परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एमाले माओवादी मिल्ने भए अरे !

फुटानी

त्यो दिनको कुरो हो जुन दिनको तिथि, मिति मलाई पनि थाहा छैन । अर्थात त्यो दिन काठमाडौंमा घाम–छायाँको बराबर राज्य चलेको थियो । धोवी खोला उर्लेर आयो र एकछिनमा सुक्यो । थाहा भएन वागमतीसम्म धोवी खोला पुग्यो कि पुगेन ।

‘के लेखेर बसेको गफाष्टक ।’ एक्कासी आएको आवाजले तर्सें पनि । यसो पछाडि फर्केर हेरेको हरिनारायण रछन् ।

के लेख्नु ! लेख्ने विषय नै छैन । राजनीति लेखौं भने हाम्रो प्रचण्ड काम्रेड देउवालाई छाडेर ओलीतिर मिल्ने अरे । खै ! स्थानीय निकायको चुनावसम्म काँग्रेस प्यारो अब प्रदेश र संघीय निर्वाचनमा ओली प्यारो हुने भए ।

हरिनारायणले भनेको के पत्याउनु भनौला कुरो त बेठिक हैन है । अहिले ओलीको छवि निकै राम्रो छ । चुनाव जित्न निकै सजिलो हुन्छ । जित्न सजिलो टिक्न गाह्रो । भविष्य भन्न सकिदैन वर्तमान सपारे हुन्छ । तिम्रो पार्टीलाई जनताले खासै पत्याएको अवस्था छैन ।
हैन हरिनारायण सर । कुरो बुझ्नु भएन ! एमालेका छाउराहरु माओवादी एमालेमा विलय पो भन्दै छन् । हाम्रा नेताहरु पनि चुनावी मोर्चा होइन पार्टी एकीकरण भनेर हल्ला गर्दै छन् । अब माओवादीले हिजोसम्म ओलीलाई एक नम्बरको दुश्मन मानेको आजै कसरी नेता मान्नु ।

हेर भाइ ! राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन । ओलीले पनि हिजोसम्म माओवादीलाई मटियामेट पार्छु भन्थे अब विउ मात्र भए पनि बचाई दिने भएछन् ।

कस्तो कुरो गरेको सर । हामी चैं त्यति कमजोर छौं र । त्यत्रो जनयुद्ध लडेको पार्टी । पाँच हजार त हामी केन्द्रीय सदस्य नै छौ । सायद विश्वमा नै धेरै केन्द्रीय सदस्य भएको पार्टी हाम्रै होला । यत्रो विशाल पार्टीलाई ‘मिनिमाइज’ गर्ने ?

त्यस्तो होइन भाइ ! सुनिनु र मोटाउनु फरक कुरा हो । सुनिएको थियो । अहिले संसदीय पद्तिको क्यापसुल खाएपछि केही हदसम्म सुनिएका अंगहरु घट्दै गएका छन् । केन्द्रीय सदस्य बाहेक कार्यकर्ता र जनताले माओवादीलाई खासै पत्याए जस्तो छैन । विलय भए पनि एकीकरण भने पनि ओलीलाई गम्लङ्ग अंगाले हुन्छ ।

खै ! नेताहर्को दिन फिर्ला हाम्रो हविगत के हुने हो चिन्ता पो लाग्न थाल्यो ।

वैद्य र बाबुराम गै हाले । अरुले पनि अलि अलि गर्दै छोड्ने क्रम सुरु भएको छ । यस्तो अवस्थामा एमालेमा डुबुल्की गर्दा अच्छा हुन्छ । चलायमान प्रचण्ड काम्रेड एक डेढ वर्ष त टिक्लान् त्यसपछि त छटपटीले हुरुक्क भएर एमालेका गुटतिर दह्रो गरी खेल्न थाल्ने छन् । अनि देख्छन् ओलीले तिरिमिरी तोरीको फुल ।

