परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तिनताकाको ग्रामीण स्वास्थ्य र पिचुकान्तेको गाँठो

जीवनका खुड्किला

नवयुवक हुँदाको स्मरण आफैंमा रोमाञ्चक हुन्छ। २०३२ साल पुसदेखि २०३४ दशैंसम्म म मोरंगको लेटाङमा मास्टरी गर्थें। बि.एस्सी. पढेको त्यस्तै २० वर्षे ठिटो। मेरा हरेक फुर्तिमा छात्रवृत्ति पाएर डाक्टर बन्ने सपना झल्कन्थ्यो। उपलव्ध साधन, स्रोत र परिवेशले वास्तविक धरातल टेकाउँदै गर्दा म बिएस्सी शिक्षक भएर त्यहाँ पुगेको थिएँ। शायद उमेर अनुसार अकासिएका चाहना र वास्तविक जीवनबीच तालमेल मिलाउनु पर्ने व्यवहारिक परीक्षामा प्रवेश गरेको विछट्ट क्षण थियो।

एक्लो ज्यान, युवा जोश र जाँगर ग्रामीण परिवेशको विद्यालयको १० बजेदेखि ४ बजेको समय बाहेक मेरो निम्ति फुर्सदको समय थियो। गाँउमा मान्छेहरु खेती किसानीमा व्यस्त रहे पनि बजारमा भने चोक चोकमा क्याराम बोर्ड र चिया पसलमा तास खेल्नेको जमघट हुन्थ्यो। आफु हुर्किएको संस्कार र सामाजिक परिवेशले ती दुबैको जमघटमा म सामेल हुन सक्दिनथें। रुचि अनुसार विद्यालयको समय बाहेक मेरो समय विद्यालय र स्वास्थ्य चौकी सम्बन्धी काममै व्यतित हुन थाल्यो। गाउँलेहरुलाई पनि स्थानीय तहमा भएका सरोकारवाला गाउँ पञ्चायत, प्रहरी चौकी, साझा संस्थाभन्दा बाहेक व्यक्तिहरुमा हेल्थपोष्ट इन्चार्ज र म बढी सहज र घुलमिल हुने ठहरियौं। अधिकार र कर्तव्यको सीमारेखामा स्वास्थ्य र शिक्षामा काम गर्ने हामीमाथि कर्तब्य बलियो बनेर हामीलाई लगारी रहेको थियो।

मोरंग, सुनसरी र झापाको तत्कालीन सामाजिक चेतनाको स्तरमा नाप्दा औसतको हाराहारीमा पर्ने सानो बजार लेटाङ। उर्बर मानिएको लेटाङ छेउका गाउँ कीर्तिमान, कमलपुर र फडानी क्षेत्रमा जग्गा जोड्दै धरान, बिराटनगरतिर पढेका केही युवाहरु स्नातक उपाधी हात पारेपछि स्थायी बसोबास गर्न त्यता बसोवास थाले। उत्साहित युवाहरु वर्षौदेखि सात कक्षासम्म पढाई भइरहेको स्थानीय शान्ति भगवति निमाविमा कक्षा थपको प्रस्ताव लिएर जिल्ला शिक्षा कार्यालय मोरंग बिराटनगर गएछन्। तत्काललाई कक्षा थप र स्थायी रुपमा मा.वि. स्वीकृतिका लागि बाँकी सबै शर्त पूरा भए पनि अनिवार्य विषय गणित र विज्ञान विषय पढाउने शिक्षक नभएर अनुमति रोकिएको रहेछ।

