कठै, उत्तानु पर्यौ !
चट्याङ-प्रहार
जाग जाग जनता ! कति जाग्छौ ?
सुत आऊ अब ता, कि त भाग्छौ ?
सब छाडी किन सब खाडी गयौ ?
गुरु गोरु हुँदा तिमी मुर्ख भयौ ।
तिमी जागा हुँदा देश नागा भयो
एक देश थियो कति भागा भयो ?
बहादुर बनी खुब लड्नु लड्यौ
लड्यौ राम्रै कठै उत्तानु पर्यौ ।
’थियो शान कति !‘ त उखान भयो
तिमी जागा हुँदा — जति थियो, गयो ।
लग्यो कागले कान भनेर कुद्यौ
खुब दौडी कठै उत्तानु पर्यौ ।
कति बाद सुन्यौ, कति बादी बन्यौ ?
घाम तापी बसी पनि राती भन्यौ !
गुरु थापी कति शठ तन्त्र पढ्यौ ?
भई जान्ने कठै उत्तानु पर्यौ ।