परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बृहत् यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्छाैं : सांसद खत्री 

काठमाडौँ । बागमती प्रदेशका सांसद तथा प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भिमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत यौनीकता शिक्षाललाई पाठ्यक्रममा समावेश गरिने बताउनु भएको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत् यौनिकता शिक्षा बिषयक अनलाईन छलफल कार्यक्रममा बोल्दै उहाँले यसो भन्नुभएको हो ।
सांसद खत्रीले जन्मदेखि मृत्युसम्मका हरेक समयमा बृहत यौनिकता शिक्षाका कुरा एक आपसमा जोडिने भएकाले यस्को आवश्यकता महत्त्वपूर्ण रहेको बताउनुभयो । संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९-१० मा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई अनिवार्य बिषयबाट ऐच्छिक विषय बनाएकोमा आफू खुसी नरहेको बताउनुभयो ।
हरेक मानिसको दैनिक जीवनमा एक आपसमा आइपर्ने शिक्षा र स्वास्थ्यको विषयलाई अझ फराकिलो बनाउनुपर्नेमा ऐच्छिक बनाइएकोले पछि समाजमा स्वास्थ्यमा ठूलो समस्या सृजना हुनसक्ने पनि उहाँको धारणा थियो ।
प्रदेश सरकारले बृहत यौनिकता शिक्षाललाई पाठ्यक्रममा समावेश गर्न विभिन्न छलफल गरिरहेको र आगामी दिनमा प्रदेश भित्रका ११९ पालिकाका विद्यालयमा पठनपाठन गरिने बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागी हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले उपमहानगरपालिकाले औपचारीक कार्यक्रमसँगै अनौपचारिक रूपमा बृहत् यौनिकता शिक्षाका कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । उहाँले विद्यालय तहमा पाठ्यक्रम मार्फत् र विद्यालयबाहिर स्वास्थ्य संस्थाहरू मार्फत् यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट विनियोजन समेत गरिएको बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुविराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्वस्तरीय प्रचलनका आधारमा कक्षागत रूपमा बृहत यौनिकता शिक्षालाई समावेश गरिने बताउनु ।

हाम्रो समाजमा बृहत् यौनिकता शिक्षाप्रतिको हेर्ने दृष्टिकोण समेत खराब रहेको बताउँदै उहाँले शिक्षकहरूलाई विभिन्न तालिम तथा छलफलका माध्यमबाट यस्ता खराब दृष्टिकोणलाई समाजबाट हटाउन शिक्षा निर्देशनालय लागिपर्ने बताउनुभयो ।

नेपाल युवा संस्था सञ्जालकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले कार्यक्रमको सुरुवातमा कार्यपत्र प्रस्तुत गर्दै अहिलेको पाठ्यक्रममा बृहत् यौनिकता शिक्षा सम्बन्धी विषयवस्तुको अभाव रहेको कुरा उल्लेख गर्नुभयो । उहाँले बृहत् यौनिकता शिक्षा याैन शिक्षा मात्र नभई समग्र स्वास्थ्यसँग जोडिएकाले हरेक उमेरका व्यक्तिलाई बृहत् यौनिकता शिक्षा दिनुपर्छ भन्नुभयो ।

 

कार्यक्रममा बागमती प्रदेशका ३० जना युवाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल युवा संस्था सञ्जालका कार्यसमिति सदस्य खिमानन्द देबकोटाले गर्नुभएको थियो ।
Facebook Comments