धरानमा हुँदा सङ्गत गरेका मभन्दा अलिक ‘सिनियर’ मित्र प्रसाद भण्डारीजी त्यो अभियानका अगुवा मध्ये हुनुहुँदो रहेछ। उहाँको निरन्तर आग्रहसंगै अपेक्षा र प्राप्तिबीच आफ्नो उमेरजन्य अधीर मनस्थितिमा अहिलेलाई ‘घुम्न चैं जौं न त, पढाउन लेटाङ जाने नजाने कुरा पछि निर्णय गरौंला’ भनेर म उहाँसंगै बाटो लागेँ। दुई–चार दिनको लेटाङ बसाई पश्चात म यहाँ आउने मानसिकतामा पुगेँ।
इटहरीबाट पूर्वजाने सार्वजानिक बस चडेर कानेपोखरी भन्ने ठाउँमा ओर्लेपछि करीब डेढ घण्टा घना जंगलको बाटो उत्तरतर्फ हिंडेर लेटाङ पुगिन्थ्यो। महाभारत श्रृङ्खलाको फेदीमा रहेको लेटाङ मनोहर थियो। पूर्वमा खेरुवा हुँदै मोरंगकै मधुमल्ला बजार जाने बाटो थियो। पश्चिम चिसांग खोला पारी नयाँ आवादी एवं उर्वर फडानी क्षेत्र, दक्षिणतर्फ कमलपुर र कीर्तिमान थिए। लेटाङमा हरेक शनिवार त्यस भेगकै ठूलो साप्ताहिक हाट लाग्थ्यो।

पहाडी गाउँ पञ्चायतहरु सिंहदेवी सोमवारे, राजारानी, भोगटेनी, याङ्गशीला, जाँते अनि छेउछाउ पर्ने तराईका गाउँ केराबारी, डांगी, पानवारी, रमाइलो झोडा र पर धरान, दमकसम्मका व्यापारीहरु शुक्रवार साँझदेखि नै थर्पु कसेर बस्थे। शुक्रवारदेखि आइतवारसम्म लेटाङ बजारको रौनकै बेग्लै हुन्थ्यो। पहाडबाट मौसमी फलफुल सुन्तला, नास्पाती, ओखर वा बांस तथा निगालाका सीपजन्य उपज डोका, नाम्ला, नाङ्ला, डाला विक्री गर्न आएका खासगरी लिम्बू, राई युवकयुवतीहरु चण्डी, धाननाच नाच्दै खेल्दै रात छर्लंगै पार्दथे। साहित्य, संगीतको थोरथार संगतमा हुर्केको म पनि मिल्ने साथीहरुसंग ती मौलिक र रैथानै साँस्कृतिक अवसरमा सहभागी हुने गर्थें। बेलायती सेनाका निवृत्त भू.पु. सैनिकहरु कमलपुर भन्ने ठाउँमा केन्द्रित भएर बसोबास गर्नु हुन्थ्यो। बाटोघाटो, स्कूल, स्वास्थ्य चौकी जस्ता सार्वजानिक चासोको विषयमा उहाँहरु निकै क्रियाशील देखिनुहुन्थ्यो।

लेटाङ भएरै बग्ने चिसाङ खोला नेपालको विद्युत विकासको एक अध्याय हो भन्ने कुराको जानकारी मैले लेटाङ गएर मात्र थाहा पाएको थिएँ। आफु हुर्केको धरान एवं पढेको काठमाडौं र बिराटनगरको परीवेशमा देखिने जातीय भेदभाव, छुवाछुत तुलनात्मक रुपमा लेटाङ र वरिपरि कम देखिनुले ममा नजानिदो पाराले सकारात्मक प्रभाव पर्न थालेको थियो। किसानहरुको पनि औकात अनुसारको क्रियाशीलता प्रष्ट देखिन्थ्यो। ती सबैका बाबजुद स्कूललाई मा.वि. तहमा स्तरोन्नति गर्ने र भर्खरै खुलेको स्वास्थ्य चौकीलाई सबल गराउनेमा भने सबैको जोडबल थियो।

