परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आज भैरव दाइको जन्म दिन

आज साउन २९ गते अर्थात् आज जोस र जाँगरले भरिला पाका पत्रकार भैरव रिसालको जन्म दिन । पत्रकारिता क्षेत्रका अग्रज सबैका भैरव दाइ आजबाट ९२ वर्ष पार भई ९३ वर्ष लाग्नु भयो ।

यस पंक्तिकारले भैरव दाइसंग २०४४ सालदेखि परिचित हुन र संगत गर्न पाएको हो । उहाँको जन्म दिनमा सरिक हुन भने ७२ औं जन्म दिनदेखि मात्र पाएँ । विभिन्न जिल्लामा कार्यक्रम सकेर फर्किने क्रममा चितवनको नारयणगढमा अनौठो गरी जन्मदिन मनाउने मौका मिल्यो ।
त्यस जन्मदिन मनाउने पत्रकारहरुमा रघु मैनाली, सुमन वस्नेत, भरत पोखरेल, म र भैरव दाइ मात्र थियौं । आज उक्त जन्मदिन मनाएको पनि २१ वर्ष भएछ । उर्जावान भैरव दाइ अहिले पनि विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा लेखी रहनु भएको छ । रेडियो र टेलिभिजनहरुमा आफुले भोगेका शिक्षाप्रद अनुभवहरु बाँडी रहनु भएको छ ।

यस पटकको जन्म दिन कस्तो भयो होला ? यो पंक्तिकार कोरोनाका कारणले जान सकेन । सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भन्ने उर्दी जारी गरेको छ । भैरव दाइका पारिवारिक सदस्य र छिमेकी नै ४०÷५० जना भेला हुन सक्छन् । अनि यस्तोमा म किन थपिनु । भाउजु सुशिलाले लेख्नु भएको स्टाटस्मा जन्मदिनको खुशी बाँडेर कमेन्ट लेखें । फुलको गुच्छा पनि त्यही टक्राएँ ।

मन मानेन । दाइलाई फोन गरे । र, सुस्वास्थ्य साथै दीर्घ जीवनको कामना सुनाएँ । फोन राखी सकेपछि धेरै कुराहरु सम्झनामा आए । पूर्व ताप्लेजुङको सुकेटारदेखि पश्चिम दार्चुला टिङकरसम्म दाइ पुग्नु भएको छ । सायद ७७ वटै जिल्ला घुम्ने पत्रकारमा उहाँ मात्रै पर्नु हुन्छ । चाहे इलामको बरबोटे पुग्दा होस् चाहे हुम्लाको सिमिकोटमा पुग्दा होस् दाइको नाम लिएपछि ‘उहाँलाई त हामीले पनि चिनेका छौं’ भन्ने मान्छे थुपै्र भेटिन्छन् ।

राष्ट्रिय समाचार समितिमा लामो समयसम्म कार्य गर्नुययो । नेपाल वातावरण पत्रकार समुहको स्थापनाकालदेखि अहिलेसम्म त्यहाँ सक्रिय रुपमा लाग्नु भएको छ । रेडियो सगरमाथामा लामो समयसम्म ‘उहीले बाजेका पालामा’ नामक कार्यक्रम चलाउनु भयो । अहिले पनि सबैका दाइ भैरव रिसाल विभिन्न मञ्चमा बोल्न लेख्न र पढ्न युवा जोश नै निकालेर सक्रिय हुनुहुन्छ ।

सत्यको हिमायती, असत्य, झुठ र लान्छनाको घोर विरोधी भैरव दाइ पारदर्शिताको पक्षपाति हुनुहुन्छ । यस सम्बन्धी यहाँ एउटा घटना स्मरण गर्न मन लाग्यो तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सचिवालयबाट दाइलाई फोन आयो । प्रधानमन्त्रीले विमानस्थलमा भइरहेको सुन तस्करी कसरी रोक्न सकिन्छ ? भन्ने विषयको कार्यक्रम राख्नु भएको रहेछ । त्यसमा बोल्नका लागि दाइलाई अनुरोध गरिएको रहेछ । हामी नेपाल वातावरण पत्रकार समुहमै थियौं । दाइले रातो अनुहार लगाउँदै फोन राख्नु भयो ।

हामी किंकर्तव्यविमुढ भएर दाइतिर हेर्न थाल्यौं । दाइले कुरो बुझ्नु भयो । अनि आफैं भन्न थाल्नुभयो । प्रधानमन्त्रीले राम्रो पारिश्रमिक दिने गरी दाइलाई तस्करी रोक्ने बारेमा बोल्न बोलाउन निर्देशन दिए अनुसार फोन आएको रहेछ । त्यस ताकाको निकै ठूलो रकम दिने प्रस्ताव रहेछ । दाइले ‘त्यो रकम कहाँबाट दिने’ भन्दा प्रधानमन्त्री आफैंले दिने भनिएछ । जवाफमा दाइले ‘हो त्यही पैसा आउने बाटो बन्द गर्नु, नलिनु, जसले ल्याउँछ त्यसलाई कार्वाही गर्नु अनि भ्रष्टाचार विरोधी, लोभलालच नगर्ने कर्मचारीलाई विमानस्थलको हाकिम बनाएर पठाउनु । तस्करीको खवर आएमा हाकिमलाई नै कार्वाही गर्ने । यति भएपछि तस्करी रोकिन्छ’ भन्दिनु भएछ ।

भैरव दाइ सत्य र निष्ठामा रहने व्यक्ति । घुस्याहा भ्रष्टाचारी र तस्कर भैरवदाइसंग तर्सिन्छन् । सुशासन, सदाचार, मानवीय भावना र समय अनुसार चल्न सक्ने क्षमता दाइका गहना हुन ।

अहिले पनि दाइमा युवा जोशका जीवाणुहरु जीवित छन् । काइदाको, लोभ लाग्दो दैनिकीलाई दाइले निरन्तरता दिनु भएको छ । सरल भाषामा स्पष्ट रुपमा आफ्ना भनाईहरु राख्दा उहाँका श्रोताहरु मन्त्र मुग्ध भएर सुन्छन् । उहाँँले स्पष्ट वक्ताको परिचय पनि बनाई सक्नु भएको छ ।

अन्त्यमा भन्नै पर्छ– उहाँमा जोश र जाँगर सदावहार बनोस् । धेरै अनुकरणीय काम गर्नु भएको छ । त्यसले निरन्तरता प्राप्त गरिरहोस् । ९३ औं वर्ष सुभारम्भ गर्नु भएकोमा दाइलाई सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछु । जन्मदिनको धेरै धेरै शुभकामना भैरव दाइ !

Facebook Comments