परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सामुदायिक क्याम्पस सुधारको आवश्यकता र उपाय

समुदायद्धारा समुदायकै लागि सञ्चालित समुदायको स्वामित्वमा रहेकोे उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई सामुदायिक क्याम्पस भनिन्छ । यस्तो शिक्षण संस्थाबाट विशेषगरी समुदायका कमजोर आय स्तर भएका सर्वसाधारणका छोरीछोरीले सस्तोमा गुणस्तरीय शिक्षा ग्रहण गर्न पाउँछन् ।

राजधानीबाट टाढा भएपनि मोफसलमा सञ्चालित कतिपय सामुदायिक क्याम्पसहरु विश्वविद्यालय अनुदान आयोगको गुणस्तर मापदण्डमा क्युएए प्राप्त वा क श्रेणीका अब्बल छन् । जो हरेक कोणबाट नमूना छ भने कतिपय सामुदायिक क्याम्पसहरु जेनतेन चलेका र कतिपय धान्न नसकिने वा बन्द हुने अवस्थामा छन् । कारण राजनीतिक प्रभाव, आर्थिक दुराबस्था, फितलो व्यवस्थापन, पुराना शैक्षिक कार्यक्रम, समुदायको सहभागिता न्यून, भौतिक पूर्वाधारको कमी, प्राज्ञिक संस्कारमा कमी लगायतका प्रमुख समस्याहरु रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र अग्रणी शिक्षण संस्था हो जसका ६० वटा आंगिक क्याम्पस, दुईवटा प्रतिष्ठान र एक हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस छन्। त्यसो त त्रिभुवन विश्वविद्यालयमा ४ लाख १८ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दछन् । नेपालमा चार सय ७० को संख्यामा सामुदायिक क्याम्पसहरु छन्। ठूलो संख्यामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस भए पनि तिनीहरुको छुट्टै आफ्नो विश्वविद्यालय छैन् ।

राजधानीबाट टाढा भएपनि मोफसलमा सञ्चालित कतिपय सामुदायिक क्याम्पसहरु विश्वविद्यालय अनुदान आयोगको गुणस्तर मापदण्डमा क्युएए प्राप्त वा क श्रेणीका अब्बल छन् । जो हरेक कोणबाट नमूना छ भने कतिपय सामुदायिक क्याम्पसहरु जेनतेन चलेका र कतिपय धान्न नसकिने वा बन्द हुने अवस्थामा छन् । कारण राजनीतिक प्रभाव, आर्थिक दुराबस्था, फितलो व्यवस्थापन, पुराना शैक्षिक कार्यक्रम, समुदायको सहभागिता न्यून, भौतिक पूर्वाधारको कमी, प्राज्ञिक संस्कारमा कमी लगायतका प्रमुख समस्याहरु रहेका छन् ।

यो लेख नेपालमा सञ्चालित तिनै सामुदायिक क्याम्पसहरुलाई कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रित छ ।

राजनीतिक दबदबावाट मुक्त पार्ने

राजनीतिक चिन्तन सन्ननिकट र दलगत राजनीतिक व्यक्तिहरुको संलग्नतामा नेपालका अधिकांश सामुदायिक क्याम्पसहरुको स्वामित्व छ । तर सामुदायिक क्याम्पसको सफलताका लागि समुदायका सबै तह, तप्का र वर्गका सदस्यहरुलाई समावेशी अवधारणा अनुसार प्रतिनिधित्व गर्ने खालको व्यवस्थापन हुनुपर्दछ । शिक्षक, प्राध्यापक र कर्मचारी नियुक्ति राजनीतिक आग्रह र पूर्वाग्रहबाट हुनुहुँदैन । त्यसैले राजनीतिक आस्थाबाट भन्दा पनि प्रतिस्पर्धाका आधारमा दक्ष, योग्य शिक्षक प्राध्यापक र कर्मचारी नियुक्ति गरी सामुदायिक क्याम्पसलाई शैक्षिक उन्नयनको पवित्र थलो बनाउनु पर्दछ ।

