परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मुलुकमै पहिलोपटक जनस्तरबाट झापामा कोरोना परीक्षण पीसीआर ल्याब स्थापनाको तयारी

झापा । कनकाई नगरपालिका स्थित सुरुङ्गामा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब छिटै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

फोटो: पूर्वाञ्चलडेल्ली डट कम

एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाका रुपमा ल्याब सञ्चालनका ९० लाखभन्दा बढी रकम उठी सकेको तर अझै थप करिव ३० लाख रुपिया आवश्यक पर्ने अभियानले जनाएको छ । आवश्यक रकम जुटाइ सकेपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिने तयारी रहेको पनि एकका लागि एक अभियानले बताएको छ ।

एकका लागि एक अभियानका साझेदार संस्थाहरुबीचको हालै झापामा सम्पन्न बैठकले आगामी १५ दिन भित्रै ल्याब सञ्चालन हुने गरी प्रदेश सरकारलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरे समेत सम्लग्न बैठकको निर्णय अनुसार कनकाई नगरिपालिका सुरुङ्गा स्थित कोटीहोममा रहेको समर्पण भवनमा सरकारी मापदण्ड अनुसारको ल्याब स्थापना गर्ने तयारी रहेको छ । मेची अञ्चल अस्पताल अन्तरगत रहने गरी ल्याबका लागि अनुमति, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले लिने सहमति भएको पनि अभियानले जनाएको छ ।

सरकारी मापदण्ड अनुसार ल्याब स्थापनाका लागि अन्नपूर्ण न्यूरो हस्पिटल अन्नपूर्ण रिसर्च सेन्टर, काठमाडौंबाट आएका डा. दिनेश थापा तथा अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीको टिमले शुक्रवारबाटै काम शुरु गरेको छ । केही दिन पहिलेदेखि सहारा नेपालको अगुवाई तथा अढाई दर्जन संघ–संस्थाको साझेदारीमा एकका लागि एक अभियान शुरु भएको हो । अभियानको मुख्य साझेदारमध्येको जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र सहसचिव भवानी दंगालले सहकारी अभियानकातर्फबाट एक साताभित्र २५ लाख रुपैयाँ अभियानलाई प्रदान गर्ने बताउनु भयो ।

यसैगरी रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले दुई लाख पाँच हजार एक सय एघार र पुनरनिर्माण नेपाल दुई लाख प्रदान गरेको कुरा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओलीले बताउनु भयो ।

Facebook Comments