परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सृजना कार्कीलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार

काठमाडौँ । रुद्र–गौरी, श्री–अम्बिकाओली प्रतिष्ठानले सन् २०१९ (वि.सं. २०७६) का लागि गौरादेवी ओली स्मृती राष्ट्रिय आदर्श आमा पुरस्कारबाट दोलखा, झुले निवासी समाजसेवी तथा महिला अधिकारकर्मी सुश्री सृजना कार्कीलाई सम्मानित गर्नेभएको  छ ।

कार्की विगत १८ बर्षदेखि आफ्नो सम्पूर्ण ऊर्जा र समय संकटापन्न अवस्थामा रहेका बालबालिका, जेष्ठ महिला, अपाङ्ग महिला, मानसिक रुपमा असर परेका महिला, किशोरीहरूको पुनस्र्थापना कार्यमा समर्पित हुनुहुन्छ । सो पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपैंया रहेको छ ।

महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा प्रत्येक वर्ष राष्ट्रियस्तरमा पुरस्कृत र सम्मानित गरिने संस्थाको विधानको भावना अनुरुप सम्बन्धित विषयमा तीनजना विज्ञहरूको पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिसका आधारमा यो निर्णय लिइएको जानकारी प्रतिष्ठानले दिएको छ ।

गएको वैशाख पहिलो हप्ताभित्र समर्पण गर्ने भनिएको यो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम कोभिड १९ का कारण स्थगित भएको र अवस्था सहज भएमा प्रतिष्ठानले आठौँ पटकका लागि सन् २०२० मा आयोजना गरिने सम्मान तथा समर्पण कार्यक्रममा समावेश गरी वा सो अगावै प्रदान गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले दिनुभएको छ ।

समाजमा भएका अनुकरणीय कार्यहरू गर्ने उत्कृष्ट व्यक्ति, संघ तथा संस्थाहरूको प्रतिभा र कार्यहरूको संरक्षण, प्रबर्द्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले १० वर्षअघि रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान स्थापना भएको थियो ।

संस्थापक दानवीर स्व. श्रीप्रसाद ओलीद्वारा एक करोड रुपैंयाँको कोष खडा गरी गैरसरकारी, गैर राजनीतिक र गैर नाफामूलक सामाजिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय, झापामा मिति २०६७ साल चैत्र १७ गते दर्ता भई अविछिन्न रूपमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान क्रियाशील रहँदै विभिन्न विधामा प्रतिभाशाली र योग्य व्यक्तिहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।

Facebook Comments