परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सप्पै कुरो ठ्याप्पै मिल्यो !

फुटानी

अब के हुन्छ?

विषय, प्रसङ्ग, समय र परिवेशको ख्यालै नगरी मैले भिरघरेलाई सोधेँ। किन कि अहिले सबैले सोध्ने पहिलो प्रश्न नै यही हो।
भिरघरेले पनि बनिबनाउ जवाफ दियो। केही पनि हुदैन।

मैले के सोधेँ तैंले के जवाफ दिएको भिरघरे?

हौ काका, तिमीले सोध्ने नै नेकपाको राजनीति हो। यो राजनीति जस्तो छ त्यस्तै रहन्छ। काँग्रेस पनि यथावत्, नेकपा पनि यथावत्। बरु चलायमान त बाबुरामजी नै हुन। अब ३/४ वर्ष भित्र धेरैको राजनीति तुरिन्छ। त्यसपछि बिलखबन्दमा पर्छन्। पिंडी कुरेर बस्छन्। काम तुरिएपछि आफल तेरो ठाँडो बनाउँछन्।

कोरोना महामारीको बारेमा के भन्दैछन्? कहाँ कहाँ फैलियो? काठमाण्डौंका बडाहरु के भन्दै छन्?

काका ! कोरोना फैलिँदो अवस्थामा छ। काठमाडौंका सबैतिर फैलिएको खबर आएको छ। नेताहरु पद र अधिकार नपाएर दन्केको आगो जस्तो भरभराएका छन्। प्रधानमन्त्रीलाई पदबाट घुसमुट्याउन मक्किएको थोत्रे डोको बोकेर दुई तीन जना मान्छे काठमाडौंमा उफ्रदै छन् अरे। ओलीले दिउँसै तारा देखाइदिएपछि… हाम्रो काँग्रेस पनि मुख छोपेर खित्का छोड्दै छ।

कठैबरा ! हाम्रो नेपाल ! जता गहिरो उतै वोइरो ! काँग्रेस देउवातिर नेकपा ओलीतिर। प्रचण्ड, माधव नेपाल, रामचन्द्रहरु त ठेट्ना मकै जस्तो पढ्किने मात्र हुन कि क्या हो!

के गर्छौ त काका ! हाम्रा नेताहरु हल नमिलेका गोरु जस्ता भएर जुवा भाच्न खोज्छन्। सोइला त भाँची नै सके। सोइला भनेको जनविश्वास क्या काका!

ठीक भनिस् भतिज! हलो अड्काउने, हरिस पड्काउने भनेको यही हो। जोतारोले कसेर थेचार्नु पर्ने!

कल्लाई जोतारोले कसेर थेचार्नु पर्ने भनेको बुढा!

कल्लाई हुन्थ्यो झुम्री! हाम्रा नेता हर्लाई। भिरघरे र मेरो आज कुरो मिल्दै छ।

नेपाली काँग्रेसको किचलो देउवाले जे सोचेको छ त्यसैमा पुगेर टुङ्गिने हो। यता नेकपाको खिचलो वामदेव बड्डाको छ बुँदेमा समाप्त हुने भो। थोत्रे डोको बोकेर प्रधानमन्त्री फाल्न उभिएकाहरु अरकच्च परेर वालुवाटार फर्किने भए।

लौ काकी भन त अब राजनीतिले कुन मोड लेला !

कुनै मोड पनि लिदैन। के भा छर! बाघको छेउमा बाँदरको उफ्री—पाफ्री। देउवाको छेउमा रामचन्द्र, ओलीका अगाडि प्रचण्ड! सिस्नो छुनुहुँदैन पोल्छ भन्ने प्रचण्डहर्ले जानेका छन्!

लु यस्तो कुरो नगर झुम्री। मलाई रनाहा छुटेर आउँछ।

हौ काका ! तिमीलाई रनाहा छुटे पनि मुटु दुखे पनि काकीले भनेको ठिक हो। बरु अहिलेको अवस्थमा राजनीति किचलो छोडेर कोरोना भाइरस् फैलन नदिने उपायहर्को बारेमा गहन छलफल चलाउने, विश्व स्वास्थ्य सङ्गठले निर्धारण गरेको मापदण्ड अनुरुपको आइसोलेशन वार्ड निर्माण गर्ने, रोगसंग लड्न सक्ने औषधीको व्यवस्था गर्ने र आवश्यक उपकरणहर्को जोहो गर्ने कामतिर यिनारु लाग्नु पर्ने हो। तर पद, प्रतिष्ठा र शक्तिको लुठाचुँडीमा लागेका छन्।

हो नि भिरघरे ! मैले त्यसो भन्दा तेरो काका दाम्लो छिनाल्ने गरी उफ्रिने गोरु जस्तो बन्छन्। अब अस्तिको दिन छ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गर्ने कार्यदल अरे! वाइयात कुरो! ‘वामदेवले दिएको छ बुँदा अनुसार अगाडि बढ्ने निर्णय’ भनेर दुई जना अध्यक्षले दस्तखत ठोक्ता भैगो नि!

काकी! सिन्धुपाल्चोक बगेको छ, कालिकोट भत्किएको छ, संखुवासभा पीडमा छ, तराई बाढी र डुवानको कहर भोग्दै छ, कर्णाली प्रदेशका विभिन्न गाऊँ भोकमरीको चपेटामा छन् र सबैभन्दा ठूलो त कोरोनाले सबैतिर गाँजेको छ। यस्तो अवस्थामा नेताहरु भने बेला न कुबेला न्याउली रोए जस्तो विलौना गाएर बसेका छन्। औषधी उपचारको कुरो छैन, जनता बचाउने कुरो छैन, राहातको कुरो छैन चुईचुई गरेर खिया लागेको साइकल जस्तो। यस्ता पनि हुन्छन् नेता!

अधिकार माग्नु नाजायज होइन नि भिरघरे! ओलीले एकलौटी क¥याप्प पारे पछि प्रचण्ड काम्रेडको ब्रम्हण्ड छुट्नु स्वभाविकै हो। अब महाधिवेशन नै भए पनि अहिलेका ‘पावर’ खोज्ने, पौठेजोरी खेल्न तम्सिने नेताहर्लाई ओलीले थाङ्नामा सुताई दिन्छन् भन्ने पो डर भयो।
डर होइन काका हुने नै त्यही हो। र, हुनु पनि पर्छ। अब नाङनिङ थाङ्नाहरु धोई पाखाली गरेर राख्नु पर्छ भन्ने छैन। ए काकी ! आज सारै मिठो कुरा भयो। लौ लौ एक एक डबका जाँड खाउँ।

ल ल …! म ल्याई हाल्छु।

अनि काका ! अब घरबाट निस्कनु हुँदैन। निस्कनै परे परस्पर दुरी कायम गर्ने, अनिवार्य माक्स लगाउने र साबुन पानीले राम्रोसंग हात धुने गर्नु पर्छ।

यो चैं कुरो सोहै्र आना ठिक भनिस् भिरघरे। तँलाई लाल सलाम !

Facebook Comments