परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चुल्ठी कम्पनीका कुरा

सन्दर्भः मणिराज उपाध्याय जन्म जयन्ती


(आज दैनिक समाजका प्रधानसम्पादक स्व. मणिराज उपाध्यायको ९८ औँ जन्म जयन्ती हो ।  उहाँ वि. सं. १९८० जेठ २४ मा नयाँ सडक, काठमाडौँमा जन्मिनुभएको थियो ।  वि. सं. १९९० को दशकदेखि नै काठमाडौँमा चर्चित फुटबल खेलाडी बनिसकेका उपाध्याय खेलकै क्रममा राणा बिरोधी बनिसक्नुभएको थियो । एन.आर‍.टी.  का सेन्टर हाफ खेलाडीका  रूपमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो । २००७ सालको क्रान्तिका बेला प्रजातन्त्रका लागि जेल बसेका युवा मणिराज उपाध्यायले प्रजातान्त्रको घोषणापछि जेलबाट छुटेर प्रजापरिषदको मुखपत्र सही रास्ता हिन्दी पाक्षिकको सम्पादकका रूपमा २००८ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको थियो । सम्पादकीय स्वतन्त्रताको पक्षमा पार्टीसँग कुरा नमिलेपछि उहाँले सही रास्तालाई स्वतन्त्र बनाई साप्ताहिक रूपमा प्रकाशन गर्न थाल्नुभयो । तत्कालीन प्रशासनले यो पत्रिका बन्द गरिदिएपछि २०१० सालमा प्रहरी साप्ताहिकको सम्पादन गर्नुभयो । यो पत्रिका पनि प्रशासनले बन्द गरिदिएपछि उहाँको पत्रकारिताको धार परिवर्तन भयो ।
नेपालमा समाचार एजेन्सी थिएनन् । नेपाल सरकारले रेडियो नेपाल र गोरखापत्रका लागि पीटीआई, हिन्दुस्तान समाचार  र युपीआईसँग समाचार बुलेटिन किन्ने गर्थ्यो । आमजनमानसमा पत्रिका पढ्ने चलन थिएन । देशमा साक्षरता दर ३–४ प्रतिशत मात्रै थियो । खबर संकलन गर्न यातायात, फोन साधन, स्रोत र सुविधा थिएन । पत्रिका बिक्ने कुनै ग्यारेण्टी थिएन । वि. सं. २००७ साल फागुन ७ गतेदेखि प्रकाशनमा आएको आवाज दैनिक २००९ साल पुग्दा बन्द भइसकेको थियो । गोरखापत्र हप्ताको तीन दिन मात्र प्रकाशनमा थियो । यही असहज परिस्थितिमा मणिराज उपाध्यायको सम्पादनमा दैनिक समाजको प्रकाशन सुरु भएको थियो । दैनिक समाजले प्रकाशन सुरु भएदेखि प्रजातान्त्रिक काल होस् कि पञ्चायतकाल, सबै बेला निडर पत्रकारिता गरेको हुँदा राज्य सत्ताबाट बारम्बार कारवाही गर्ने, पत्रिका जफत गर्ने, सम्पादकलाई स्पष्टीकरण सोध्न बोलाउने, थुन्ने, पत्रिका जफत र बन्द गर्ने जस्ता प्रतिकूल प्रहार सहेर पनि २०५३ पुस १४ सम्म निररन्तर प्रकाशन भइरह्यो । २०५३ को महाकाली सन्धिपछि भने उहाँले पत्रकारिताबाटै सन्यास लिनुभयो ।