एक्लो ज्यान, युवा जोश र जाँगर ग्रामीण परिवेशको विद्यालयको १० बजेदेखि ४ बजेको समय बाहेक मेरो निम्ति फुर्सदको समय थियो। गाँउमा मान्छेहरु खेती किसानीमा व्यस्त रहे पनि बजारमा भने चोक चोकमा क्याराम बोर्ड र चिया पसलमा तास खेल्नेको जमघट हुन्थ्यो। आफु हुर्किएको संस्कार र सामाजिक परिवेशले ती दुबैको जमघटमा म सामेल हुन सक्दिनथें। रुचि अनुसार विद्यालयको समय बाहेक मेरो समय विद्यालय र स्वास्थ्य चौकी सम्बन्धी काममै व्यतित हुन थाल्यो। गाउँलेहरुलाई पनि स्थानीय तहमा भएका सरोकारवाला गाउँ पञ्चायत, प्रहरी चौकी, साझा संस्थाभन्दा बाहेक व्यक्तिहरुमा हेल्थपोष्ट इन्चार्ज र म बढी सहज र घुलमिल हुने ठहरियौं। अधिकार र कर्तव्यको सीमारेखामा स्वास्थ्य र शिक्षामा काम गर्ने हामीमाथि कर्तब्य बलियो बनेर हामीलाई लगारी रहेको थियो।

म पुष महिनामा लेटाङ टेकेको थिएँ। स्वास्थ्य चौकी त्यही आर्थिक वर्ष अर्थात साउनदेखि सेवा दिन थालेको थियो। सरकारी दरबन्दीमा एकजना स्वास्थ्य कार्यकर्ता हुनुहुन्थ्यो। पदीय हिसाबमा उहाँ सिनियर अहेव हुनुहुन्थ्यो। गाउँलेहरु उहाँलाई डाक्टर’साब भनेर बोलाउँथे। रामविनोद उहाँको नाम तर म भने छोटकरीमा बिनोदजी भन्थेँ। विनोदजी बाहेक गाउँ पञ्चायतको आर्थिक स्रोतबाट बेहोर्ने गरी प्रशासन सहायक र कार्यालय सहयोगी दुईजना थप कर्मचारी हुनुहुन्थ्यो। भौगोलिक क्षेत्रको हिसाबमा लेटाङ आफैंमा ठूलो गाउँ पञ्चायत थियो। तिनताकाको स्वास्थ्य सेवा उपलव्धताको हिसाबमा जाँते, वारंगी, यांगशीला, भोगटेनी, सिंहदेवी, सोमवारे, केराबारी गाउँसम्मका बिमारी आउँथे।

लेटाङ पुरानो व्यापारिक केन्द्र भएकोले स्वास्थ्य चौकी स्थापना पूर्व नै त्यहाँ एकजना बंगाली मुलका स्वास्थ्यकर्मी आफ्नै हिसाबमा नीजि क्लिनिक चलाएर बसेका रहेछन्। पूर्वी नेपालको शिक्षा र स्वास्थ्य सेवा स्थापना र विस्तारमा बंगाली मुलका मान्छेहरुले योगदान दिएको तथ्य मेरो पुस्ता र हामीभन्दा भन्दा अघिल्लो पुस्तालाई जानकारीमा छँदै थियो।

स्वास्थ्य चौकी बिहान आठ बजेदेखि १ बजेसम्म खुल्थ्यो। आकस्मिक विरामी आइपर्दा डाक्टर’साब समयको पर्वाह नगरी काम गर्नुहुन्थ्यो। उहाँका सहयोगी खाना डब्बामा ल्याइदिएर खाने समय निकाल्न कर गर्दथ्ये। उहाँसंगको सङ्गत, कर्तब्यबोध र आफ्नो चाखको विषयले मेरो पनि स्कूल बाहेकको समय स्वास्थ्य चौकी र डाक्टर’साबसंगै बित्न थालेको थियो।
सापेक्षित रुपमा उमेर, दौंतरी, पेशागत भाषाले गर्दा हामी थाहै नपाइ मज्जाले निकट भएछौं।

