परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

परिस्थितिको बाध्यता बुझेर चाडपर्व मनाउन अपिल

बडा दशैंको मङ्गलमय शुभकामना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभित्र तथा देश बाहिर रहनु भएका सबै नेपालीमा बडा दशैंको हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देशको पूर्ण पाठ निम्न अनुसार छः

दिदीबहिनी तथा दाजुभाइहरू,

हामी नेपालीहरूको महान चाड वडा दशैँ, तिहार, नेपाल संवत, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनर्मिलनको चाड हो, आफन्तहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै  हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने  सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई हामीले विगतमा सकेसम्म भव्यताका साथ मनाउने गरेका थियौँ । यसपटक कोरोना महामारीका कारण हामीले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन सम्पूर्णमा अपिल गर्दछु ।

यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गर्ने गरेकै हौँ । यस पटक कोरोना महामारीका कारण यस विषयमा अझै बढी ध्यान दिनुपर्ने देखिएको छ । हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्यौ भने कोरोबाट बच्न सघाउन पुग्दछ । यसकारण म सम्पूर्णमा यसमा अलि बढीनै ध्यान दिन अनुरोध गर्दछु ।

यो महामारी विरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग प्रति आभार व्यक्त गर्दछु । यो रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय भनेको मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरके प्रयोग गर्न सबैप्रति हार्दिक अनुरोध गर्दछु ।

आज हामी राजनीतिक स्थायीत्वसँगै समृद्धिको यात्रामा लम्किरहेका छौँ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हामीले स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिनुपर्छ । त्यसैका लागि सरकारले निरोगी नेपालका लागि काम अघि बढाएको छ । संविधानमै सुनिश्चित भएको स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि हामी काम गरिरहेका छौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध छ । मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट संचालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ । अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको छ । अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको छ । अस्पतालको गेडभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपरोस भनेर गरिब, बिपन्न र वेबरिस मानिसको आकस्मिक उपचार निशुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ।

सरकार सधैँ आम नागरिकको साथमै रहेको छ । यो महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी छ । सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ । अन्तमा यो एकताले महामारी हाम्रो विजय सम्भव हुने विश्वास व्यक्त गर्दै फेरि एक पटक वडा दशैँ, तिहार, नेपाल संवत, छठ लगायतका सम्पूर्ण चाडपर्वहरुको उपलक्ष्यमा सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Facebook Comments