परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वाफरेवाफ ! राजनीतिमा झापाका केपीद्वयको करामत

फुटानी

नेपाली काँग्रेसको महाधिवेशन आउला जस्तो छ । भिरघरे हराएको पनि थुप्रै दिन भयो । यसो राजनीति कुरो गर्न पनि भिरघरे नै चाहिने भयो । ए झुम्री भिरघरेलाई फुन गर, गर आयो कि ! आको र’छ भने काकाले बोलाको छ भन है !

‘काजीको काम छोडी, पुरेतको देवाली’ लाउ फुन तिमी आफैं गर !

खैले फुन !

उ ! फुन गर्नै परेन ! भिरघरे टुप्लुक्कै आई पुग्यो । होइन तेरो आयु त लामै र’छ । काकाले खोज्दै छन् है भिरघरे भित्रै आइजो !

नमस्कार है काका–काकी ! किन खोज्यौ नि काका !

कहाँ हराको थिइस् भिरघरे ! धेरै दिन पो भयो त भेट नभाको पनि !

हाम्रो काँग्रेसको महाधिवेशन गर्ने भनेका छन् । अनि पार्टीको काममा काठमाडौं गा’को थिएँ  त्यहाँ हाम्रो नेता केपीले भेटेर “लौ भिरघरे यसपाला झापा जाउँ” भन्नु भयो । त्यहाँ त उल्कै गर्नु भयो हाम्रो केपीले !

कुन केपीको कुरो गर्छ भिरघरे !

झापामा दुइटा केपी छन् । एउटा नेकपाको नेता अर्को नेपाली काँग्रेसको नेता । दुवै पहाड तेह्रथुममा जन्मेका रा’न । तराईमा पनि दुवैको घर झापा र’छ । हाम्रो कृष्ण प्रसाद सिटौला तिम्रो केपी शर्मा ओली ! होइन हौ काका ! नेपाल त दुईटै केपीले हाँकेका रान !

तँ डोल्पाको मान्छे झापा किन गाको ?

लौ काका पनि ! त्यहाँ हाम्रो केपीले पार्टी प्रवेश कार्यक्रम राख्नु भको थियो । अममम् …..! अलि अलि प्रवेश गरेन हौ हाम्रो काँग्रेसमा !

काँग्रेसमा को प्रवेश ग¥यो अरे भिरघरे । म त चिया बनाउँदै थिएँ सुन्दै सुनिन ।

हाम्रो काँग्रेसमा झापाका सबै पार्टीका सबै कार्यकर्ता गुटुङटुङ प्रवेश ग¥यो । गत चुनापमा राप्रपा बनेका पत्रकार पनि प्रजातन्त्र जोगाउन भनी प्रवेश गरे । मलाई लाग्छ अब हाम्रो काँग्रेसको केन्द्रीय सभापति केपी नै बन्नु हुन्छ । ए बाबा हो अलि अलि होइन त ! ‘खोला पैह्रो ह्वारङराङ ओइरो’ भने जस्तो पो भयो ।

त्यसो भए भिरघरेले यसपालि तेह्रथुम आठराईमा जन्मेर झापा झरेका केपीद्वयको जानकारी लिएर आएछ ।

काका ! नेपालको राजनीतिक विकास र विकासको राजनीतिमा केपीको महत्वपूर्ण भूमिका रहेको देखे काका ! आठराईका एउटै केपीले देश विदेश हल्लाई रहेको बेला अर्का हाम्रा (काँग्रेस–केपीको अर्को लिला सुरु भएको छ । नेकपा केपीले मोदीदेखि मोदीका चेलाचपेटा सबैलाई ठेगान लगाई दिए । उनार्लाई ओलीले अयोध्याको नयाँ ‘टाक्स’ दिए भने यता कसैलाई अध्यक्ष र प्रधानमन्त्रीको ललीपप दिएर थाङ्नामा सुताई रहेका छन् ।

भिरघरे नेकपा–केपीको कुरो होइन काँग्रेस–केपीको कुरो गर न । कृष्णप्रसाद सिटौलाको क्या । झापामा काँग्रेस प्रवेश गर्नेको नाम लिष्टनै एउटा अनलाइनले छापी सकेको छ । कुन अनलाइन अरे झुम्री !