समयको माग अनुसारका विषयहरुमा सम्बन्धन

अहिलेसम्म धेरै जसो सामुदायिक क्याम्पसहरुले पुरानै खालका विषयहरु अध्यापन गराई रहेका छन् । त्यसैले कम्युटर विज्ञान, सूचना प्रविधि, वातावरणीय विज्ञान, संगीत, कला, व्यवस्थापन जस्तै होटल म्यानेजमेन्ट, हस्पिटालिटी मेनेजमेन्ट कानुन, इन्जिनियरीड, मिडिया स्टडिज, मनोविज्ञान, अभिनय, सोसल वर्क, खेलकूदसँग सम्बन्धित वियषहरुलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गर्ने परिपाटी शुरु गर्नु पर्दछ । कतिपय प्राविधिक विषयहरु अध्यापन गर्न जनशक्ति नपाइने र खर्चिलो भएकाले सामुदायिक क्याम्पसहरुले पुरानै खालका विषयहरु अध्यापन बाध्य हुनु परेको हो ।

पर्याप्त भौतिक पूर्वाधार

पूर्वाधारमा पछि परेको सामुदायिक क्याम्पसले भौतिक संरचनाको विकास र विस्तार गर्नुपर्दछ । जस्तै सफा कक्षा कोठा, पर्याप्त शैक्षिणिक सामग्री, सेतापाटी, प्रोजेक्टर, कम्प्यटर, इन्टरनेट सेवा, सफा र स्वच्छ खानेपानी, पर्याप्त शौचालय, चमेना गृह आदिको व्यवस्था गर्न सकिन्छ, । यसैगरी राम्रो पूर्वाधारयुक्त भवनमा पुस्तकालय, विद्युतीय लाइबे्ररी, वाचनालय, विषयगत प्रयोगशालाको आवश्यकता हुन्छ ।

बैज्ञानिक परीक्षा प्रणाली

एक शैक्षिक सत्रमा कम्तीमा पनि तीन वटा त्रैमासिक परीक्षा लिने र अन्तिम परीक्षमा सोधिने खालको प्रश्नको ढाँचासँग मिल्ने प्रश्नहरु विद्यार्थीहरुलाई अभ्यास गर्न लगाउने गर्नाले विद्यार्थीहरु आफूले हासिल गरेका ज्ञानहरुबाट खारिने मौका पाउँछन् ।
खेलकूल तथा अतिरिक्त क्रियाकलापहरुको व्यबस्था

क्याम्पसको पूर्वाधार हेरी भलिवल, ब्याटमिन्टन, चेश, क्यारेम, टिटी लगायतका खेलकूलसामग्रीको ब्यवस्था गरी विद्यार्थीहरुलाई खेल गतिविधिमा संलग्न गराउन सकिन्छ । यसैगरी कविता, निवन्ध, बक्तृत्व कला, कला प्रदशर्नी, हाजिरीजवाफ, स्पेलिङ कनटेक्सट, नाटक प्रदर्शनी, फोटो प्रदर्शनी आदिको आयोजना र व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

स्वास्थ्य सेवा

समयसमयमा विद्यार्थी तथा शिक्षकहरु बिरामी पर्न सक्छन् । यसैले विद्यार्थीहरु तथा शिक्षकहरुको स्वास्थ्य जाँचका लागि कम्तीमा एक जना स्टाफ नर्स र आवश्यकता अनुसार चिकित्सकहरुको भ्रमण व्यवस्था मिलाइ स्वास्थ्य जाँचको व्यवस्था गर्न सकिन्छ ।
जर्नल र स्मारिका प्रकाशन

विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको विकास र क्याम्पसको शैँिक्षक गतिविधि समेटी त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा स्मारिका प्रकाशन गर्न सकिन्छ । यसैगरी प्राज्ञिक उन्नयनका लागि वार्षिक रुपमा शैक्षिक जर्नल प्रकाशन गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

