परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जननेता मदन भण्डारीको गुणगान तर जबजको अन्त्येष्टी !

सन्दर्भ : जननेता मदन जयन्ती

जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई अङ्गिकार गर्दै अघि बढेको कम्युनिष्ट पार्टी अहिले नेपालको सबैभन्दा ठूलो पार्टी बन्न पुगेको छ । दुरदर्शी जननेता मदन भण्डारीकै कारण तत्कालीन अवस्थामा नेकपा माक्र्सवादी र नेकपा मालेको एकीकरण भएको थियो । त्यस बखत माले पार्टीलेभन्दा पनि जबजले विभाजित वामहरुलाई एक ठाउमा ल्याउने काम ग¥यो ।

फोटो:चन्द्रशेखर कार्की

चुनावी प्रक्रियामा समावेश हुनुपर्छ, बहुदलीय ब्यवस्था स्थापना गर्नुपर्छ, राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा विचार मिल्ने पार्टी, समूह र ब्यक्तिसंग मिलेर मोर्चा बनाउँदै प्रजातन्त्र स्थापनाका लागि संघर्ष गर्नुपर्छ भन्ने धारणा राख्दै २००६ सालमा जन्मिएको नेकपाको विचार समेत समेटेर मदन भण्डारीले जबज प्रतिपादन गर्नु भएको बुझ्न सकिन्छ । २०१५ सालको चुनावमा कम्युनिष्ट पार्टीले भाग लिनु, २०४६ सालमा नेपाली काँग्रेससंग मिलेर आन्दोलनको नेतृत्व गर्नु वामहरुको बहुदलीय सोचको उपज थियो ।

जननेता मदन भण्डारीले ऐतिहासिक घटना क्रमहरुलाई केलाउँदै, भविष्यलाई नियाल्दै र वर्तमानलाई उपयोग गर्दै अगाडि बढ्न जबज नाम गरेको बाटो बनाई दिनु भएको हो । तत्कालीन अवस्थामा विश्व कम्युनिष्ट आन्दोलनले एक पछि अर्को गर्दै चोट माथि चोट भोग्दै गरेको अवस्थाको विश्लेषण पछि जबज आएको हो । जबसम्म कम्युनिष्ट पार्टीहरुले चुनावी प्रक्रियामा भाग लिने छन्, जबसम्म वामहरुले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्नेछन्, जबसम्म कम्युनिष्ट पार्टीहरुले प्रजातान्त्रिक पद्धतिबाटै स्वतन्त्रता, जनजीविका, सुशासन, कानूनी राज्य र सम्बृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वास लिने छन् तबसम्म नेपाली कम्युनिष्टहरुको जबज नै एक मात्र मूलबाटो रहने देखिन्छ ।

अहिले कम्युष्टिहरु नेपालमा बहुमतको सरकार चलाई रहेका छन् । यो जबजकै देन हो भन्नलाई लकपकाउनु पर्दैन । चुनावी प्रक्रियामा भाग लिने, चुनाव जित्ने, जनताको काम गर्ने, राष्ट्रलाई समुन्नत बनाउने, कानूनी राज्य स्थापना गर्ने भनेको जबजकै निर्देशन हो । जब २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी पार्टीको ‘एकता’ भयो तब जबज मा बसेर जबजकै धज्जी उडाउने काम सुरु भयो भन्न सकिन्छ । अहिले नेकपा भनिने दल भित्रमा कतिपय नेताहरु जनताको बहुदलीय जनवादको नामोनिसाना मेटाउन ‘समाजवाद उन्मुख जनताको जनवाद’ भन्ने जनै भिरेर बसेका छन् । बडो अमिल्दा विषयहरु फेरि देखा पर्न थालेका छन् ।

आफूलाई एसियाकै तेस्रो ठूलो पार्टी भएको घमण्ड गर्ने नेकपा सैद्धान्तिक रुपले खोक्रो, भावनात्मक रुपले एक हुन नसकेको र एकताको कसीमा कतै पनि ‘फिट’ नहुने ब्यक्तिहरुको साप्ताहिक हटिया वा राँके बजारमा लाग्ने केही घण्टाको भिड जस्तो देखिएको छ । लजाउनु पर्दैन प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत जबजको बचाउका लागि जनताले सूर्य चिन्हमा मतदान गरेका हुन् । यदि वर्तमान नेकपा नेताहरुले जबजलाई आर्यघाट तर्फ धकेल्ने र सूर्य चिन्हलाई लकेटमा झुण्ड्याउने मात्र काम गर्न थाले भने बुझे हुन्छ नेपालको कम्युनिष्ट आन्दोलन विसर्जन हुँदैछ ।

बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले निकै अगाडि नै लेख्नु भएको थियो – “नेकपाका एकथरी नेता–कार्यकर्ता जबज (जनताको बहुदलीय जनवाद) जोगाउन नसकिने चिन्ताले पिरोलिएका छन् भने अर्काथरीमा ‘जबज’ ले निरन्तरता पाउला कि भन्ने चिन्ता देखिन्छ । ‘जबज’ को रक्षा गर्न नसक्दा एमालेको इतिहास मेटिने र ‘जबज’ नमेटिँदा क्रान्तिका नाममा हजारौं नागरिकको बध गर्नुको औचित्य पुष्टि गर्न नसकिने विरोधाभाषपूर्ण स्थिति त्यहाँ पैदा भएको छ। ‘जबज’ रहने या नरहने प्रश्न माओवादी एमालेमा विलय हुने या एमालेको माओवादीकरण हुने भन्ने प्रश्नसँग पनि अन्तरसम्बन्धित छ र, ‘जबज’ परित्यक्त हुने वा त्यसले निरन्तरता पाउने कुराले नेपालको राजनीतिक दिशा निर्धारण गर्ने अवस्था छ ।”

पत्रकार त्रिपाठीका सबै कुरामा सहमत हुन नसके पनि उहाँले केही कुरा गम्भीररुपमा उठाउनु भएको छ । अहिले पनि त्रिपाठीको बिचार नेकपाको हकमा सान्दर्भिक नै छ । यो पंक्तिकारले यहि विषयमा एक वर्ष अघि एउटा लेख लेखेको थियो । त्यस लेख माथि बाम विश्लेषक बुद्धिजिवी त्रिलोचन मैनालीले गर्नु भएको छोटो टिप्पणी यहाँ राख्न सान्दर्भिक नै ठाने । उहाँ लेख्नु हुन्छ – एउटै सिद्धान्त लक्ष्य र उद्देश्य भएको ब्यक्तिहरूको समूह नै पार्टी हो । तर नेकपा भित्रका समूह गुटहरू देखाउनका लागि एउटै सिद्धान्तको जप गरे पनि उद्देश्य अलग अलग छ । अझ माओवादी र एमाले त जन्मजात विरोधी हुन । अलग अलग स्वार्थ छ । स्वार्थ पूरा हुने लक्षण देखिएसम्म बाह्य एकता देखिन्छ नै । बहसको खाँचो नै छैन ।

वास्तवमा मैनालीको टिप्पणी नेकपाका हकमा अहिले पनि उत्तिकै सान्दर्भिक छ । एमाले र माओवादी बिचमा एउटै सिद्धान्त, लक्ष र उद्देश्य छँदै थिएन । कहाँ जबजको छरितो, सहज, प्रजातान्त्रिक पद्धति अङ्गिकार गरेर समुन्द्र जस्तो अघि बढेको एमाले कहाँ कहिले माओवाद, कहिले नौलो जनवाद, कहिले प्रचण्ड पथ, कहिले २१ औ सताब्दिको नयाँ जनवाद बोकेर खहरे जस्तो उर्लिएको मओवादी । यो दुईको एकता नै कम्युनिष्ट आन्दोलनलाई हाँस्यास्पद रुपमा प्रस्तुत गर्ने उपक्रम मात्र हो भनेर दुनियाँले बुझ्न थालेका छन् ।

आज तत्कालीन नेकपा (एमाले) का महासचिव तथा जबजका प्रणेता मदन मण्डारीको जन्म जयन्ती हो । यस दिन नेपाली जनताले विभिन्न तरिकाले मदन भण्डारी र जबजलाई सम्झना गरिरहेका छन् ।

यसै सन्दर्भमा नेकपाका नेता तथा ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल भन्नुहुन्छ – २१ औं शताब्दीको आरम्भमा बीबीसी नेपाली सेवाले गरेको अध्ययनका आधारमा नेपालको सय वर्षे राजनीतिक इतिहासमा सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व ‘मदन भण्डारी’ रहनु भयो । छोटो समयमा जुन उचाइ उहाँले हासिल गर्नुभयो, त्यो उचाइ विरलै व्यक्तिले प्राप्त गर्न सक्छन् । आज नेपालको राजनीति मदन भण्डारीका सोचबाट निर्देशित भइरहेको छ । शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको बाटोबाट कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्न सकिन्छ भन्ने उहाँको सोच थियो ।

