निकै जोखिमयुक्त अवस्थामा आइपुगेको छ । यहाँ सर्वसाधारणदेखि उच्च पदस्थ अधिकारीहरू, पत्रकार, राजनीतिज्ञ, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूरूसम्म कोरोनाबाट सङ्क्रमित हुन पुगेका छन् । विश्वका अन्य देशसँग तुलना गर्दा नेपाल कोरोना प्रभावित ३४ औँ राष्ट्र बनेको छ । यहाँ दैनिक बढीमा पाँच हजारमाथि र कम्तीमा पनि हजारभन्दा बढीका दरले कोरोना सङ्क्रमण फैलिरहेको छ । नेपालमा मर्नेको सङ्ख्या नौ सय चार पुगेको छ । दुई जनामा सङ्क्रमित देखिँदा लकडाउन गरेको नेपाल अहिले मूलतः खुल्ला अवस्थामा छ । विद्यालय, विश्वविद्यालय, सिनेमाहल, मन्दिर लगायतका केही क्षेत्र छोडेर सबै क्षेत्र खुला छन् । काठमाडौँ उपत्यका थप जोखिमयुक्त बन्दै गइरहेको छ ।

सार्वजनिक यातायातका साधन र बजारमा सुरक्षाका उपाय नअपनाई नै भीँडभाड हुने गरेको छ । दशैँमा सहरबाट गाउँघर पुगेकाहरू अब फेरि सहर फर्कन थालेका छन् । उनीहरूबाट थप कोरोना फैलिने आशङ्का विज्ञहरूले गरेका छन् । चिसो बढ्दै जाँदा मौसमी रूघा खोकी र कोरोना कहर झनै फैलने भन्दै विशेषज्ञहरूले सावधानी अपनाउन आग्रह गरिरहेका छन् । एकपल्ट कोरोना लागेकाको प्रतिरोधात्मक क्षमता झनै घट्ने र पुनः कोरोना लाग्ने बेलायतमा गरिएको पछिल्लो अध्ययनबाट देखिएकाले सावधानीको विकल्प देखिन्न । त्यसैले यो कहरबाट बच्न  नागरिकको सावधानी र सरकारको रणनीतिक कदम अपेक्षित छ ।

Facebook Comments