घरमा आमा बिरामी हुनुहुन्छ
चट्याङ-प्रहार
गाजलु आँखा र नसालु बैँसमा डुबेका मेरा गज़लमा यो भरौटे कता राख्नु ?
एक नव यौवानाले त्यत्रो भारी बोकेको भए “भारीवाली” भाइरल हुन्थिन्
यस्तो दरिद्र, कुरुप, अभागी, मुर्ख र लोभी बुढोको बिषयमा
म जस्तो कहलिएको सर्जकले के लेख्नु?
पक्कै यो कसैको बाउ हो र कसैको छोरो
निरक्षरी, बेसोमती, भरौटो मोरो
अबको ज्यालाले घरका बच्चालाई के के ल्याइदिने बाचा छ होला
घरका रोगी जहानका लागि किनेको ओखती पनि त्यो भरिमा कतै होला
साहुको आँगनमा भारी बिसाउने कत्रो सपना होला
आफ्ना हिमालको फेदीबाट झैँ निधारमा बगिराखेका
आखिभौं र परेलाबाट तपतप तप्किरहेका
त्यो विजय तिलकको झरना
आफ्ना नाङ्गो नारीले जति पुछे पनि नसुकेपछि
त्यो टोपी झिकेर अनुहारभरि २-४ चोटि घोटेपछि
अब मेरो अनुहार देखाउन लायक भयो भन्ठान्ने होला
भारी त्यहाँसम्म पुराउन सकेकोमा आफ्नो सामर्थ्यमा ढुक्क हुने होला
भित्रभित्रै आफैँप्रति मुसुक्क मुस्कुराउने होला
अनि आफ्नो ज्याला पाउने आशमा साहुलाई बोलाउन पुलुक्क साहु भएतिर हेर्ने होला
साहु देखिएपछि ङ्गिचिक्क दाँत देखाउने होला
साहुलाई नहाँसेको अनुहार मन पर्दैन, उसले यही बुझेको होला
अनि साहु, साहु पछाडि आफ्नो ज्याला
ज्याला पछाडि आफ्ना घरका छोराछोरी
छोराछोरीपछि उभिएकी आफ्नी प्यारी
त्यसका पछि घरका आफ्ना अरु जहान
जहानपछि गाउँघर र नजिकका छिमेकी
त्यसका पछि आफ्ना साथीभाइ सप्पै देख्ने होला
साहुको पछि देखिने त्यो अलौकिक दृश्य साहुको बोलीले हराउने होला
अनि एउटै प्रश्न सोध्ला आफ्नै मनसँग उसले
यो साहुले ज्याला चैँ कहिले दिने होला ?
पहिलाको उधारो यसपालि कटाउला कि नकटाउला ?
कटायो भने बाँकी कति हात पर्ला?
के भन्यो भने साहुले यसपालि पूरै ज्याला एकै पटक देला ?
शयद्, “घरमा आमा बिरामी हुनुहुन्छ” भन्नुपर्ला !