बृद्धाश्रम
कविता
सुनौलो बिहानी छ
चराहरू आफ्नै लयमा
चिर्बिर चिर्बिर बात मारिरहेछन् ।
पर्खालभित्र चराहरू
कतै पीडाका गीत त सुनाउँदै छैनन् ?
छेउमै छन्, एक बृद्ध मान्छे
बाटो नियालिरहे झैँ, न्यास्रिए झैँ
तिर्खाए झैँ, छट्पटिए झैँ
केके सम्झिदा हुन्, केके भन्दा हुन्
लाग्छ, ठूलै पहाडले थिचिएका झैँ
परिबन्दमा परे झैँ ।
हिजो झैँ आज पनि सपनामा,
छोरा आयो, पक्कै आयो
भन्दै बर्बराउन थालेका ।
चिल्लो गाडी, सुटबुट र टल्किने जुत्ता
देखेपछि केले छोप्थ्यो कुन्नि
हो त्यही हो मेरो छोरा भन्दै
अनायासै, बाटोतिर दौडिन्थे ।
सम्झिँदा हुन् बृद्ध बा ती दिनहरू—
छोराका लागि दिनरात भनेनन्
घाम–पानी भनेनन्
भोक–तिर्खा भनेनन्
आज,
घामले पोल्न थाल्दा
पानीले रुझाउन लाग्दा
भोकले खान माग्दा
आँतले तिर्खा भन्दा
कोही पनि त छैनन्
कोही पनि त आएनन् ।
दिन बिते, रात ढले
समय बग्दै गयो
दुई दिनमा आउँछु भन्दै
बाटोमै छोडेर गएको
छोरो फर्केर आएन ।
छोराको एक मुस्कानको झलक पाउन
सारा खुसी बन्धकी राखे
उसलाई सक्षम बनाउन
खैचिएका सपना
साहुको ऋण, जायजेथा
सबै आँसुसँगै रित्तिए
र पनि त छोरो आएन।
वृद्धाश्रमको पर्खालभित्र
छोरो आयो, छोरो आयो भन्दै
अरुले नदेख्ने गरी
अझै आँसु पुछिरहन्छन्
अन्तिम आशा अझै मरेको छैन—
आँसु पुछ्न कतै
छोरो आई पो हाल्छ कि?!