परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चलन र अभावले मानवता हराएको समाज अनि अभागी ‘हरिकी जोई’ 

जीवनका खुड्किला 

विक्रम सम्बत् २०३५ को असार महिना। कोटवाडा कालिकोट, कर्णाली अञ्चल। राविसे सदस्य भएर आएको ५ महिना भइसकेको थियो। स्थानीय बोली जुम्ली भाषा अलिअलि बुझ्ने भएको थिएँ। बस्तु चराउन डांडामाथि पाताल (जंगल) गएका गोठाला वा गहुँ, जौ गोड्न खेतालाले गाउने देउडाको स्थानीय भाकामा रस बस्न लागेको थियो।

जेठ दोस्रो सातापछिको अवस्था भने भिन्न रह्यो। मेरा अन्नदाता तीन सय साठी कुडिया मध्ये धेरैजसो वर्ष दिनको बालिले तीन देखि छ महिनासम्म खान पुग्ने मात्र थिए। बाँकी समयलाई नबेसाई उपाय लाग्दैन थियो। अर्थात चिन गएर ल्याएको कमाइले अन्नको जोहो गर्नु पथ्र्यो। आफुलाई भने खटाइएको रासन मौसम तथा उमेरका कारणले त्यही दिनलाई नै ठीक्क हुन्थ्यो। मेरा सहयोगी बिष्णु सकेसम्म पालो मिलाएर १५ दिन जतिको अन्न अगाडि नै जम्मा गर्थे गाउँ हिडेर। प्राथमिक उपचार बाकसमा भएका सामान्य औषधी पनि गाउँलेलाई ठुलै ओख्तो लाग्थ्यो, त्यो लिन आउँदा कतिपयले त आफैं पनि आफ्नो जिम्माको अन्न ल्याइदिन्थे।

नजाँउ चिन लाग्दो रिन, जाँउ चिन कठीन।
सौं¥याई नमान्ने भए, कठै भन्ने छिन।।

चल्तीका यी हरफ मैले पनि टिपी सकेको थिएँ। अर्थ भने थाहा थिएन। सबैमाझ लोकप्रिय भए पनि बढीजसो महिलाहरुले गाउँने गरेको सुनिन्थ्यो।

मनमनै छिमेकी राष्ट्र चीन सम्बन्धी हो कि भन्ने मेरो आफ्नैखाले अन्दाज थियो। खुल्दुली धेरै दिन पाल्न सकिँन। दौंतर अनि मसंग मिल्ने, नेपालगंज पढेर आइ स्कूलमा संगै पढाउने शिक्षक मोहनवीर विष्टसंग अर्थ खुलाई मागेँ। गीतको पृष्ठमभूमी यस्तो रहेछ।

प्रमुख पेशा कृषि भएका अधिकांश कर्णालीबासीको पाखाबारीमा उब्जेको अन्नले एकदम थोरैलाई मात्र वर्षभरी खान पुग्ने रहेछ। बाँकी महिना स्थानीय साहुमहाजनकहाँ बेसाएर खानुपर्ने रहेछ। बेठबेगार, ब्याजकोे चलन भएकोले समयमा रिन तिर्न गाह्रो। रिन तिर्ने एकमात्र माध्यम हिउँदमा श्रम बेच्न जानुपर्ने रहेछ। कोटवाडाबासी लगायत कालिकोट, जुम्ला र अछामका केही भेगका बासिन्दा भने खेती पाती लगाएर हिउँद लाग्दो भारत हिमाञ्चल प्रदेशमा पर्ने ‘चिन’ भन्ने क्षेत्रमा तिनताका निर्माणधीन सडक निर्माण योजनामा मजदुरको रुपमा सहभागी हुन जाने गरेका रहेछन्। अन्न बेसाएको रिन तिर्न कमाइ खातिर चिन जानुपर्ने भएकोले नजाउँ चिन लाग्दो रिन भनी व्यथा व्यक्त गरिदों रहेछ। उकाली ओराली, जङ्गल, खोला नाला तर्दै बर्दीयाको राजापुरको बाटो दिनौं लगाएर काम गर्ने ठाँउ पुग्नुपर्ने। कठिन शारीरिक परिश्रम, अर्काको ठाँउ, उपेक्षित भएर, हेपिएर काम गर्नुपर्ने भएकोले, ‘चिन’ जाँदा पनि कठिन अर्थमा व्याख्या गरिएको रहेछ। दुखजिलो गरेर संगै बसेर गुजारा नचल्ने, छुट्टिएर बस्नु पर्दा लाग्ने नियास्रो (सौर्याइ) ले कठै भनी चित्त बुझाउनुपर्छ भन्ने अर्थमा लिइँदो रहेछ।

