परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कृषि विकासमा रेडियो माध्यमको भूमिका

कृषि क्षेत्रमा ६६ प्रतिशत नेपाली जनता आश्रित छन् । कुल राष्ट्रिय आयको २७ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ । यहाँको साक्षरता प्रतिशत, भौगोलिक अवस्था र आम्दानीलाई आधार मान्दा कृषिको विकासका लागि आमसञ्चार माध्यमहरुमध्ये रेडियो सर्वाधिक सान्दर्भिक हुन आउँछ ।

अर्थ–व्यवस्थाको ठूलो हिस्सा कृषिले अडेको हाम्रो देशमा कृषि रेडियोहरुको स्थापना र विकासलाई दीर्घकालीन योजना तयार पारी राज्यले अनुदान सहयोग उपलव्ध गराउने परिपाटीको विकास गर्नुपर्दछ । पढेलेखेका युवा समुदायलाई निशुल्क रुपमा कृषिसम्बन्धी आधारभूत तालिम, कृषि सञ्चार र कृषि उद्यम गर्न सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने यवस्था गर्नु आवश्यक छ । अहिले कृषि सूचना सम्प्रेषणमा जोड दिइनुपर्ने आवश्यकता छ ।

ग्रामीण भेगका कृषकहरुलाई कृषि उत्पादकत्वमा बृद्धि ल्याउन र उनीहरुलाई उन्नत खेतीका नयाँ तरीका र प्रविधि सिकाउन रेडियो माध्यम उपयोगी देखिन्छ । विकासोन्मुख मुलुकमा कृषि विकासका कार्यक्रमहरु आमसञ्चारका माध्यमको प्रयोगद्वारा मात्र सम्भव छ । यसले ग्रामीण कृषकहरुलाई विकासतिर परिचालन गर्न सहयोग समेत गर्दछ । कृषि कार्यक्रम निरन्तररुपमा रेडियोबाट प्रसारण गर्न सके कृषकहरुको परम्परागत कृषिप्रति रहेको विश्वास र धारणामा परिवर्तन भई उन्नत खेती प्रविधि अलवम्वन गर्न सक्छन् । यसबाट उनीहरुको आम्दानीमा मात्र बृद्धि हुदैन, अन्ततः जीवनशैलीमै परिवर्तन हुनसक्छ ।

रेडियो प्रसारण कृषिसम्बन्धी सूचना र प्राविधिक ज्ञान बुझाउने उपयुक्त माध्यम पनि हो । सन् १९४१ मा क्यानडामा कृषि रेडियोको शुरुवात भई कृषिसम्वन्धी शैक्षिक ज्ञान किसानहरुमाझ बाँड्ने कार्यको थालनी भएको हो । क्यानडाको कृषि ढाँचालाई विस्तारै अन्य विकासोन्मुख मुलुकहरुले पनि आत्मसात गर्दै गएको पाइन्छ ।

रेडियो ग्रामीण वस्तीमा सजिलै उपलब्ध हुने र कृषकहरुको पहुँचभित्र पर्ने साधन हो । विभिन्न ग्रामीण रेडियोहरुको अभ्याससम्बन्धी अनुभवले पनि कृषि रेडियो कृषकहरुलाई उपयोगी छ भन्ने देखाउँछ । ग्रामीण विकासका लागि सूचना र ज्ञान दुई महत्वपूर्ण तत्वहरु हुन। स्थानीय रेडियोबाट दिइने कृषिसम्बन्धी जानकारीले कृषकहरुलाई सहयोग त गर्छ नै नयाँ तथा उपयुक्त सूचना र प्रविधिबारे जानकारी पाउँदा उनीहरुले नयाँनयाँअवसरहरु सिर्जना गर्ने सम्भावना रहन्छ । जेकिन र उनका साथीहरुले सन् २०१३ मा गरेको एक अध्ययनअनुसार कृषकहरुले कृषिसम्बन्धी ज्ञान, अनुभव एवं महत्वपूर्ण विषयवस्तुहरु सिक्ने अवसर रेडियोले उपलब्ध गराएको निष्कर्ष निकालेका छन् ।

श्रोतालाई अपिल गर्न सक्ने प्रविधि र नयाँ ढाँचाका सिर्जनशील कार्यक्रमहरु उत्पादन गर्न सके रेडियो कृषिसम्बन्धी शिक्षा लिने उपयुक्त माध्यम बन्न सक्छ । तर मिडिया प्रयोग र सन्देश बुझ्न साक्षरताले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । उन्नत खेतीका तरिका, वेमौसमी तरकारी खेती, मलवीउ र विषादीको प्रयोग, माटो संरक्षण र जाँच, कृषि उत्पादनको सवल वजारीकरण कृषिका आधारभूत पक्षहरु हुन । तर ग्रामीणस्तरमा कृषि रेडियो खोल्नु र व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण छ । कारण, ग्रामीण रेडियोहरुले कृषि विज्ञ र कृषि तालिम हासिल गरेका सञ्चारकर्मीहरु पाउन सक्दैनन् । स्थलगत कार्यक्रम उत्पादन गर्न खर्चिलो हुने तथा ग्रामीण क्षेत्रमा कृषि विज्ञहरुको कमी भएकाले कृषक समुदायबाट माग भए पनि कार्यक्रम उत्पादन गर्न कठिनाई भएको नेपाली रेडियो प्रशारकहरुको अनुभव छ ।

