दसैँ खल्लो लाग्यो
कविता (छन्द: शिखरिणी)
डरायो विज्ञानै पनि कहरले आजित बनी
बनेनन् खोजीले अजतक कुनै औषध पनि
महामारी हाँस्दैछ त गरि कडा नृत्य भवमा
दसैँ खल्लो लाग्यो यसपटकको लोक सबमा॥१
न यो कोरोनाको कहर बलले पेल्न सकियो
न वा साथी सङ्गीसित रहरले खेल्न सकियो
सधैँ चिन्ताको नै लहर छ यहाँ आज यसरी
डरै मानी मानी सब दिन बिते बन्धक परि॥२
सबै नेपालीको मुख अधर नै छैन हँसिलो
सधैँ पोलेजस्तो सबकन भयो दुच्छर पिलो
बगायो धेरैको नयन बिच नै आँसु धमिलो
बने कोरोनाकै नर कति यहाँ नाहक बिलो॥३
परे बूढा बूढी युवक युवती बालक पनि
यसैको फन्दामा हर दिन गले नाजुक बनी
बनायो पीडाले सबकन बडो जर्जर थिलो
न खाने खेल्ने नै जमघट भयो हेर गतिलो॥४
लुकी गुप्तीकोठातिर दिनबिते जोबन गए
गुमे खाने पेशा श्रमिक जनका गायब भए
गरी खानेको नै सबतिर सुके स्रोत गतिलो
कहाँ कस्को होला घरघर दसैँ आज रसिलो?॥५