परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मन्त्रीहरु थपिने निश्चित पो अरे!

फुटानी

सुनिस् भिरघरे! काठमाण्डौमा पनि निषेधाज्ञा जारी भयो अरे!

हो नि काका ! यत्रो महामारी छ, कोरोनाबाट आफू पनि जोगिऊँ र अरुलाई पनि जोगाऊँ भनेर सरकारले आह्वान गरी रहेको छ। तर, मान्छे साह्रै ज्याद्रो, टेर्ने होइन। हात धुनु छैन, सेनेटाइजर प्रयोग गर्दैन। अनि बाहिर के भै’रा छ भनेर हेर्न फुक्काफाल दौडिन्छन्। साँचै भन्ने हो भने मान्छे जतिको अबुझ अरु प्राणी नै छैन।

छोड्दे भतिज कोरोनाको कुरा ! यसले विश्वलाई नै हायलकायल बनाउँदैछ। अर्थतन्त्र धरासायी बन्दै छ। मानिसहरु त्रसित छन्। हाम्रो जस्तो देशको त भविष्य नै डामाडोल हुँदैछ। यस्तै बेलामा नेपालीका चाड पर्व धमाधम आउँदै छन्। अस्ति तेरी काकी झुम्री तीजमा पनि माइत जान पाइन भनेर प्रचण्डले ओलीसंग निहुँ खोजे जस्तो मसंग निहुँ खोज्दै थिईन। मैले पनि टेर पुच्छर लाइन।

यस्तो बेलामा नगाकै राम्रो हो नि। नमरी बाँचे दैवले साँचे अर्को साल गज्जबले मनाउनु पर्छ। १५ हजारको पिसिआर जाँच गर्दा एक हजारमा कोरोना पोजेटिभ हुन्छ भने अब हिसाब गरेर हामी मध्य कति जनामा कोरोना पोजेटिभ छ भनेर भाग लगाउँदा हुन्छ।

के हिसाब गर्ने भनेको भिरघरे!

कोरोना सङ्क्रमितको कुरा गरेको काकी ! मृतकको संख्या दैनिक बढ्दै छ। मान्छे अटेरी हेलचेक्राईँ गरेर हिड्छ। काफल टिपे जस्तो टिप्न थालेको छ कोरोनाले होसै गर्दैनन्।

भिरघरे ! काकीको कुरा छोड्दे। बरु उता राजनीति चैं के हुँदै छ रे !

राजनीति के हुनु हौ काका ! उही महाकवि देवकोटाले भने जस्तै ‘झिकेर हेर्दा, नखान पाई काँचाको काँचै भात’ भने झैं जस्तै जस्ताको तस्तै छ।

त्यै त ! राजनीति पनि कचल्टियो। नेकपामा हाम्रो प्रचण्ड काम्रेड घरी–घरी रनाह छुटेर कराई टोपल्छन् बाहिर हेर्दा उम्लिए जस्तो भित्र चिसाको चिसै। मन्त्रीमण्डल चेनफेन गर्ने भन्ने हल्ला पनि त्यति पत्याउने खालको देख्दिन।

नपत्याए के गर्छौ ! तिम्रा प्रचण्ड काम्रेडले बुहारी, बस्नेत र पुनलाई निकाल्न गाह्रो। प्रधानमन्त्रीलाई ईश्वर पोखरेल, प्रदीप ज्ञवाली लगायत निकाल्न साह्रो। अनि थपिने दुई जना। सञ्चार र शहरी विकास। अरु त त्यतिकै हो।

काकीले ठिकै भनिन हौ काका !

झुम्रीको कुरा छोड भिरघरे ! उहाँ पत्रकारहर्ले फलाना फलाना मन्त्री हुने भनेर नामावली नै छापी सके!

काका! पत्रकारले मन्त्रीहरु फेरवदल गर्ने होइन नि। प्रधानमन्त्रीले गर्ने हो। हाम्रा पत्रकार त विचरा! हाम्रो डोल्पामा घटना भयो भने झापाको माई धारमा भनेर लेखी दिन्छन्।

तर, यसपालि त पकै हुन्छ भिरघरे। वारका वार पारका पार हुन्छ भनेर प्रचण्ड काम्रेडहरु जोडले लागेका छन्। पदका लागि होइन भनी सकेका छन्।

हौ काका ! पदका लागि हुँदै होइन। मन्त्री, संवैधानिक अंगका पदाधिकारी र अन्य नियुक्तिका लागि मात्र हो। यति कुरो त सबैले बुझी सके।

खै के हो के हो। कोरोनाको कहर भित्र राजनीतिको हुँडलो। ए झुम्री अब ओलीले चाहिँ के गर्छन भन त!

केही पनि गर्दैनन्। कोरोना नियन्त्रणमा लाग्छन्। ओलीलाई थाहा छ को कति पानीमा छ भन्ने कुरा। कराउने कराउँदै गर्छ भुक्ने भुक्तै गर्छ, सुक्ने सुक्तै गर्छ , लम्किने लम्किदै गर्छ। अहिलेसम्म जे भै राछ त्यही हुन्छ।

हुन त हो काकी ! एक एक हिसाव किताब गरेर बसेको छन् प्रधानमन्त्री। तर, पार्टीमा उठेको मौसमी तुफानलाई पनि नजरअन्दान गर्न सक्ने अवस्था छैन। त्यसैले अरु केही नभए पनि मन्त्री मण्डल चेनफेन त हुन्छ होला।

मन्त्री बन्न सबै ताउर–माउर गर्दै छन्। कल्लाई दिने? प्रचण्डले पनि सक्तैनन् ओलीले पनि सक्तैनन। बुहारी हटाउँ घर झगडा ईश्वर हटाउँ पार्टी झगडा। त्यही दुई जना थपिन्छन् त्यति हो।

झुम्रीको कुरा पनि बेठिक होइन। तर, हाम्रो नेपालमा पाँच वर्ष पर्खिन सक्ने नेता नै छैनन्। भीम रावल, हरिबोल, लगायतका व्यक्ति मन्त्री बन्न नपार आफ्नै नेतालाई रातो आँखाले हेर्न थाली सकेका छन्। कोरोना न सोरोना उनार्लाई पद भए हुन्छ। नेता भनाउँदा भात खाउँ कि ताउलो खाउँ भोग्दै छन्।

आ… काका! यो राष्ट्रले स्थीर सरकार पाएको थियो तर सरकारकै पार्टीकालाई हनहनी ज्वरो आएर खपी नसक्नु भयो ! आफू मात्र सक्षम, आफू मात्र जान्ने, आफैं हुनु पर्ने कस्तो उखरमाउलो गाँठे !

लु काका ! तिमी बाख्रालाई घाँस काट्न जाउ म बाँदर धपाउन लागे।

जै नेपाल !

Facebook Comments