उहाँ भन्नुहुन्थ्यो, ‘मैले आजीवन राष्ट्रियताको पक्षमा कलम चलाएँ, भारतीय चालबाजीका विरूद्ध खबरदारी गरेँ, तर जब राष्ट्रियताको नारा दिने कम्युनिष्ट समेतको सहमतिमा देश हित बिरुद्धको सन्धि दलहरूले गरे, अनि देश र संविधानको संरक्षक र नेपाली जनताका अभिभावक मानिएका राजा वीरेन्द्रले पनि त्यसप्रति आँखा चिम्लिएपछि अब मेरो पत्रकारिताको औचित्य छैन भनेर मैले समाज दैनिक पनि बन्द गरेँ र पत्रकारिताबाट सन्यास पनि लिएँ ।यही घटनापछि नयाँ पुस्ताका पत्रपत्रिकालाई विरासत छोड्दै समाजको प्रकाशन बन्द हुन पुग्यो । निष्पक्ष र निडर पत्रकारिता एवं राष्ट्रिय हितमा चट्टानी अडान राखेको दैनिक समाज आफैँमा इतिहासको अभिलेख पनि हो ।
राजा महेन्द्रको शासनकालको उत्तरार्धमा श्री उपाध्यायले राजाबाट चुनौती स्वरूप सेती अञ्चलाधीशका रूपमा नियुक्ति पाउनुभएको थियो । अञ्चलाधीश हुइन्जेल उहाँले पत्रिकाको सम्पादन अरुलाई नै हस्तान्तरण गरी पत्रकारिताबाट अलग बस्नुभयो । अञ्चलाधीश भएको केही समयमै पञ्चहरूका अनियमिततासम्बन्धी हर्कतहरूबाट वाक्क भएर राजीनामा दिई फेरि आफ्नै पेशा पत्रकारिता अँगाल्नुभएको थियो ।  जीवनको उत्तरार्धमा श्री मणिराज उपाध्यायको दिनचर्या अध्यात्म सङ्गत, चिन्तन र लेखनमा केन्द्रित थियो । उहाँ अधिकांश समय देवघाट आश्रममा बस्नुहुन्थ्यो । श्री उपाध्यायको निधन वि. सं. २०७३ पुस २७ गते ९४ वर्षको उमेरमा काठमाडौँको डिल्लीबजारस्थित आफ्नै निवासमा हुन पुग्यो । दरबारदेखि लगायत समकालीन सबै प्रधानमन्त्री, मन्त्री, महापञ्च, राजनितक दलका नेतासँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध रहे पनि उहाँले पत्रिकाका लागि कसैबाट कुनै सहयोग लिनुभएन । पञ्चायतका हस्ती विश्वबन्धु थापासँगको एक भेटमा उहाँले हामीलाई भन्नुभएको थियो, ऊ पुरानो साथी थियो । हामी पावरमा भएका बेला हामीलाई भेटोस्, सहयोग मागोस्, सहयोग दिनपाउँ जस्तो लाग्थ्यो, तर ऊ कहिल्यै कुनै प्रधानमन्त्री, मन्त्री र पञ्चकोमा आएन । बडो स्वाभीमानी र अडिग खालको मान्छे थियो ।‘  
नयाँसडकको घर बेचेर सस्तो ठाउँ डिल्लीबजारमा घर जग्गा किन्दा उब्रेको पैसाले उहाँले दैनिक समाज निकालिरहनुभयो । दैनिक समाज नेपालको पहिलो ब्रोडसिट दैनिक थियो । उपाध्यायको टङ्कप्रसाद आचार्यसँग गहिरो आत्मीयता र पारिवारिक सम्बन्ध थियो । उहाँ बिहानै पशुपतिनाथको दर्शन गरेर फर्किँदा बानेश्वरस्थित श्री आचार्यकहाँ पसेर मात्रै घर फर्किनुहुन्थ्यो । नेपाली पत्रकारिताका सच्चा प्रयोगधर्मी र मार्गनिर्माता बरिष्ठ पत्रकार श्री उपाध्यायप्रति हार्दिक श्रद्धासुमन स्वरूप यो उहाँको आलेख प्रस्तुत गरेका छौँ ! —सं.)

