इतिहास रचिने दिन !
कविता
आज मेरो देशको आकारले साकार पाउने दिन
आज नालापानीदेखि दुःखेको घाउमा मलम लगाउने दिन
मेरो हिमाल, पहाड र तराई एक ढिक्का भएको दिन
सबै नाक, आँखा र अनुहार एकै भएको दिन
बाझले झम्टिएर बुच्चो बनेको मेरो स्वाभिमान
मेरो तस्बिरले आज पूर्णता पाउने दिन
विस्तारवादीका बुट सहेर
दिनदिनै रोइरहेकी मेरी आमाका आँसु पुछ्ने दिन
खबरदारीको औँलो विस्तारवादतिर ठडिने दिन
थोरै भए पनि सन्तोषको सास फेर्ने दिन
मेरो स्वाभिमानी झण्डा गर्वका साथ फहराउने दिन
इतिहासमा स्वर्णिम अक्षरले लेखिने दिन
मेरो संसद्ले गर्ने ऐतिहासिक फैसलाको दिन !
काङ्गडादेखि तिष्ठासम्म लुछिएको मेरो स्वाभिमान
पुस्तौँदेखि भुल्न सकेको छैन
नालापानी बल्झेर सुस्ता र कालापानीमा भतभती पोलेको
मैले सहन छोडेको छैन
तिमी यति काँतर कि
आफ्नो घरको साँध आफैँ रक्षा गर्नेसम्म हुती छैन
तर तिमी यतिसम्म बेइमान र जाली कि
मैले तिम्रो साँध जोगाउन रगत बगाइरहँदा
मेरा आँखा छलेर
मेरै खेत खलिहानमा कब्जा जमाउन लाज मानेनौ
एउटा कुरा बुझ तिमी छली, विस्तारवादी
स्प्रिङ जति थिच्यो त्यति उफ्रिन्छ
तिम्रो थिचोमिचो सहँदासहँदा
म पनि स्प्रिङ बनेको छु
जति धेरै दुख्यो, म त्यति नै सुदृढ बनेको छु
फ्यात्त परेको तिमी हात्तीलाई ठूलै देखेर म किन डराऊँ
एउटा अङ्कूशले तह लगाउने हिम्मत छ मसँग
मोटो छु भनेर फुर्ती नलगाए हुन्छ
क्यान्सरले मोटाएको अङ्ग फर्सी झैँ कुहिएर झर्न सक्छ ।
मैले अहिले मेरो वर्तमान सामान्य स्वरूप देखाउँदा
यति आत्तिएका तिमी शकुनी,
मैले बृहत् रूप देखाएँ भने तिम्रो होश के होला !
आकारमा मलाई सानो देखेर धम्की नदिए हुन्छ
शक्तिशाली अणुबम सानै हुन्छ
तर त्यसको ध्वंश अकल्पनीय हुन्छ ।
मेरो सग्लो स्वरूप पूरा हुन नदिन तिमीले हदैसम्म गर्यौ
मैले पालिपोसी गरेको तिम्रो कुकुरलाई
मेरै घरभित्र मेरै विरुद्ध भुक्न लगायौ
भोगीदेखि जोगीसम्मबाट धम्क्याइरह्यौ
तर तिम्रो दाल त गलेन गलेन
उल्टै मनमा ढ्याङ्ग्रो ठोकिसक्यो
बोकेको कुकुरले मृग मारेका उदाहरण कहाँ छन् र !
तिम्रा हरकत र चाल नजिकैबाट हेरिरहेको छु
अब तिम्रो चाल र दाल चल्ने र गल्नेवाला छैन
बोकेको कुकुर, नक्कली कुलो र कुवाका कहानी
मेरो जमीन, पानी र जवानी
नक्कली मन्दिर र आस्थाका अब कुरा नगर
हिजो बहादुर मात्र भनेर तिमीले चिनेको म
तिमीभन्दा बुद्धि र जुक्तिमा कतै कम छैन
सुरो, आँटिलो र हिम्मतिलो त हिजो पनि थिएँ
अहिले पनि छु र भोलि पनि हुने नै छु
ढोगी ! प्रमाण माग्ने हिम्मत गर्न सक्छौ ?
षडयन्त्रकारी छली, साम्ने आउन चुनौती छ तिमीलाई
एकएक प्रमाणले तिम्रा नाकमा हान्ने हिम्मत राख्छु म
रङ्गको झोलमा डुबेको स्याल अब खुइलिइसक्यो
अलिकति कतै लाज बाँकी छ भने
अझै केही बिग्रेको छैन
उल्टो पाउ आफ्नै घर फर्क
अब स्वीकार्य छैन ‘मेहमानी’ !
कहिले कुन र कहिले कुन भाइ उचालेर
मेरो परिवार फुटाइरहने विस्तारवादी चाल
अब उदगाङ्गो भइसक्यो
अब मेरो घर एक छ
मेरो परिवार एक छ
आकार एक छ
मेरो तस्बिर अब सग्लो र साकार भएको छ
अकबरी सुनलाई कसी लगाउनु पर्दैन
नक्कली मयुरको नाच अब यता चल्दैन
अब मेरो भूमि कब्जा गर्नतिर हैन,
मैले तिम्रो सीमामा पहरा नदिने हो भने
तिम्रो हालत के होला
बरु त्यताको चिन्ता गर !
म त आज खुशीले देशको गीत गाउँदैछु—
‘जय जय हिमाल
जय जय पहाड
जय जय तराई
जय जय राष्ट्र
जय जय चन्द्रसूर्य
जय जय स्वाभिमान
जय जय नेपाली
जय जय नेपाल !’
मेरो संसद्लाई सलाम
मेरो सरकारलाई सलाम
मेरो प्रतिपक्षलाई सलाम
मेरो देशलाई सलाम
हरेक नेपालीलाई सलाम !
अब त बुझ्यौ होला नि—
आजको दिन मेरो देशको इतिहास रचिने दिन !