परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विवाद त भ्याट्टै मिलेछ !

फुटानी

आइस् भिरघरे लु यही मुट्कोमा बस् । अनि भनी पनि हाल नेकपाको विवाद निमिट्यान्न भर ठ्याम्मै मिल्यो भनेर रेडियो बोल्दै थियो । हुन चाहिँ के भर मिलेछ ?

लौ काका ! अस्ति काकीले जे भन्नु भा’थ्यो कुरो त्यही हो क्या !

झुम्रीले के भनेकी थिई र !

यी बुढाले मैले भनेको पत्याउँदैनन् क्या भतिज । तैं भन्दे न !

हैन हाम्रो नेताहरु मान्नै पर्छ क्या भिरघरे ! हेर त ! त्यस्तो विवाद चुट्कीको भरमा ब्रजलिप गरेर मिलाई दिए ।

हौ काका ! विवाद चैं के थियो र ! तातो भुत्लो केही विवाद थिएन । ओलीलाई प्रधानमन्त्रीबाट झार्न सकिन्छ कि भन्ने थियो । त्यो नसक्ने भएपछि खाम्चाङ खुम्चुङ भए ।

अब चैतमा महाधिवेशन अरे । महाधिवेशन त न काङग्रेसको हुन्छ न नेकपाको हुन्छ । हेर न काका ! यही हाम्रो कम जनसंख्या भएको जिल्ला डोल्पामा त नेकपाको संगठन नै छैन, हाम्रो काँग्रेसको सदस्यता वितरण गर्नै सकिएन, यस्तोमा महाधिवेशन !

होइन भिरघरे ! सहमति चैं कुन कुन विषयमा भए छ त्यो सुनान ।

चैतमा महाधिवेशन गर्ने, प्रचन्नलाई कार्यवाहक अध्यक्ष दिने, केन्द्रीय कमिटीको मिटिङ बोलाउने यहाँभन्दा अरु गर्नु नै बाँकी केही थिएन।

कस्तो कुरो गर्छस् भिरघरे तँ ! ओलीले पाँच वर्ष प्रधानमन्त्री भएर सरकार चलाउने, प्रचन्नले कार्यवाहक अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने, चैतमा महाधिवेशन गर्ने भनेर त पोहोरै निर्णय भाको थियो । फेरि त्यही निर्णय भएछ ? अनि मन्त्रीहरु चेनफेन, प्रदेशका मुख्यमन्त्री, मन्त्री हेरफेर अनि आयोगहरुमा ड्याम कि ड्याम भर्ति गर्ने निर्णय हुदैछ भनेर अस्तिकै दिन पत्रकार हर्ले लेखेको थियो त !

अब काका पनि नेपालका पत्रकारको कुरो पत्याएर बस । यिनार्ले त हुनेलाई नहुने र नहुनेलाई हुने बनाउँछन् । अस्ति काकीले भनेकै थियो नि दुई–तीनजना मन्त्री थपिन्छन् अरु केही हुदैन भनेर ।

म त झुम्रीको कुरो के पत्याउनु भनेर विश्वास नगरेको ता साँच्चै हो पो रहेछ ।

मेरो कुरो किन पत्याउँथ्यौ त ! मैले भनेकी थिएँ ‘भाको केही छैन र हुने केही होइन’ भनेर । छटपटार, लटपटार, चटपटार हुने केही थिएन, केही भएन त्यति हो ।

यो झुम्रीको त कुरै बुझ्दिन म । प्रचन्न माधव, झलनाथहर्ले कसरी चित्त बुझाए त !

काकीको कुरा प्रष्ट छ । पदका लागि गरेको वार्गेनिङ होइन भनेका थिए । ओलीले होइन भने ‘मलाई प्रधानमन्त्रीबाट हटाउन निहुँ खोजेका हौ त’ भनेर धम्क्याए । यिनारुको मथिङगल कचमचियो । तिलमिलाए । यो माम्लामा नराम्रोसंग धुस्रो फुर्सो भए ।

मन्त्रीहरु चाहिँ नहट्ने नै भए त !