ति कुरा नभनेर पनि बुभिँदा रहेछन् । यस्तै एउटा घतलाग्दो प्रसङ्ग छ । अरुका नकारात्मक कुरा गर्न रुचि नदेखाउने टङ्कप्रसाद आचार्यसँग मैले जिज्ञासा राखेको थिएँ, ‘राजा महेन्द्र र तपाईका बीचको असमझदारी बढ्नुमा भारतीय हात छ भन्छन् नि ?’

आफ्नो भारत भ्रमणमा जवाहरलाल नेहरुले देखाएको आत्मीयता र सम्मानका कारण पनि उनले त्यसलाई ठाडै इन्कार गरे । वि.सं. २००७ सालमा मोहन शमशेरलाई भारत भ्रमणको निम्तो पठाउँदाको प्रसङ्ग होस् वा आफ्नो शासनकालमा चेकपोष्ट नियमित गर्ने सम्बन्धी सम्झौता गर्दा, नेहरुको नेपाल दृष्टि जहिल्यै पनि सकारात्मक रहेको उनको बुझाइ थियो । बरु उनको गुनासो भारतको बागडोर आफ्नो हातमा रहेको सम्झिने साउथ ब्लकप्रति थियो । तर, त्यसको पनि खुलेर आलोचना गरेनन् ।

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य (अभिवादन गर्दै) को ऐतिहासिक चीन भ्रमणका बेला भ्रमणटोलीमा स्व. उपाध्याय (सबैभन्दा दायाँ) ।

कुराकानीकै बीचमा आचार्यको मुखबाट फ्याट्ट निस्किहाल्यो, ‘राजा महेन्द्र त मेरै क्रियाकलापका कारण रुष्ट भएका हुन् ।’ राजाले चुल्ठी कम्पनी सरकारी कोषबाट राजदरबार कोषमा दाखिला गर्दाको प्रसङ्ग रहेछ । त्यो प्रधानमन्त्री आचार्यको १८ महिने शासनकालमा भएको ठूलै घटना हो । दरबारसँग सम्बन्धित भएर हो कि पत्रपत्रिकाले त्यसलाई उति महत्त्व दिएनन् ।

वि.सं. ०१४ सालको कुरा हो । अर्थमन्त्री सरदार गुन्जमान सिंह थिए भने देवमान आङदम्बे अर्थ उपमन्त्री । नेपाल सरकारको कोषमा कतैबाट करिब ५० हजार चुल्ठी कम्पनी (बेलायती सिक्का) दाखिला हुन आएको रहेछ । त्यस कम्पनीको नाम चुल्ठी रहनाको कारण पनि रोचक छ । त्यसको अगाडिको भागमा २० जून १८३७ देखि १९०१ सम्म बेलायती साम्राज्यको शासन सञ्चालन गरेकी महारानी भिक्टोरियाको तस्बिर अङ्कित थियो भने अर्कोपट्टि उनले पछाडि फर्काएर बाँधेको चुल्ठी अङ्कित थियो । पछि त्यसको नाम नै चुल्ठी कम्पनी रहन गयो र त्यही नाम प्रख्यात पनि भयो । असली चाँदीको एक तोलाको कम्पनी थियो त्यो । नेपालमा मात्र हैन, भारतका विभिन्न ठाउँमा भ्रमण गर्ने क्रममा मैले आफैँले पनि देखेको छु । सुन जोख्न खुबै प्रयोग गरिन्थ्यो त्यो (कम्पनी सिक्का) ।

आचार्यको मन्त्रिपरिषद्मा पनि दरबारियाहरूको उपस्थिति प्रशस्त थियो । कतैबाट राजा महेन्द्रलाई राज्यकोषमा चुल्ठी कम्पनी दाखिला हुन आएको खबर पु¥याइएछ । राजाले तुरुन्त त्यो रकम राजदरबार कोषमा दाखिला गर्न आदेश दिएछन् । राजाको आदेश पाएपछि प्रधानमन्त्रीलाई कसले सोध्ने? सिँधै लगेर दरबारको कोषमा दाखिला गरिदिएछन् । केही समयपछि आचार्यले यो कुरा थाहा पाएछन् । सम्बन्धित मन्त्रीदेखि सरोकारवाला निकायलाई बोलाएछन् र राजा महेन्द्रसँग तुरुन्त भेट्न चाहेको खबर दरबारमा पठाएछन् ।