शिक्षक प्राध्यापक एवं कर्मचारीको सेवा सुविधा

क्याम्पसमा अध्यापनरत शिक्षक, प्राध्यापक, कर्मचारीको तहगत विभाजन, भर्ना, पदोन्नति प्रणालीको ब्यवस्था गर्न सकिन्छ । यसका लागि अवकाश कोष, कल्याणकोष, योग्यता, क्षमता र अनुभव पुगेका शिक्षक तथा कर्मचारीलाई पदोन्नतिको व्यवस्था गरी उनीहरुलाई कामप्रति अभिप्रेरित, प्रोत्साहित र समर्पित गर्नुपर्दछ । त्यसका लागि राम्रा काम गरेका शिक्षक, कर्मचारीलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्न सकिन्छ । पुरस्कार क्याम्पसको आर्थिक अवस्था बमोजिम हुन सक्छ ।

अन्य आकर्षणहरू

सलह, कोराना र श्रमजीवी पत्रकार

स्रोतको ब्यवस्था

सामुदायिक क्याम्पसहरुले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् तर त्यसमा कतिपय अभिभावकहरुको विश्वास छैन्। त्यसैले न्यूनतम शुल्कमा अहिलको बजार र अवस्था हेरी शुल्क समायोजन गर्नुपर्ने जरुरत छ ।

सामुदायिक क्याम्पसहरुले विद्यार्थीहरुबाट उठ्ने शुल्कमा मात्र भर नपरी दाता, दुतावास, सहयोगी हातहरु, नगरपालिका, गाउपालिकाहरुसँग समन्वय र सहयोग लिनुपर्दछ । यसैगरी सामुदायिक क्याम्पसहरुले विश्वविद्यालय अनुदान आयोगका विभिन्न परियोजनाहरु पाउनका लागि पहल र गुणस्तर सुधार गर्नुपर्दछ ।

शैक्षिक क्यालेण्डर निर्माण र सो को कार्यान्वयन

एक शैक्षिक क्षेत्रमा कस्ता खालका शैक्षिक कार्यक्रम र क्रियाकलाप र गतिविधि सञ्चालन जस्तै कुन तहका भर्ना, परीक्षा, अध्यापन गर्ने हो सो बारे क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

दीर्घकालीन रणनीति र योजना निर्माण

विश्वविद्यालय अनुदान आयोगले समेत क्यु एए का लागि अनिवार्य क्राइटेरिया बनाएको छ । क्यु एए पाउनका लागि समेत सामुदायिक क्याम्पसले माथिका कुराहरु पनि पुरा गरेको हुनुपर्दछ ।

सामाजिक जिम्मेवारी बोध गर्ने

समुदायबाट माया र सद्भाव पाउन क्याम्पसले शिक्षकहरुको समन्वयमा विद्यार्थीहरुलाई सरसफाई अभियान, रक्तदान, सामुदायिक स्वास्थ्य, ट्राफिक चेतना, सुरक्षा, नागरिक अधिकार लगायतका सामाजिक अभियानहरु र चेतना बढाउने कार्यहरुमा सरिक वनाइनुपर्दछ जसबाट समुदायिक सम्बन्ध राम्रो हुन जान्छ ।

जनसम्पर्क, प्रचार र आन्तरिक सूचना प्रणालीको व्यवस्था

जनसम्पर्क आन्तरिक र बाह्य गरी दुई किसिमको हुन्छ । आन्तरिक सम्र्पकका लागि क्याम्पसको शैक्षिक योजनालाई लिएर बेला बेलामा बैठक, अभिमुखीकरण तालिम, अनौपचारिक भेला आदिको आयोजना गर्न सकिन्छ । सामाजिक जनजीवनका प्रभावशाली र अगुवा व्यक्तिहरुसंग सम्र्पक कायम गर्न जनसम्र्पकका विभिन्न साधनहरु प्रयोग गर्नुपर्ने हुन्छ । विश्वविद्यालयका निकायहरुसँग समन्वय र सम्बन्ध विस्तार गर्नुपर्दछ । संस्थागत विज्ञापन, आमसञ्चारका माध्ययमहरुवाट परिसंवाद, विज्ञापन, पत्रकार सम्मेलन, अन्तर्कि्रया, छलफल, कुनै खेल तथा सांस्कृतिक कार्यक्रमहरुको प्रयोजक, सहप्रायोजक बनेर पनि क्याम्पसको प्रचार गर्न सकिन्छ । क्याम्पसको एप्स, फेसबुक, वेभ साइटको व्यवस्था गरेर सूचना प्रणालीलाई सबल बनाइनुपर्दछ ।

