परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बागमती प्रदेशको शिक्षा नीतिको मस्यौदामाथि नागरिक समाजको सुझाव

काठमाडौँ । शिक्षा अधिकार अनुगमन समूह, नेपालको आयोजनामा बिहीबार “बागमती प्रदेशको शिक्षा नीतिको मस्यौदामा सुझावका लागि नीतिगत बहस” सम्बन्धी भर्चुअल छलफल  सम्पन्न भएको छ ।
कार्यक्रममा लू निभाः बालसरोकार समूह, चाइल्ड नेपाल, पाटन सिविआर, युवालय, आसमान नेपाल र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य र बालअधिकारको क्षेत्रमा क्रियाशिल राष्ट्रिय स्तरका बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, सिजोप, कन्सोटियम लगायत १५ भन्दा बढी बालबालिका र शिक्षाको क्षेत्रमा कार्यरत संजालहरूको ऐक्यबद्धता रहेको थियो ।
शिक्षा अधिकारको सुनिश्चितताका लागि बिभिन्न तहमा नीतिगत पैरवी गर्दै आइरहेको सन्दर्भमा बागमती प्रदेश सरकारले तयार गरेको शिक्षा नीतिलाई आवश्यक सुझावहरू प्रदान गर्ने उद्देश्यले यो नीतिगत बहस कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उप–सचिव दिपेन्द्र सुवेदीले बागमती प्रदेशको ३३ बुँदे शिक्षा नीति र कार्यनीतिको संक्षिप्त रूपमा प्रस्तुत गर्नु भएको थियो । नागरिक समाजको तर्फबाट शिक्षा विज्ञ विश्लेषक श्याम श्रेष्ठले नीतिको उद्देश्यमा नै वैज्ञानिक व्यक्तित्व उत्पादन गर्ने उद्देश्य समावेश गर्नुपर्ने र विद्यार्थीहरुलाई जीवन उपयोगी सीपसंग जोड दिनु पर्ने कुरा उल्लेख गर्नु भएको थियो ।
टिप्पणीकर्ता पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधरले अबको शिक्षा नीतिमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोडने कुरा नीतिमा आउनु पर्ने कुरा बताउनु भएको थियो । अर्का टिप्पणी कर्ता प्रा.डा. मनप्रसाद वाग्लेले मस्यौदा नीतिमाथि दफा अनुसार नै टिप्पणी गर्दै यस नीतिमा विद्यालय शिक्षालाई भन्दा पनि बढी उच्च शिक्षा र विश्व विद्यालयको शिक्षालाई नै जोड दिनु पर्ने र ३३ वटा शिक्षाका नीतिहरु मध्ये १७ वटा नीति स्वागत योग्य र बाँकीका नीतिहरुमा अझ सुधार गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो ।
यसै गरी टिप्पणीकर्ता डा. मिनाक्षी दाहालले अबको नीतिमा उच्च शिक्षा र विश्व विद्यालयकाहरूको नक्साङ्कनका कुराहरू र एसईईका कुराहरु पनि नीतिमा ल्याउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षाका क्षेत्रमा क्रियाशिल विभिन्न संजालका नेतृत्वकर्ताहरु, शिक्षामा लामो समयसम्म क्रियाशिल विद्धत वर्गहरू, पत्रकारहरू, शिक्षाविद, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था गरी करिब ८० जनाको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सहभागीहरूको तर्फबाट पूर्व शिक्षा सचिव महाश्रम शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, शिक्षाविद विद्यानाथ कोईराला, पूर्व शिक्षक होमनाथ जैसी लगायतले अबको शिक्षा नीतिको लागि अमूल्य सुझावहरू प्रदान गर्नुभएको थियो । शिक्षा अधिकार अनुगमन समूह नेपालका संयोजक संन्तराम डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका संस्थापक संयोजक एवं लू निभाःका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।
शिक्षा अधिकार समूहका सदस्य एवं चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । अन्तमा सहभागीहरूबाट आएको सुझावहरूको ग्रहण गर्दै प्रस्तुत कर्ता सामाजिक विकास मन्त्रालयका उपसचिव दिपेन्द्र सुवेदीले उक्त सुझावहरूलाई समावेश गरेर मात्र बागमती प्रदेशको शिक्षा नीतिलाई अन्तिम रुप दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
समूहका संयोजक सन्तराम डङ्गोलले कार्यक्रमबाट प्राप्त सुझाव तथा टिप्पणीलाई प्रदेश सरकारमा पु¥याउने र नीतिलाई सुदृढ बनाउनको लागि सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

 

Facebook Comments