निशाको कालो प्रहर
कविता (छन्द: शिखरिणी)
चमेरा नै बस्छन् सबतिर यहाँ वाग बनमा
गयो खाने बेला हद विरहले ढाक्छ मनमा
परे ज्ञानी ध्यानी प्रियजन सबै घोर दुखमा
निशाको कालो नै प्रहर छ अझै यो मुलुकमा॥१
कयौँ आए थानी हुन मुलुकमा छर्न सुषमा
कुनै खोजे जस्तो प्रिय मनुज नै छैन उसमा
भयो राजाभन्दा पनि अति ठुलो शान उनमा
सधैँ डस्ने मात्रै मुलुक जनता रम्न खुनमा॥२
लडेथे नेपाली कतिपय यहाँ व्याकुल बनी
उठाएथे झण्डा हिम-शिखरमा फर्फर अनि
गरे कब्जा धेरै रण कुशलले दिव्य अवनी
चिनाए नेपाली कन भुवनमा वीर छ भनी॥३
उदाई के भो त्यो रवि शशि दबै दूर नभमा
सधैँ कालो रात्री कहर छ यहाँ लोक सबमा
उठे कालीनागै विष बमन भो दिव्य पयमा
मरे धेरै हाम्रा युवक दरिला व्यर्थ वयमा॥४
लुटीखाने पापि अधमहरुको झुण्ड छ यहाँ
कठै! नेपालीको रगत पसिना कुण्ड छ यहाँ
सधैँ ज्ञानी दानी गुट र लुटमा फस्दछ जहाँ
उहाँ बासिन्दाको जय मुलुकको हुन्छ र कहाँ?॥५
हुँदा धर्ती साझा पनि अलिकको मोज छ यहाँ
सधैँ पेवा जस्तो गुट र गठको भोज छ यहाँ
गरी खानेलाई सब तिर ठुलो झोँज छ यहाँ
सबैलाई थेग्ने कुन विषयको खोज छ यहाँ?॥६