जनशक्तिको सिमितता, प्रयोगशाला सम्बन्धी आफ्नो पनि केही जानकारी र धरान अस्पतालमा स्वयंसेवकको रुपमा केही समय डाक्टरसंग काम गरेको अनुभवले म लेटाङ स्वास्थ्य चौकीको प्रयोगशाला परीक्षण एवं प्राथमिक उपचार कार्यमा सघाउन थालेँ। विनोदजीप्रति जनसमुदायको विश्वास बढ्दो थियो। गम्भीर अवस्थाका बिरामीका आफन्तहरु उहाँलाई लिन आउँथे, साथीको रुपमा म पनि जान्थें। स्वास्थ्य चौकी र विद्यालयको कार्यतालिकामा प्रभाव नपारिकन हामी खुशी खुशी बिमारीको गम्भीरताको अवस्था हेरी निरिक्षणका लागि घरै जान्थ्यौं। रोग पहिचान वा उपचारमा लामै समय लागी फर्किएर खाना खान नभ्याउने अवस्थामा बिमारीका परीवारले प्रेमपूर्वक दिएको भुटेको वा पोलेको मकै, उसिनेको आलु, दही, मोही वा चिया यस्तै खान्थ्यौ। आर्थिक रुपमा विपन्न बिमारीकोे दवाई पानीको खर्च स्वास्थ्यकर्मी बिनोद आफैं बेहोर्नु हुन्थ्यो।

सरकारी स्वास्थ्य चौकीका डाक्टरको सेवा पाएर हो कि उपचारको विश्वसनियताले हो गाउँलेहरु खासगरी निम्न आर्थिक स्तरका ‘डा. विनोद’को सेवाप्रति आकर्षित हुन थाले। बंगाली डाक्टरको व्यवहार केही दिन यता विनोदजीप्रति डाहले भरिन थालेको थियो मेरा नजरमा। त्यो गाउँले बजारमा उनीसंग दुइवटा हट्टाकट्टा घोडा उनको सवारीमा हरदम तत्पर हुन्थे। सेतो कमीज धोतीमा सवार भएर छालाको औषधी राख्ने व्यागका साथ उनको घोडा कुदाई कुनै हिन्दी फिल्मको नायकभन्दा कम हुदैनथ्यो। अचम्भ लाग्दो कुरा कहिलेकाहीँ औषधी भरेको इन्जेक्सनको सिरीन्ज सुई माथितिर फर्काएर कमिजको माथिल्लो खल्तीमा तयार गरेर घरैबाट लिएर जान्थे। बिमारी गाउँले मध्ये अधिकांशसंग नगदको जोगाड नहुने हुनाले उनी फर्किदाँ कुखुरा, हाँस वा नगदेबाली, फलफूल घोडामा राख्न मिल्ने भएसम्म साथै लिएर आउँथे। कतिपय अवस्थामा उपचार वा औषधी शुल्क बापत ठेकिदिएको मूल्य बराबरको जिन्सी सामान उनको निवासमा आउँथे। बजारमा एउटा कम्पाउण्ड सहितको घर नै उनले बहालमा लिएका थिए।

रोगको सीजनका बेला भने एउटा बिमारी हेरेर फर्किने बित्तिकै थोरै विश्राम लिएर अर्को घोडा लिएर पनि उनी लगत्तै हिंड्ने गर्थे। म पुसमा गएको थिएँ। गर्मीको याम पश्चात् वर्खा लाग्दा नलाग्दै थोरै परिवर्तन देखिन थालेको थियो। गाउँलेहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै गएका थिए। उपचारका माध्यम र विधी एवं दुवै स्वास्थ्यकर्मीको व्यवहार उनीहरुले दाज्न शुरु गरेको कुरा उनीहरुका व्यवहारबाटै अभिव्यक्त हुन थालेको थियो।

‘डा. विनोद’ आफूसंग भएको ज्ञान बिमारीको उपचारमा विवेकपूर्ण ढंगले प्रयोग गर्नुहुन्थ्यो। साथै अरुको कुरा काट्ने उहाँको बानी थिएन। केही दिन यता भने त्यो ‘बंगाली डाक्टर’लाई लक्षित गरी ‘क्वाक डाक्टर’ भन्ने थेगो प्रयोग गर्न थाल्नुभएको थियो।

