परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सङ्कल्प

कविता (छन्द: वसन्ततिलका)

नेपालको र जनको जय गर्नलाई
अन्यायको कहर यो सब हर्नलाई
उत्दीप्त रूप सहसा नधरी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥१

 

रोकेर लूट झुटको सब यो रजाइँ
यो देश बुध्दि बलले बहुतै सजाई
रित्तो भयो ढुकुटी यो नभरी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥२

 

रोकेर दोहन नदी बन भीर पाखा
खोलेर वीर नरले दिलदार आँखा
सत्कर्म गर्न पसिना नछरी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥३

 

मासेर राष्ट्रढुकुटी जतिले कमाए
दस्तूर घूस बटुली अकुतै जमाए
बाँधेर कूट धन त्यो नहरी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥४
नेपाल भासतिर यस्तरी ठेलिँदैछ
दासी समान जकडीकन पेलिदैछ
उद्धार निंम्ति पसिना नछरी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥५

 

घोडा बनेर अरुको कति दौड भर्ने?
लागेर दासपनमा किन दङ्ग पर्ने?
फाली लगाम अधि नै नसरी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥६
रित्तो हुँदैछ जनता अधिकार खोसी
भोको बसेर बहुसङ्ख्यक भ्रष्ट पोसी
सङ्कष्टमा पशुसरि जकडी हुँदैन
सङ्कल्प देश हितमा नगरी हुँदैन॥७

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

Facebook Comments