आजीविकाको मूल माध्यम खेती, पाखोबारी त्यसमा पनि फोगटा र कान्ला धेरै चट्टानी भीरको बीचमा बल्द (गोरु) हिंडाउन गाह्रो पर्ने भएकोले मानव श्रमले जमीन सफा गर्ने, खनजोत, गोडमेल, बाली उठाउने लगायतका सम्पूर्ण चरण पूरा गर्नुपथ्र्यो।

हिमाली प्रदेश, बाली लगाउनदेखि उठाउनसम्म कुनै वर्ष १० महिना कुर्नुपरेको गांउलेहरु बताउँथे। बालीचक्रको रैथाने ज्ञानमा स्थानीयहरु पोख्त भएपनि प्राकृतिक मौसमको कारणले वर्षमा एक बाली मात्र लाग्ने गर्दथ्यो। बस्ती भएका ठाउँमा गहुँ र जौ सपे्रर आउने रहेछ। अलिक तल बेंसी जस्तो ठाममा मकै हुन्थ्यो। यहाँ अन्तर–बालीका रुपमा सिमी, भटमास हुने रहेछ भन्ने कुरा सिमीको झोल लाई दाल र चोक्टा (कच्छो ) लाई तरकारीको रुपमा कहिलेकांही खान पाएकोले अनुभूत गर्न पाएको थिएँ। फर्सी, पिंडालु बारीका कान्ला, फोगटामा आक्कल झुक्कल लगाएको देखिन्थ्यो। पोषण विज्ञानको आधुनिक परिभाषले अथ्र्याउने सन्तुलित आहाराका बाँकी प्रकार भिटामिन आदिका श्रोतहरु तिनताका लगाएको मेरो हेक्कामा रहेन। पुगिसरी आउनेको घरमा पनि सधैं धानको भात खान कमै जुथ्र्यो। सिंगै गाँउमा जिम्दारको मात्र परिवारमा बिहानको छाक भने धानकै भात खान्छन् भन्ने चर्चाकै विषय भएकोले अन्नको दुर्लभताको यो जानकारी मेरो लागि नयाँ तर अनौठो ज्ञान भएको थियो।

तिनताका ब्यतित गरेको उमेर र अनुभव अनि आफु जन्मेर हुर्किएको परिवेश भन्दा त्यहाँको अवस्था निकै भिन्न महसूस गर्दै थिएँ।

सम्बत् २०३४ फागुनको पहिलो साता गाउँ टेकेपछि पुगेको पहिलो रातको बास स्थानीय धामी र तत्कालीन पर्धानकै घरमा बसेको थिएँ। त्यसको एक साताभित्रै सोही घरमा विद्यालय संचालक समिति सदस्य समेतको उपस्थितिमा सबैको सहमतिले मेरो खानपान सम्बन्धी एउटा सल्लाह पारित भएको थियो। अन्न उब्जनीको आधारमा गाउँमा भएका कुडिया (घर) मध्ये ३६० (वर्ष दिनको हिसाब) गरेर वर्षको एकपटक पालो गर्ने गरी प्रति परिवार एक माना गहूँ वा मकै जम्मा गर्ने। महिनाको पहिलो साताभित्र मैले सो बापत तोकिएको मासिक हिसाब (मानाको एक रुपियाँ शुरुवाती महिनाहरु र पछि एक रुपियाँ ५० पैसा समितिमा जम्मा गर्नुपर्ने भयो।

