बल्झिएर रोएँ !
कविता (छन्द-लोकछन्द)
आज पनि तिमीलाई सम्झिएर रोएँ
रुँदारुँदै निदाएँछु, ब्युँझिएर रोएँ।
नरोउँ भन्दा पनि आफैँ लाग्दो रै’छ मायाँ
जताततै तिम्रै छायाँ झल्किएर रोएँ।
*
बादलु झैँ कालो कालो तिम्रो लामो केश
एकान्तमा खेलाएर बस्ने परिवेश।
संसारको सेरोफेरो यौटा सानो घेरो
कैले मिल्ला तिम्रो मेरो सपनीको देश।
*
गाजलु ती ठूला आँखा कल्पिएर रोएँ
भावनामा आफैँभित्र अल्पिएर रोएँ।
हृदयमा पलाएर परेलीमा बग्ने
पिरतीको डडेलोमा सल्किएर रोएँ।
*
माया लाउने मायालुको तिर्सनाले रोएँ
पहिलोपल्ट जिन्दगी यो बिर्सनाले रोएँ।
नदेखिने अङ्कूशेमा मुटु अल्झिएर
भित्री मनको चर्को व्यथा बल्झिएर रोएँ।