त्यो त हो हरिनारायण सर ! हाम्रो काम्रेडको चुपो लागेर बस्ने बानी छैन । युद्धकालमा सबै खाले युद्ध गरियो । काम्रेडहर्ले सारै दुःख गर्नु भयो । जनताको काम भने पछि हुरुक्कै भर लागियो ।

हो नि भाइ ! दिल्लीतिर बसेर प्रचण्ड पथ भन्ने गैंतिले खनेर भारतीय विस्तारवाद विरुद्ध उच्च छलाङ मार्दै सुरुङ युद्धसमेत गरे । दिमाख चै मान्नै पर्छ । जनताको सेवा पनि डरलाग्ने गरी माओवादीले सम्पन्न गरे । भविष्यमा इतिहासले यसको लेखाजोखा गर्ने छ । वर्तमानले भने हिसाव कितावमा मात्र गर्ला ।

जे होस् पार्टी ठुलै हुने भयो । पाँच हजार हामी दुई तीन सय उनारु मिलाएर केन्द्रीय कमिटी बन्छ होला । उनार्को त फेरि सबै जिल्लामा पार्टी जिल्ला कमिटीको आफ्नै भवन छ । जनता मारेर लुटेका छन् । तर, हामीले लुटेको पनि काठमाडौंमा घर र गाडी भने जेडेका छौं । यदि फेरि सम्पत्ति कमाउने इच्छा लाग्यो भने पसिन्छ जंगल ।

भाइहर्को त के भो’र जंगल जानु पनि लाहुर गए जस्तो हुन्छ । हाम्रो त यस्तै छ हालत । ३० वर्ष प्राविमा शिक्षक भ’र रिटायर्ड भएँ । त्यही पेन्सनले कोठा भाडा तिर्दै छु । भाइको यसो हेर्छु जागिर छैन, गाउँबाट सात वर्ष अघि एउटा झोला बोकेर कोठा खोज्दै आएका थियौ । अहिले सबै कुरो पुग्दो भएको छ ।

ए सर ! कमाउन सक्नु पर्छ । यो दुई रोपनीमा फैलिएको घर राणाहर्को किचलो र’छ मिलाएर आफैं लिएको । सुनको गरगहना र गाडी ठेकदारहर्ले दिएका हुन । अहिले पनि ठेक्कापट्टा मिलाउने, मुद्दा जिताई दिने, सरुवा बढुवाको काम गरेर राम्रै कमाइ गर्दै छु । मान्छेहरु मलाई गुण्डा भन्छन् । सेवाभावले जनताको काम गर्दा पनि आरोप खप्नु परेको छ ।

यस्तै हो भाइ सके जति गर्नु पर्छ । नेपालमा कानूनी राज्य र सुशासन भयो भने पनि आफु जोगिने गरी आफ्नो सम्पत्ति सुरक्षित गर्नु है भाइ ! के हो के हो दशा भनेको कुरा बाजा बजाएर आउँदैन भन्छन् ।

हो नि सर ! अहिले त हामीतिर कसैले ठाडो शीर गरेर हेर्न सक्तैनन् । डरले अझै पनि थरथर काँप्छन् । पछि के हो के हो । सम्पत्ति सुद्धिकरणले भेट्यो भने चिरिपझ्याप पार्छ कि भन्ने डर पो हुन थाल्यो ।

त्यही त । उ… बाहिर फेरि कालोमैलो भयो । एकैछिनमा घाम लाग्ला जस्तो एकैछिनमा पानी पर्ला जस्तो । नेपालका राजनीतिक पार्टीहरु जस्तो छ मौसम पनि ।

फेरि धोवी खोला वाडी आउँछ होला । यो धोवी खोला पनि पहिले इच्छुमती थियो । अहिले ढलमती भएको छ । बागमती भनेको नदी हो । यो खहरे त्यो नदी ! अर्थात् भाइहर्को माओवादी पार्टी र एमाले जस्तो ।

लौ भाइ ! लामै गफ भो । पुरानो तर निरन्तर जारी कथा सुनाएँ । म अब लागे घरतिर !

हुन्छ सर ! नमस्कार !

Facebook Comments