सामाजिक पद्धतिमा चलेको गाउँमा यो चलन मजाले चल्यो। फागुनदेखि झण्डै जेठ आधासम्म त केही समस्या आएन, निश्चिन्त खाइ पाइयो। हिमाली भेगको उपज भएकोले मकै, गहूँको रोटी भए पनि स्वादिलो हुन्थ्यो। चिसो ठाउँ, बढ्दो उमेर, प्रशस्त शारीरिक श्रम लगायत गर्दा भोक नै पनि मीठो हुनु स्वाभाविकै थियो। स्थानीय गाउँलेले नून मच्चे (नून खोर्सानी) सित ल्याप्चे लाउदै रोटी खाने भन्थे– नुन खोर्सानी सिलौटोमा पिसेर बुढीऔंलो र चोरी औंलोले रोटी चोबेर खाने भएकोले। म भने दुर्गममा सेवारत भएकोले ५० प्रतिशत थप सहितको भत्ता पाउँथे, खर्च गर्ने खासै ठाउँ थिएनन्, त्यसैले कहिले स्थानीय सिमीको झोल, तरकारी वा घीउ पनि खान जुरिरहेको थियो।

जेठ दोस्रो सातापछिको अवस्था भने भिन्न रह्यो। मेरा अन्नदाता तीन सय साठी कुडिया मध्ये धेरैजसो वर्ष दिनको बालिले तीन देखि छ महिनासम्म खान पुग्ने मात्र थिए। बाँकी समयलाई नबेसाई उपाय लाग्दैन थियो। अर्थात चिन गएर ल्याएको कमाइले अन्नको जोहो गर्नु पथ्र्यो। आफुलाई भने खटाइएको रासन मौसम तथा उमेरका कारणले त्यही दिनलाई नै ठीक्क हुन्थ्यो। मेरा सहयोगी बिष्णु सकेसम्म पालो मिलाएर १५ दिन जतिको अन्न अगाडि नै जम्मा गर्थे गाउँ हिडेर। प्राथमिक उपचार बाकसमा भएका सामान्य औषधी पनि गाउँलेलाई ठुलै ओख्तो लाग्थ्यो, त्यो लिन आउँदा कतिपयले त आफैं पनि आफ्नो जिम्माको अन्न ल्याइदिन्थे।

अघिल्लो साल बाली लगाउने बेला रुढो (सुख्खा) प¥यो भनी कुरा गर्थे गाउँलेहरु। यसपटक गहुँ र जौमा दाना लाग्न लागेका बेला बज्र (असिना) प¥यो। कतिले त बाली उठाउन पाएनन्। कतिकोमा भने अनिकालले छोपिहाल्यो। दूध मात्रै पसेका वा गेडा लाग्न लागेका गहुँका बाला काटेर ल्याएर झुप्पानै अगेनोको भुंग्रोमा पोलेर खाँदै भोक मार्न थाले स्थानीयहरु। खासगरी केटाकेटी भएका घरमा भोकको बिजोक हेर्न नसकेर बाबुआमाले त्यसो गर्न थाले। काँचैमा पोलेर खाने गहुँको त्यो आहारलाई स्थानीय भाषामा ‘उमा’ भनिदो रहेछ।

परिवारको सदस्य बाहिरको एउटा परदेशी मप्रति स्थानीयको त्यस बेलाको प्रेम, सदभाव वा अरु नै के हो, त्यो उदात्त व्यवहार सम्झदा अहिले पनि ती गाउँलेप्रति कृतज्ञ र द्रवित हुनेगर्छु। दुई वर्ष निरन्तर बाली उठाउन नपाएको पीडा भएता उनीहरुले मलाई बचाएका थिए।

असार देखि भदौभरीको तीन महिने अवधिमा जम्मा दुइ छाक धानको भात खान जुरेको गणित भनौं वा तथ्यांक मेरो भित्री स्मरणमा अद्यावधि ताजै छ। त्यो पनि दुबै पटक जिल्ला शिक्षा अधिकारीको निरिक्षण भ्रमणको अवसर र वहाँलाई बास वस्न मेरै ठाउँमा व्यवस्था गर्नु परेकोले। जिम्दारले वहाँको नाममा दुबै पटक पठाएको एक एक माना चामल हामी दुइजनाले बाडीचुडी खाएका थियौं। मलाई त दशैं आए झैं भएको थियो, धानको भात खान पाउँदा।