प्रधानमन्त्री आचार्य त्यहाँ पुग्नासाथ ‘कुनै ठूलै समस्या आइपरेजस्तो’ लागेर राजा महेन्द्रले जिज्ञासा राखेछन् । आचार्यले चुल्ठी कम्पनी राजदरबार कोषमा दाखिला गरेको प्रसङ्ग उप्काउँदा उनी आश्चर्यचकित भए रे ! ‘यसमा यति धेरै आत्तिनुपर्ने कुरा नै के छ र ? विस्तारमा कुरा गरौँला नि !’ भनेर राजाले यस प्रसङ्गलाई टार्ने प्रयास गरेछन् । तर, आचार्यले ‘जनताले आधा पेट खाएर बाहिरबाट दाखिला गरेको राजश्व होस् या विदेशी सहयोग, यस्तो रकम सरकारी कोषबाट राजदरबार कोषमा दाखिला गर्दा जनताको विश्वास राजा र सरकार दुबैबाट उठ्छ । तसर्थ, यो चुल्ठी कम्पनी तुरुन्तै सरकारी कोषमा दाखिला गरिदिनुप¥यो’ भन्ने आसयको कुरा राखेछन् ।

राजा महेन्द्रले पनि के सोचे, तत्काल जवाफ दिएछन्, ‘प्रधानमन्त्री, अब ढुक्कले फिर्ता भए हुन्छ, त्यो कम्पनी सरकारी कोषमै दाखिला हुन्छ ।’ राजा महेन्द्रले त्यसो भनेको एक–दुई दिनमै चुल्ठी कम्पनी सरकारी कोषमा फिर्ता भयो । तर, त्यस घटनापछि आचार्यले दरबार धाइरहनु परेन । चुल्ठी कम्पनी फिर्तासँगै उनी पनि प्रधानमन्त्रीबाट फिर्ता भए ।

\चुल्ठी कम्पनीको घटना आचार्य बहिर्गमनको मुख्य चुरो हो कि भन्ने मलाई लाग्छ । राजाले सहज रूपमै कम्पनी फर्काइदिएछन् । तर, उनको मनमा आचार्यप्रति बदलाको भावना रह्यो । आचार्य त राजाले कम्पनी फर्काउन आनाकानी गरे भने राजीनामा नै टक्र्याइदिन्छु भन्दै त्यहाँ पुगेका रहेछन् । किनभने, हर्दम उनी आफ्नो कोटको खल्तीमा राजीनामा पत्र बोकेर हिड्थे । भन्थे, ‘कतिखेर के पर्छ, के थाहा , कहाँ लेखिबस्नु ? पहिले नै तयारी अवस्थामा बोकेर हिँड्यो भने मिति राखेर सही गरिदिए पुगिहाल्यो ।’

राजा महेन्द्र र आचार्यबीच द्वन्द्व चर्किनुमा चुल्ठी कम्पनी राज्यकोषमा फिर्ता ल्याउने आचार्यको निर्णय नै प्रमुख रहेछ । यति हुँदा पनि आचार्य आफ्नो निर्णयमा कत्ति पनि पश्चाताप गरिहेका थिएनन् । बरु, मसँग प्रतिप्रश्न गरिरहेका थिए, ‘जनताको सम्पत्ति जनतालाई फिर्ता दिनु मेरो पहिलो कर्तब्य हो । यसमा केको पश्चाताप? यही कारण मेरो प्रधानमन्त्री पद गएको हो भने त गर्वलायक नै कुरा भयो नि, होइन र ?’

साभारः पत्रकारिताका सतिसाल मणिराज उपाध्याय स्मृतिग्रन्थ (पृ. ४०८)

 

Facebook Comments