युगाण्डामा रेडियो युगाण्डाले २० वटा भाषाहरुमा कृषि कार्यक्रम उत्पादन गर्ने गरेको छ । त्यहाँ हरेक किसानलाई कृषि उत्पादन बढाउन विशेष कार्यक्रमहरु अघि बढाएको छ । नेपालमा रेडियो नेपालद्वारा प्रसारित कृषि कार्यक्रमले ग्रामीण कृषकहरुमा निकै लोकप्रियता पाएको छ । तर सीमित रेडियाहरुमा नेपाली भाषामा मात्र कृषि कार्यक्रम प्रशारण भएका तथा कार्यक्रममा उपलब्ध गराइएको जानकारी र प्रविधि व्यवहारमा प्रयोग गर्न कृषकहरुमा पर्याप्त रकम नभएको गुनासो रहेको छ ।

अन्य आकर्षणहरू

युनेस्को र खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.) ले पनि कृषि विकासका लागि रेडियो माध्यमको प्रयोग गरेको र त्यसलाई अझै निरन्तरता दिइरहेको पाइन्छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाली राष्ट्रहरुमा स्टारटेजिग एक्टेन्सन क्याम्पीयनद्वारा स्थानीय सञ्चारकर्मीहरुलाई वृहत् मात्रामा सहभागिता गराई आम जनताको सहभागिता बृद्धि गर्न स्थानीय रेडियोका अतिरिक्त लोकमाध्यको पनि प्रयोग गर्न लगाइएको छ ।

युनेस्कोको सहयोगमा भारतको पुनामा कृषि रेडियोको प्रभावकारितालाई लिएर गरेको एक अध्ययन अनुसार कृषि रेडियो नसुन्ने श्रोताको तुलनामा कृषि रेडियो सुन्ने श्रोताले धेरै जानकारी पाएको पाइएको छ । यसैगरी युनेस्काले गरेको अर्को एक अध्ययन अनुसार कृषि रेडियोले ग्रामीण श्रोतामा धेरै सकारात्मक प्रभाब पारेको देखिन्छ । उक्त अध्ययन अनुसार कृषि रेडियो प्रयोगकर्तामा कृषिबारे ज्ञान भएको, स्थानीयताबारे बुझ्ने अवसर प्राप्त गरेको, समुदायका समस्या निराकरण गर्ने कार्यमा योगदान गरेको, कृषकहरुको क्षमतामा अभिवृद्धि गरेको र सामाजिक एकता बढाएको छ ।

पाकिस्तानको पेसावर रेडियो स्टेशनले कृषक समुदायमा कृषिसम्बन्धी चेतनाको विकास गरेको पाइन्छ । त्यहाँ सामान्य किसानले समेत आधुनिक कृषि प्रविधिका बारेमा जान्ने अवसर पाएको देखाएको छ । किसानहरुको शैक्षिक, आर्थिक र कृषिगत अवस्थामा परिवर्तन गर्न सफल भएको पाकिस्तानको अनुभवले देखाउँछ ।

खनाल (सन् २०१५) ले नेपालमा गरेको एक अध्ययन अनुसार ग्रामीण क्षेत्रमा कृृषि कार्यक्रम सुन्ने स्रोतामा कृषिसम्बन्धी आधुनिक ज्ञान भएको र कृषि कार्यक्रमले ग्रामीण अर्थतन्त्र वा जीविकामा महत्वपूर्ण योगदान गरेको निष्कर्ष निकालिएको छ ।

नेपालका धेरै एफ.एम. रेडियोहरुमा कृषि कार्यक्रम छैनन् । केही रेडियोहरुले रेडियो नेटवर्कका कार्यक्रमहरु बजाएका छन् । धेरैजसो स्थानीय रेडियोमा काठमाडौंमा उत्पादित समाचार, कार्यक्रमका अतिरिक्त अत्याधिक गीतसंगीत बज्दछन । आफ्ना मौलिक कार्यकम कम छन् । राष्ट्रिय प्रसारण ऐन,२०४९ मा कृषि र विकासमुलक कार्यक्रमलाई जोड दिनुपर्ने उल्लेख भएपनि यथार्थ फरक छ । हामीकहाँ केही कृषि रेडियोहरु खुलेका छन् तर स्रोतको अभावमा खासै प्रभावकारी हुन सकेका छैनन् ।

अर्थ–व्यवस्थाको ठूलो हिस्सा कृषिले अडेको हाम्रो देशमा कृषि रेडियोहरुको स्थापना र विकासलाई दीर्घकालीन योजना तयार पारी राज्यले अनुदान सहयोग उपलव्ध गराउने परिपाटीको विकास गर्नुपर्दछ । पढेलेखेका युवा समुदायलाई निशुल्क रुपमा कृषिसम्बन्धी आधारभूत तालिम, कृषि सञ्चार र कृषि उद्यम गर्न सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने यवस्था गर्नु आवश्यक छ । अहिले कृषि सूचना सम्प्रेषणमा जोड दिइनुपर्ने आवश्यकता छ । राष्ट्रिय रेडियोमा कृषि कार्यक्रम भएर मात्र पुग्दैन स्थानीय रेडियोहरुमा पनि निरन्तर रुपमा निश्चित समय नियमित कृषि कार्यक्रम सम्प्रेषण गर्न सकिन्छ । यो स्थानीयता र भाषा सुहाउँदो हुनुपर्दछ । कृषि कार्यक्रममा कृषकले हासिल गरेका सफलता, समुदायमा उदाहरणीय वनेका कृषक, उच्च शिक्षा हासिल गरेर कृषिमा देखाएको सफलता, छिटो गरी आयआर्जन गर्न सकिने कृषिवाली तथा पशुपालन, कृषि व्यवसायको महत्व आदिलाई समावेश गरेर कृषि सम्बन्धी युवासमुदायलाई कृषिकर्ममा सरिक बनाउनेतर्फ प्रेरित गर्न सकिन्छ ।

Facebook Comments