परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झापाली युवा भन्छन् : ओलीको राजीनामा माग्नेहरु होसियार

झापा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेहरुलाई खवरदारी गर्दै झापाली युवाहरुले विर्तामोडमा खवरदारी सभा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन नेकपाको स्थायी कमिटीका केही सदस्यहरुले दवाव दिएपछि स्वस्फुर्त रुपमा विर्तामोडको मुक्तिचोकमा भेला भएका युवा विद्यार्थीहरुले पार्टी नेतृत्वलाई खवरदारी गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रेस संगठनका केन्द्रीय सदस्य गणेश पोखरेलले नेपाली जनताले स्थिर सरकारको पक्षमा नेकपालाई मतदान गरेको स्मरण गराउँदै प्रधानमन्त्रीबाट ओलीलाई हटाउने हो भने अर्को आम निर्वाचनसम्म पर्खन आग्रह गर्नुभयो । उहाँले नेकपा एकीकरणपछि महाधिवेशन हुनु अगावै कुनै शक्तिले ओलीलाई पार्टी अध्यक्षबाट हटाउन नसक्ने र जवरजस्ती गरे दुर्घटना निम्तिने चेतावनी दिनुभयो ।

कोणसभामा नेकपाका जिल्ला नेता तथा दलित अधिकारकर्मी टीकाराम मंग्रातीले नेपाली कम्युनिष्ट आन्दोलनको उर्वरभूमि झापा संघर्षले जन्माएको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको विकासको चाहनाको सम्वोधन गरेको बताउँदै भन्नुभयो, ‘नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन पार्टीको महाधिवेशन र आम निर्वाचन पर्खिनु पर्छ ।’ उहाँले कसैले जागिर नपाएको झोंकमा सरकार र पार्टीको नेर्तत्व परिवर्तन नहुने बताउनुभयो ।

दलित अधिकारकर्मी मंग्रातीले गएको आम निर्वाचनमा केपी शर्मा ओली प्रधानमन्त्री हुछन् भनेरै नेपाली जनताले बहुमत दिएको स्मरण गराउँदै नेता ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अर्को आम निर्वाचन गर्नु पर्ने बताउनु भयो । उहाँले अहिले ओलीलाई हटाउन भारतको निर्देशनमा नेपाली प्यादाहरु लागेको बताउनुभयो । कार्यक्रममा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो, अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

Facebook Comments