किन हटाउने ? कुन चाहिँ आ’र के हुने ? के नयाँ आउनेले आकाश झार्छ ? कि धर्ती उचाल्छ ? केही हुनेवाला छैन भने किन चलाउने ! मेरो त कुरो ‘किलोर’ छ ।

कति जना हाम्रा काम्रेडहरु रुए होला ! मन्त्री, मुख्यमन्त्री बन्ने मिठो सपना देखेका थिए बगायो कर्णालीले । हाम्रो महान काम्रेड प्रचन्न त अब सकियो । माधव नेपालले त मिलाए भने अझै चान्स छ । पूर्व एमाले भन्नेले हाम्लाई रत्तिभर गन्दैनन् । यो झुम्री त माओवादी भनेको के हो र भन्छे।

काकीको कुरो ठिकै हो त काका ! माओवादीको ‘ताम र झाम, आफैं खाम’ मात्रै रहेछ । औंला भाँचेर गणना गरे हुन्छ, अबको चुनापमा प्रभु साहा, गिरिराज, जनार्दन, वर्षमान यति हो । अरु त ओलीको निगाह भयो भने मात्रै ! यो कुरा प्रचन्नलाई थाहा छ । त्यसैले ‘त्वम शरणम्’ ।

मेरो कन्सिरी तात्ने कुरा नगर भिरघरे ! जे भए पनि ओलीलाई मात्रै जस् अरुलाई अपजस् दिने काम गर्नु हुदैन । प्रचन्न नहुने हो भने न नेपाल रहन्थ्यो न नेपाली रहन्थे !

हावा खुस्केको कुरो नगर काका ! स्थानीय र संसदीय चुनापमा सबै देखेकै हो । तिमार्कोमा ओलीले भोट मागी दिएर जितेकाहर्को बडो रवाफ छ अहिले । अब हाम्रो काँग्रेसले जित्छ । अब यो डोल्पामा हाम्रो काँग्रेसले सप्पैलाई सदस्यता दिन्छ । संसदीय चुनाप त धनवहादुर बुढाले जित्लान् स्थानीय त हामी सोरपटार पार्छौ । कि कसो काकी !

अलि त्यसो होइन भिरघरे । पूर्व एमालेको संगठन बौरियो भने यहाँ अरु कसैले जित्तैन । पहिला स्थानीय चुनापमा डबल भोटले जित्ने हामी नै हौं ।

अबको कुरो बेग्लै छ काकी ! के–के न हुन्छ भन्यो भरे केही हुदैन, यस्तो पार्टीलाई कसले भोट दिन्छ ?

भिरघरे तँ पनि हाम्रो प्रचन्न काम्रेडले जस्तो सपना देख्न थालिस् । तिमार्को पार्टीमा देउवा सभापति हुनजेल नेकपाले जित्छ । अनि अर्को कुरो सुनी राख अर्को पटकको प्रधानमन्त्री पनि ओली नै हो ।

यो झुम्री पनि ज्योतिषी जस्तो कुरा गर्छे । अर्को पटकको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै हाम्रो प्रचन्न काम्रेड नै हो । तैंले भनेर हुन्छ । हावाको कुरो गर्छे ।

मलाई त काकीको कुरा ठिकठिकै लाग्यो । देउवा र ओली मध्य एक जना । अब कोरोना नियन्त्रण, किसानलाई मल खाद उपलब्ध, वेरोजगारलाई रोजगारी र अहिले भोकै तड्पिनु परेकालाई खाद्यान्न साथै विदेशमा रहेकाहरुको उद्दार भयो भने ओली विजयी । अन्यथा सोच्नै पर्छ ।

लौ काका अब म घरतिर लागें ।

जै नेपाल ।

Facebook Comments