त्यै उभिन्डे अनलाइनले । कृष्णप्रसाद सिटौलाको प्रमुख आतित्थ्यमा खोलो पैह्रो, झार–पात, कुँड– कर्कट, पाङन–पुच्छर सबैलाई एक पटक प्रवेश गराएर नपुगेपछि उर्नालाई नै दोस्रो पटक पनि प्रवेश गराएछन् । त्यै लेखेको छ ।

ए त्यसो हो भने हौ भिरघरे झापाका सिटौलाले झापाबाटै काँग्रेसको महाधिवेशनमा केन्द्रीय सभापति बन्ने अभियान थाले छन् । नेकपाका काम नलाग्ने फोहोर मात्र सोरेनन् अरे । राप्रपा कार्य समितिको टोकरी नै उठाएर झापाका मिडियामा तहल्का मचाए छन् । चिन्दै नचिनेको देखि लिएर सप्पै चिनेकालाई प्रवेश गराएर चौधौं महाधिवेशनमा केन्द्रीय सभापति उठ्छु तपाईहर्ले जिताउनु पर्छ भने छन् । कठै सपना !

ए त्यसो भए काँग्रेस–केपीलाई चौधौं महाधिवेशनमा अरु जिल्लाका भोटरहरु नचाहिने भए छ । त्यही झापामा प्रवेश गरेकाहर्लाई महाधिवेशनसम्म थाम्न सके भने यसपालि सभापति बन्ने रान ! अनि भिरघरे अरु के भयो ?

के हुनु काकी ! मलाई एउटा कुरो चै मन परेन । अहिले झापाको जनसंख्या भन्दा अलि धेर प्रवेश गरे भनेर लेख्न लगाएको र ‘विपी कोइरालालाई फाँसी दिनुपर्छ’ भन्ने पत्रकारले ‘विपीको आदर्श’ मान्छु भन्दै प्रवेश गरेको चैं मन परेन । ‘सबै झापाली काँग्रेस, सबै काँग्रेस झापाली’ भनेको पनि मलाई अलि मन परेन । झापा त उदेक लाग्दो रछ ।

भन त झुम्री । अब पहिला एमालेको गढ मानिएको झापामा अब एकलौटी काँग्रेसले नै जित्ने हो त !

नाप्पियो ! २०५१ सालमा नेपालको जनसंख्या भन्दा बढी काँग्रेसमा प्रवेश गरेका थिए । चुनावमा भोट भने सूर्यमा ठोकेछन् । गिरिजाको काँग्रेस चिलिम फर्कियो । रेडियो नेपालको घटना र विचारले त्यसबेला सञ्चारमा दुइटा किर्तिमान कायम ग¥यो । एउटा काँग्रेस प्रवेश अर्को विपीको नाममा वृक्षारोपण । त्यसपछि काँग्रेसको अधोगति सुरु भयो जंगल पनि मासिदै गयो । त्यस्तै हुन्छ ।

यसपालि त्यस्तो हुँदैन काकी ! अदुवा खोलाको फोहोर काँग्रेस नै हो भन्ने दिन गए । केचना देखि सगरमाथासम्म नेपाली काँग्रेसको पक्षमा एकोहोरो शंङ्ख बजेको सुनिन्छ ।

के भन्छ भिरघरे एकोहोरो शंख बज्नु त अपशकुन पो त ! बरु नेकपाको चै खबर के रछ ?

के हुन्छ काका ! ओली हुन्जेल नेकपा र देउवा हुन्जेल काँग्रेस जस्तो छ त्यस्तै रहन्छ । कराउने कराउँदै गर्छन् शासन गर्ने गर्दै गर्छ । काका म अब बाटो लागें । उभिन्डे खोलासम्म पुग्नु छ ।

जै नेपाल !

Facebook Comments