करीब एक वर्षको लेटाङ बसाई र उहाँको संगतबाट मैले केही प्रारम्भिक स्वास्थ्य सेवा सम्बन्धी अवधारणा बुझ्ने मौका पाएँ। त्यस बेलाको सामाजिक परिवेश शिक्षा र चेतना स्तरले पछौटे थियो नै। आम मान्छेले विश्वास गरिएका ती बंगाली डाक्टर ‘बच्चालाई पखाला लागेमा पानी नदिनु’ भन्ने गर्दा रहेछन्। ‘डा. बिनोद’ भने सामान्य अवस्थाको मान्छेमा पनि पानीको मात्रा शरीरलाई नपुगेमा गर्मी याममा टाउको दुख्ने हुन्छ, पानी सक्दो खाइ रहनुपर्छ भनी सिकाउनु हुन्थ्यो। खासगरी महिलाहरुले बेहोर्ने मासिकधर्म र सुत्केरी अवस्थामा हुने अधिक रक्तश्रावमा ‘बंगाली डाक्टर’ले उचित औषधी नदिएको उहाँको ठम्याइ थियो। गाउँलेहरुको भनाई अनुसार ‘बंगाली डाक्टर’ हरेक औषधीको उपचारमा इन्जेक्सन दिएर गर्थे। आम मानिसको दिमागमा उनले भरिदिएको ज्ञान वा चेतना जे भनौं प्रभावकारी उपचार विधि भनेको इन्जेक्सन हो भन्ने रहेछ, न कि त्यहाँ प्रयोग हुने औषधीको प्रकार र त्यसको मात्रा एवं प्रभावकारीता।

साँझ बिहान उपचारको सिलसिलामा हामी गाउँ जादाँ उहाँले शरीर जाँच गर्नुहुन्थ्यो। बालकदेखि बृद्धबृद्धासम्म अधिकांश बिमारीका पाखुरामा एकप्रकारका गिर्खा भेटिन्थे। अघिल्लो पुस्ताका मान्छेमा बिफरको खोपको दाग नारी वा पाखुरामा देखिनु स्वाभाविक लाग्थ्यो। तर त्यो गाँठो भिन्न लाग्थ्यो। पाखुरामा निकै कडा लाग्ने गिर्खा। जाँचको दौरानमा त्यहाँ ‘डा. बिनोद’ले थिच्दा बच्चाहरु भने अइया भन्दै कोही त हुरुक्कै हुन्थे। पाकाहरु पनि त्यो गिर्खा दुख्छ भनी उहाँलाई सुनाउँथे। गाउँलेहरु त्यो गाँठोलाई ‘पिचुकान्तेको गाँठो’ भन्थे। ती बंगाली डाक्टरको नाम पिचुकान्त रहेको कुरा मैले भने त्यतिखेर मात्र चाल पाएँ। उनले सुइ लगाइदिएका धेरैजसोको पाखुरामा त्यो गाँठो रहेकोले गाउँलेहरुले बोलीचालीको भाषामा नामाकरण गरेका रहेछन्। ‘डा. बिनोद’को व्याख्या अनुसार इन्केक्सनको दवाई प्रवाह नभएर रक्तनली, छालाभित्र कतै बनेको हुन्छ त्यस्तो गाँठो। संस्कार अनुसार सदगत गर्दा पुर्ने चलन भएका कतिपय सम्प्रदायमा लासमा पनि त्यस्तो गाँठो हामीले देखेका थियौं।

स्वास्थ्य सम्बन्धी चेतना बिस्तार र उपचारको प्रभावकारीताले ‘डा. बिनोद’प्रतिको विश्वसनीयता बढ्दो थियो भने बंगाली डाक्टरप्रतिको विश्वास ओरालो लाग्दो थियो। उपचारको नाममा सोझा साझा गाउँलेहरुलाई आर्थिक रुपमा शोषण गरेको कुरा गाउँलेहरु बाहिर ल्याउँदै थिए। यै बेला उनको बारेमा प्राप्त नयाँ जानकारीले अर्कै माहोल सिर्जना ग¥यो।

तिनताका स्वास्थ्य सेवामा आवश्यक जनशक्तिको अभाव थियो नै। सरकारी अस्पताल भएका धरान, बिराटनगर जस्ता शहर एवं नजिकका देहाती बजारमा समेत छिमेकी मुलुक भारतको बिहार तथा बंगाल प्रान्तबाट स्वास्थ्य सेवा सम्बन्धी अभ्यास गर्ने अनुमति पत्र (Licensed Medical Practicener, LMP) लिएका स्वास्थ्यकर्मी निजी क्लिनिक चलाएर बस्थे। ती बंगाली डाक्टरसंग त्यो अनुमतिपत्र पनि रहेनछ। बिराटनगर नजिक कतै देहातमा क्लिनिक चलाउने एकजना LMP आफन्तकाबाट म्याद सकिएका इन्जेक्सन लिएर उनी आउने गर्दा रहेछन्।

