परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भोलिवाद

कविता (छन्द -शार्दूलविक्रीडित)

हाम्रो भोलि छ वाद घात खतरा बोली सदा निष्ठुर।
यस्तै ढोल बजेर लाख सपना तन्द्रा सबै बिस्सुर।
गोली औषध खोजमा भुवनका सिद्धान्त खोज्दैछु म।
सोही माफिक चाहना रहर ती बाँधेर  बस्दैछु म।।१

 

हुन्छन् आज तथापि भोलि किन हो रोकेर टार्छन् जति।
मर्नू बाँच्नु बनाइ ती सुजनका आशा लतार्छन् कति।
छैनन्  वाद विवाद जान्छ मनमा  मानेर ढुक्कै जब।
त्यो अर्को दिन आउँदा पनि अझै यो भोलि हुन्छन् सब।।२

 

यस्ता  बोल भए मरे मुलुकका सोझा बने दिक्क ती।
भन्ने भन्दछ भोलिपर्सि सहजै धोकाधडी छन्  कति।
हो  झैँ पार्दछ ठिक्क ठिक्क मुखले भित्री  कुरा बेगलै।
गोली ती बिषका मिठाइ बनिए भो स्वाद मीठो भलै।।३

 

ढाँटी काम कुरा गरेर जहिल्यै बोली बनाए बुरा।
भाकिन्छन् जब भोलिपर्सि ननिको हानिन्छ भित्रै छुरा।
मर्ने ती बुकुरा टरेन खतरा यी भोलि  बोल्नेसँग ।
यस्तै  हो विधि भन्न ती विवश छन् भत्कन्छ के ले जग??

 

जे जे तन्त्र र यत्न हुन् मुलुकमा बानी सबै त्यै भए।
फोस्रो भाषण मात्र फेर्छ अगुवा पाल्ने उहीँ त्यो भए।
हुन्छन्  साइतमा र द्वार पहरा गाग्री उहीँ छन् खडा।
देख्दामा भरिला बढा र सुकिला मानिन्छ तेही बडा।।५

 

दिन्छन्  जो “शुभलाभ”कर्म गतिलो हो त्यो भलो पल्टियो।
जे जे गर्  छुट भो सबै  सदर भो “हाम्रो” भए सल्टियो।
यस्तै  चल्छ भने भयो  दुःखद यो  निर्धो सदा मर्दछ।
हाम्रो भोलि सदा सदा अमर भो “हाम्रो” उँभो चढ्दछ।।६

 

जैले भोलि थियो भयो कवच नै घेरो जहीँको तहीँ।
गोली छन् रसिला उसै रसभरी मीठा न मीठा उहीँ।
जिब्रो जो अघि को छ स्वाद अघि को चाख्ने बसेका उहीँ।
आयो चाख्न भने म भोलि भनुँला चल्ती कुरा यो  उहीँ।।७
अन्य आकर्षणहरू

अब जा तँ तुहेर

ज्यादतीको पराकाष्ठा

ओछ्याएका वाद र तगारा

आजको नियति

Facebook Comments