आमरण अनसनको अनुभव नभएको साथै हिमालको फेदीमा निराहार तपस्या गर्ने ऋषिमुनिको बारेमा सुनेको मात्रै हुनुले भोकको स्वाद र मीठास खाद्यान्न भन्दा पनि भोकको ज्वाला अनि त्यसलाई मेट्ने उपलव्ध सामग्री हो भन्ने चैं राम्रैसंग चेत खुल्यो मलाई। स्थानीय रुपमा उपलव्ध फर्सीका पात, सिस्नो र भैंसीले खाने काने झार उमालेर कहिलेकाहीं भोक मार्ने गरेकोले घरमा आमा भाउजुले भन्नु भएको ‛भोक मीठो कि भोजन?’ को सार्थकता खुलिरहेको थियो। भुस सहितको जौको पीठोको रोटी निल्दा घाँटी कोरेर रगत नै निस्केको क्षणमा धरान विजयपुरबाट झरेर चारकोशे जंगलमा औलो रोगसंग जुधेर मधेशमा खेती लगाइ सन्तानलाई धानकै भात खुवाउनु हुने आफ्ना बाप्रति नतमस्तक हुँदैं मनैबाट प्रणाम गरिरहे।

आफ्नो भोक र त्यसको ओखतीमा मात्रै केन्द्रित बिचार र दिनचर्याको बीच एउटा घटना घट्यो। विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, सहपाठीहरुसंगको सामुहिक छलफल र कक्षा प्रस्तुति आदि बाट सिकेको ज्ञानभन्दा नितान्त भिन्न यो घटना ‘पढेरभन्दा परेर जानिने’ एउटा जबरजस्त र चीरस्थायी पाठ बन्न पुग्यो मेरो जीवनमा।

‘हरिकी जोईले हरिताल खाई रे’, छिमेकी घरका लोक बहादुर सरले गाउँले हल्ला सुनाए। घटनास्थल तर्फ उनी जान लागेकाले मलाई पनि जाउँ भनेपछि म पनि साथ लागें कौतुहुल मेटाउन। बारी बिचबाट एकजना मात्र हिड्न हुने बाटोमा घरैपिच्छे मान्छे निस्किदै थिए। विद्यालय पल्तिरको काफल डाँडा छेउ सानो झुप्रोको बाहिर बारीमा मान्छे जम्मा हुँदैथिए।

मान्छे आफु आफुमा गुनगुन गर्दै थिएँ। अघि भने कोही बढेका थिएनन्। फुसको छानो भएको झुप्रोको ढोका भन्नु मात्रै थियो, यस्सो सल्लोको एउटा फाली (फलेक) ढप्केको थियो। ‘काफल घरे बटाला बा’ जो विद्यालय सञ्चालक समिति सदस्य पनि थिए, अगाडि बढे र खापा धकेले। घ¥याक्क गर्दै खापा खुल्यो। मान्छेको भीडले बाटो छोडिदिएकाले लोक बहादुर सर संगै म पनि ढोका निर गएँ।

दुर्भाग्य, हामीभन्दा अगाडि नै काल पसी सकेको रहेछ। झुप्रा भित्र अगेनाको डीलमा गुन्द्रीमाथि भन्नुमात्रको शरीर, सुकेनास लागे झैं देखिने ख्याउटे बाबु र नानीका दुई वटा निर्जिव शरीर मुढो झै लडेका देखिन्थे। कलेटी परेका ओठ र चिप्राले भरिएका आँखा र अनुहारमा झिङ्गा भन्किरहेका थिए। केही पर भुँइमा अन्दाजी २५ वर्षकी एकजना महिला कोल्टे र घोप्टोको बीच अवस्थामा पल्टिरहेकी देखिन्थिन। उनले लगाएको गाउन सरेर घुंडासम्म पुगेको थियो। घैंटो राख्ने गग्रेटोबाट पानी भुँइमा पोखिएको देखिन्थ्यो। भोकमरीको चपेटमा संघर्ष गर्दै बाँच्ने बाटो नदेखेर विकल्पमा मृत्यु रोजेको दृश्य बुझाउँथ्यो घरभित्रको परिवेशले।

थरिथरिका संवाद सुनिन थाले जमघटभित्रबाट :

‘घरमा अन्न नाई, कसो गरोस् त बरा ?’

