परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालको अद्यावधिक नक्शासम्बन्धी संविधान संशाेधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित

राष्ट्रियताको मुद्दामा सबै दल एकै ठाउँमा

काठमाडौँ, जेठ ३१ । नेपालको सङ्घीय संसदको प्रतिनिधिसभाबाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्शा संलग्न नेपालको निशाना छाप सम्बन्धी संविधानको अनुसूची–३ संशोधन प्रस्ताव आज दुई तिहाईभन्दा बढी मतले पारित भएको छ । संसद्मा उपस्थित सबै दलले सर्वसम्मतिबाट विधेयकको पक्षमा लिखित हस्ताक्षर सहितको मतदान गरेका थिए ।

प्रतिनिधिसभाका कूल सांसद् सङ्ख्यामध्ये २७५ मध्ये आजको बैठकमा २५८ सांसद उपस्थित थिए । सदनमा मत विभाजन गरी मतदान गरिएको थियो । सबै सांसद्ले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन ।

नेपालको निशाना छाप सम्बन्धी संविधानको अनुसूची–३ संशोधन प्रस्ताव खारेज गर्ने प्रस्ताव पेश गरेर र राष्ट्र बिरुद्ध बोलेर देशद्रोहीको छवि बनाएकी समाजवादी पार्टीकी समानुपातिक सांसद भारतीय चेली सरिता गिरी भने बैठकमा उपस्थित भए पनि उनको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेपछि मतदानअघि नै संसद्बाट बाहिरिएकी थिइन् ।

आजको बैठकमा मतदान गर्न पाउने विभिन्न दलका ११ सांसद  उपस्थित नभएका कारण तिनले मतदान गरेनन्  । ऐतिहासिक महत्वको आजको मतदानमा भाग नलिएका सांसदहरूको नामावली यस प्रकार छः

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना—  गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन जना— जनागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल
  • राष्ट्रिय जनता पार्टीका तीन जना — अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी
  • समाजवादी पार्टीका एक जना— सूर्यनारायण यादव
  • संसद्मा भाग लिन नपाउने निलम्बित चार सांसद्हरू— रेसम चौधरी, मोहम्मद अफ्ताव आलम, विजयकुमार गच्छदार र हरिनारायण प्रसाद रौनियार
  • सभामुखले कुनै प्रस्तावमा बराबरी मत खसेको अवस्थामा बाहेक मत दिन पाउँदैनन् ।

प्रतिनिधिसभाबाट सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित भएको संविधान संशाेधन प्रस्ताव अब राष्ट्रिय सभामा प्रवेश गर्नेछ । त्यहाँबाट पनि दुई तिहाई बहुमतबाट पारित भएपछि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि जानेछ र उनले प्राप्त भएको मितिले १५ दिनभित्र प्रमाणित गर्नुपर्छ । राष्ट्रपतिबाट प्रमाणीकरण लगत्तै संविधान संशाेधनले पूर्णता र बैधानिकता पाउने  प्रावधान नेपालको संविधानको धारा २७४ मा रहेको छ ।

नेपाली राष्ट्रियताको पक्षमा संसद्मा रहेका सबै दल एकै ठाउँमा उभिनुलाई सुखद् मानिएको छ । आजको दिनलाई नेपालको इतिहास रचिएको दिनको रूपमा चीरकालसम्म सम्झना गरिनेछ । अब नेपालको चुनौती भनेको भारतबाट अतिक्रमित भूभागमा भोगचलन कायम गराउनु रहेको छ ।

Facebook Comments