अतिथि प्राध्यापक, विशेषज्ञहरुको आमन्त्रण र शैक्षिक भ्रमणको आयोजना

बेला बेलामा प्रसिद्ध प्राध्यापक, विज्ञ वा बिशेषज्ञहरुलाई आमन्त्रण गरी उनीहरुको अनुभव र विज्ञताबारे बुझ्ने अवसर विद्यार्थीहरुलाई दिनुपर्दछ । स्वतन्त्र विद्यार्थी यूनियन, विद्यार्थी अल्मुनाई, भूतपूर्व विद्यार्थीहरुको संगठन, एसोसियसनसँग देशविदेशका अनुभवहरु आदानप्रदान गर्ने कार्यक्रमहरुको व्यवस्था गर्नुपर्ने हुन्छ । यसैगरी मैत्रीपूर्ण वनभोज कार्यक्रमको समेत आयोजना गर्न सकिन्छ ।

इन्र्टनसीपको ब्यवस्था

क्याम्पसमा अध्यापन गरिने विषय हेरी बैक, वित्तिय संस्था, अस्पताल, सञ्चार प्रतिष्ठानहरु, विद्यालयहरु लगायत विभिन्न कार्यालयहरुसँग समन्वय गरी प्रशिक्षण लिने मौका विद्यार्थीहरुलाई उपलब्ध गराईनुपर्दछ ।

कर्मचारी, शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि उच्चशिक्षा अध्ययन गर्नका लागि छात्रबृत्ति, लघुअनुसन्धान गर्न कोषको व्यवस्था, अन्र्तराष्ट्रिय जर्नलका लागि लेख तयार पार्न आर्थिक सहायता, बेला बेलामा शैक्षिक र व्यवसायिक तालिमको ब्यवस्था गर्न सके अझ राम्रो हुन्छ जुन आर्थिक अवस्था र ब्यवस्थापन सबल भएका देशविदेशका सामुदायिक क्याम्पसहरुले गरिरहेछन् ।

अन्त्यमा,

अहिले सामुदायिक क्याम्पस चलेमा चलाउने र नसके बन्द गर्ने अवस्थामा पुग्नु सिगो समुदाय र राज्यका लागि गम्भीर दुर्घटना हो । सामुदायिक क्याम्पसले जुन अवस्थामा रहेर शैक्षिक क्षेत्रमा जस्तो योगदान दिएका छन् त्यसको प्रशंसा गर्नुपर्छ । सामुदायिक क्याम्पसलाई आत्मनिर्भर बनाउनु र दलगत राजनीतिबाट मुक्त बनाउनु अहिलेको चुनौती हो । दीर्घकालीन रणनीति र योजना बनाएर ब्यवसायिक रुपमा अघि बढ्ने वातावरण सिर्जना गर्नेफर्त क्याम्पस ब्यवस्थापन र उच्च प्रशासकको ध्यान जानुपर्दछ । रचनात्मक आलोचना, अभिभावकका गुनासा, विज्ञका सुझाव र विद्यार्थीहरुको पृष्ठपोषणलाई ध्यान दिनु अति नै आवश्यक हुन्छ । केवल विद्यार्थीहरुले बुझाएको शुल्कमा मात्र भर नपरी आर्थिक स्रोतका अन्य उपायहरु पनि अवलम्बन गर्नुपर्दछ । राज्यले पनि सामुदायिक क्याम्पसलाई अनुदान सहयोग र आत्मनिर्भर बनाउने ठोस योजना ल्याउनुपर्दछ । अहिले कोभिड १९ को माहामारीसँगै अधिकांश क्याम्पसले शिक्षक, प्राध्यापक, कर्मचारीहरुलाई तलब खुवाउन सकेका छैनन् । यसतर्फ राज्य र विश्वविद्यालय अनुदान आयोगको सहयोग अपरिहार्य छ ।

Facebook Comments