‘फोगटाका गहुँ पोलिकन नानीभाउ (बच्चा बच्ची) लाई उमा ख्वायाथिन्, साता दिन पुग्दो नाइ, क्यारुन (के गरुन् ) ?’

‘जिम्दारकोमा बेसाहा ल्याइकन ल्याएको अन्न हप्ता बढी पुग्या नाई।’

‘पानी पियाइकन चार–पाँच दिन चल्ला (बच्चा) चित्त बुझाइ हुन्।’

‘लोग्ने घर भया नि, अलिक आडभरोस हुन्या हो।’

‘बनमा कन्दमुल पनि रोजै पाउने नाइ।’

‘हरितालै खानुपर्ने हो कि भन्दैथिन बेलि (हिजो अस्ति) तिर’

माथि पाताल (जंगल) जडिबुटीको लागि प्रसिद्ध थियो। गाउँलेहरु हातेजडी, बायोजडी, मौरीमूलो, अतिसी, कुट्की, विख, हरिताल लगायत थुप्रै खालका जडिबुटी सङ्कलन गरी ल्याउँथे। केही घरेलु उपचार खातिर घरमा राख्थे। हिउँद राजापुर बजार जाँदा सट्टापट्टा वा बिक्री गरी नुन, गोटा (सखर पगालेर बनाएको गुलियो) कपास, जीरा, साबुन पनि ल्याउने गरेको सुनाउथे।

उनको आफ्नो छुट्टै नाम थिएन, समाज थिएन। यहाँतिर लोग्नेका नामबाटै महिलाले चिनिनु पर्ने। आफ्नो अस्तित्व नै हराएकी ‘हरिकी जोई’ खाउँखाउँ लाँउलाँउकै उमेरमा थिइन। उनले केही नलागेपछि आफू र आफ्ना दुईवटा मुनाजस्ता कलिला सन्तानका लागि अन्तिम सहारा स्वरुप हरिताल भन्ने विषालु जडिबुटी लिइन। त्यही खाएर आफू र आफ्ना बालबच्चालाई यो ‘हरिको लोक’ बाट अर्कै हरिलोक तर्फ लिएर गइछन्।

नहुनु भैसकेको थियो। घरमुलीको अभावमा स्थानीय रीतिथिति अनुसार मृत शरीरको सद्गति गर्ने र बेवारिस व्यवस्थापन गर्ने बारेको सरसल्लाहमा लागे जान्नेसुन्ने बुज्रुगहरु। मुखिया, पर्धान, जिम्दार सबै जम्मा भएकै थिए। जिँउदो पो राख्न समस्या थियो। नबोल्ने, नखाने, नचल्ने भएपछि चलन चल्तीको मट्टी दिने त माटोको शरीर माटोमै मिलाउने विधि न गर्नु थियो।

उनको आफ्नो छुट्टै नाम थिएन, समाज थिएन । यहाँतिर लोग्नेका नामबाटै महिलाले चिनिनु पर्ने । आफ्नो अस्तित्व नै हराएकी ‘हरिकी जोई’ खाउँखाउँ लाँउलाँउकै उमेरमा थिइन। उनले केही नलागेपछि आफू र आफ्ना दुईवटा मुनाजस्ता कलिला सन्तानका लागि अन्तिम सहारा स्वरुप हरिताल भन्ने विषालु जडिबुटी लिइन । त्यही खाएर आफू र आफ्ना बालबच्चालाई यो ‘हरिको लोक’ बाट अर्कै हरिलोक तर्फ लिएर गइछन् ।

ती महिला र उनका कलिला सन्तानको दीनदशा पशु सरह थियो। ‘छोट्टी पनि मन्ठा हु्न् र’ (महिला पनि मान्छे हुन् र) ? कर्णाली अञ्चलमा चलेको यो कहावत महिलाप्रति असम्वेदनशील यस्तै निर्दयी घटनाको सार्वजनिक अभिव्यक्ति रहेछ भनी म आफैंभित्र अजिबको पीडादायी प्रश्नमा थुप्रै दिन रुमल्लिइरहेँ।

Facebook Comments