पुँजवादी बर्जुवा शक्तिलाई प्रतिस्पर्धाबाटै पराजित गरेर नेतृत्व हासिल गर्न सकिन्छ भन्ने जुन आत्मविश्वासको मान्यता उहाँले बोक्नुभयो, २१ औं शताब्दीको कम्युनिष्ट पार्टीलाई कस्तो बनाउने भन्ने कुरालाई नेपालको कम्युष्टि आन्दोलनले प्रमाणित गरेको म ठान्छु । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) यी दुई पार्टीको एकता पछाडि भएको निर्वाचनबाट झण्डै दुईतिहाइ मत ल्याउने जग नै मदन भण्डारीको वैचारिक मान्यता थियो । त्यो वैचारिक मान्यता स्थापित नभएको भए सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न सम्भव हुँदैनथ्यो ।

‘जबज’ ले धेरै कुराहरु समेटेको छ । कसैले स्वीकार गरे पनि नगरे पनि नेपाली जनताले यही ‘जबज’ लाई मानेर कम्युनिष्टहरुलाई भोट दिएका हुन् । यदि ‘जबज’ को अन्त्येष्टी गरियो भने पूर्व एमालेका थुप्रै नेता कार्यकर्ता निष्कृय रहने अवस्था आउन सक्छ । साथै विपक्षीहरुले नेकपा माथि बहुदली व्यवस्था अस्वीकार गरेको आरोप लगाउने छन् र संसदीय निर्वाचनमा मतदाताले विकल्पको खोजी गर्न सक्ने छन् । यसतर्फ नेतृत्व पंक्तिले गम्भिरतापूर्वक सोच्नै पर्छ ।

नेता पोखरेल भन्नुहुन्छ– ‘अहिलेको नेकपा एकता र झण्डै दुई तिहाइ मत ल्याउने जग नै मदन भण्डारीको वैचाकिर मान्यता थियो ।’ तर मदन भण्डारीको जबजलाई नेकपाले अहिले ‘काम लाग्यो भाँडो, आफल तेरो ठाँडो’ बनाई सकेको तर्फ भने नेताहरुको कुनै चासो देखिदैन । ‘समाजवाद उन्मुख जनताको जनवाद’ भन्ने कसको झतौरो भिरेर हिड्दै हुनुहुन्छ । नेताहरुले अब सोच्ने हो कि !

चीनमा माओले नौलो जनवादको वकालत गरेपछि विश्वका कम्युनिष्टहरुले त्यसलाई पछ्याउने प्रयास गरे । तर पार लागेन । जब पार नलाग्ने अवस्था देखियो त्यसपछि नेपालका जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नु भएको हो । सोझै भन्ने हो भने कम्युनिष्टहरुले बहुदलीय ब्यवस्थालाई स्वीकार गर्दै संसदीय निर्वाचनमा भाग लिने हो भने ‘जबज’ नै उत्तम बाटो हो । सपनामा साम्यवादमा पदार्पण गरेको देखिने कालखण्ड समाप्त भई सकेको छ । यदि कसैले नेपालमा एक दलीय शासन व्यवस्थाको आगमन हुने कल्पना गर्छ भने त्यो पनि उच्चस्तरको मानसिक तनावमा गरिने कल्पना मात्र भन्न सकिन्छ ।

‘जबज’ ले धेरै कुराहरु समेटेको छ । कसैले स्वीकार गरे पनि नगरे पनि नेपाली जनताले यही ‘जबज’ लाई मानेर कम्युनिष्टहरुलाई भोट दिएका हुन् । यदि ‘जबज’ को अन्त्येष्टी गरियो भने पूर्व एमालेका थुप्रै नेता कार्यकर्ता निष्कृय रहने अवस्था आउन सक्छ । साथै विपक्षीहरुले नेकपा माथि बहुदली व्यवस्था अस्वीकार गरेको आरोप लगाउने छन् र संसदीय निर्वाचनमा मतदाताले विकल्पको खोजी गर्न सक्ने छन् । यसतर्फ नेतृत्व पंक्तिले गम्भिरतापूर्वक सोच्नै पर्छ ।

Facebook Comments