परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बूढ्यौली साहित्य हुर्काउन एक लाखको प्रोत्साहन रकम

काठमाडौँ । नेपालमा ज्येष्ठ नागरिकप्रति समर्पित साहित्यिक सिर्जना — बूढ्यौली साहित्यलाई हुर्काउने प्रयोजनका लागि चर्चित हास्यव्यङ्ग्यकार तथा समाजसेवी चट्याङमास्टर (कृष्णमुरारि गौतम) ले चन्द्रागिरी साहित्य प्रतिष्ठानलाई एक लाख रुपैयाँ प्रदान गर्नुभएको छ । उहाँ ज्येष्ठ नागरिकका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पैरवी गर्दै आएको संस्था एजिङ नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

चट्याङमास्टरले सो रकम चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनमार्फत् हस्तान्तरण गर्नुभएको हो । चन्द्रगिरी साहित्य प्रतिष्ठानले यो प्रोत्साहन रकम  जेष्ठ नागरिकको जीवनका विविध पक्ष र समाजलाई जोडेर सिर्जना गरिने बूढ्यौली साहित्यको विकासका लागि प्रयोग गर्नुपर्नेछ ।

एजिङ नेपालका अध्यक्ष एवं वरिष्ठ हास्यव्यग्यकार कृष्णमुरारी गौतम (चट्याङमास्टर) ले चन्द्रागिरी साहित्य प्रतिष्ठानले जेष्ठ नागरिकको विषयमा सञ्चालन गरेका विविध साहित्यिक कार्यक्रमहरूबाट प्रभावित भई सो प्रतिष्ठानलाई प्रोत्साहन रकम प्रदान गरेकाे बताउनुभयो ।  चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले चट्याङमास्टरबाट प्राप्त प्रोत्साहन रकमबाट अक्षय कोष खडा गरी बूढ्यौली साहित्यको विकासमा मात्र खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चट्याङमास्टरको दूरदर्शी भावना र आफूहरूप्रतिको  मुल्यांकनलाई लिएर कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

चट्याङमास्टर (कृष्णमुरारि गौतम) ले विगत एक दशकभन्दा लामो समयदेखि ज्येष्ठ नागरिकका क्षेत्रमा सेवा र पैरवीसँगसँगै बूढ्यौली साहित्यलाई समेत हुर्काउने अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले ज्येष्ठ नागरिकको हक र हितका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीतिगत तहमै परिवर्तनका लागि पैरवी गर्न सन् २०११ मा गैरसरकारी संस्था, ‘एजिङ नेपाल’, को स्थापना गर्नुभएको थियो । ज्येष्ठ नागरिक र साक्षरताका सवालमा ‘एजिङ नेपाल’ ले दिएको योगदानका कारण संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले भर्खरै यो संस्थालाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ बाट सम्मानित गरिसकेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय विकासे कार्यक्रमका परामर्शदाता कृष्णमुरारि गौतम साहित्यिक क्षेत्रमा चट्याङमास्टरका नामले प्रख्यात हुनुहुन्छ । चट्याङगीता हुँदै रेडियो कार्यक्रम ‘चट्याङमास्टरका कुरा’ बाट उहाँको लोकप्रियता चुलिएको थियो । उहाँ सिस्नोपानी नेपालका समेत संस्थापक हुनुहुन्छ । चट्याङमास्टरका विभिन्न सञ्चारमाध्यममा समसामयिक चेतयुक्त कविता नियमित रूपमा प्रकाशन हुँदैआएका छन् । उहाँले बूढ्यौली साहित्य हुर्काउन विभिन्न खाले प्रोत्साहन अभियान समेत सञ्चालन गर्दै आउनुभएको छ ।

Facebook Comments