बालकदेखि बृद्धबृद्धासम्म अधिकांश बिमारीका पाखुरामा एकप्रकारका गिर्खा भेटिन्थे। अघिल्लो पुस्ताका मान्छेमा बिफरको खोपको दाग नारी वा पाखुरामा देखिनु स्वाभाविक लाग्थ्यो। तर त्यो गाँठो भिन्न लाग्थ्यो। पाखुरामा निकै कडा लाग्ने गिर्खा। जाँचको दौरानमा त्यहाँ ‘डा. बिनोद’ले थिच्दा बच्चाहरु भने अइया भन्दै कोही त हुरुक्कै हुन्थे। पाकाहरु पनि त्यो गिर्खा दुख्छ भनी उहाँलाई सुनाउँथे। गाउँलेहरु त्यो गाँठोलाई ‘पिचुकान्तेको गाँठो’ भन्थे। ती बंगाली डाक्टरको नाम पिचुकान्त रहेको कुरा मैले भने त्यतिखेर मात्र चाल पाएँ। उनले सुइ लगाइदिएका धेरैजसोको पाखुरामा त्यो गाँठो रहेकोले गाउँलेहरुले बोलीचालीको भाषामा नामाकरण गरेका रहेछन्।

एक ग्राम धुलो भरिएको रबरको बिर्कोवाला सीसीमा बहुउपयोगी औषधी पेनिसिलिनको चल्ती थियो त्यस बेला। पातलो सीसाकै २ वा ५ मिलिलिटरको भाइलमा रहेको ‘डिस्टिल वाटर’ मिसाएर बनाएको घोलको सुई दिइन्थ्यो पाखुरा वा तिघ्रामा। ब्यापारिक नाम धेरैथरी भएपनि प्रमुख रसायन पेनिसिलिनको चलन थियो। सुइ निर्मलीकरण स्पिरिटले गरिन्थ्यो।

उनी भने एक त म्याद सकिएको दवाई, निर्मलिकरणमा पनि उचित ध्यान नदिने, डिस्टिल वाटरको पनि निश्चितता नाई, अझ कहिलेकाहीँ त घरैमा तयार गरेको घोल औषधी सिरिन्जमा भरेर लैजादा त अधिकांशको पाखुरामा साइड इफेक्ट वा संक्रमण हुने नै भयो।

सोझा गाउँलेले कुरा बुझ्दै गएपछि रिसको पारो बढ्नु स्वाभाविक थियो। एक दिन बिहान त ‘पिचुुकान्ते भाग्यो रे’ भन्ने पो सुनियो।
पहाडे मूलका तागाधारी र राई बहुल समाज थियो लेटाङमा त्यसबेला। महाराजगञ्ज क्याम्पसमा अहेव कोर्सको शुरुवाती वर्षहरुमा उपाधी प्राप्त बिनोदजी रौतहटबासी राजपुत मूलको, लेटाङमा असाध्यै घुलमिल भएर बस्नुभएको थियो। २०३४ सालको दशैंपछि मैले स्थायी रुपमा लेटाङ छोडें, विश्वविद्यालयमा स्नातकोत्तर पढ्न।

त्यस यता पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा सम्प्रदाय र भूगोलका नाममा धेरैं चर्चा सुन्न पाएको छु। तर ती दिनमा हामी विविध जातीय मूल र पेशाका मान्छेबीचको आपसी सम्मिलन वा अन्तरघुलन गज्जबको थियो। हिजोआज पनि म त्यो आत्मीयता र अन्तरघुलनको कारण के थियो भनी बारम्बार गम्ने गर्दछु। त्यसले मलाई साच्चै रोमाञ्चित पनि बनाउँछ।

Facebook Comments