परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ज्येष्ठ नागरिकः एक्लोपना ठूलो समस्या बन्दै 

जनसंख्यामा आएको परिवर्तनसँगै जन्मदरमा आएको कमीले परिवार सानो बन्दै गएको छ । संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्ने क्रममा तिव्रता आएको छ । परिवार निर्माणमा आएको यस्तो परिवर्तनले परिवारका कमजोर सदस्यलार्ई एक्ल्याउँदै लगेको छ । जब कि पहिला परिवारका कमजोर सदस्यको संरक्षण संयुक्त परिवारमा हुने गर्दथ्यो । परिवारको संरचनामा आएको यस्तो परिवर्तनले ज्येष्ठ नागरिकहरू एक्लिँदै जान थालेका छन् ।

अहिलेको प्रतिस्पर्धा र कामकाजी जीवनशैलीका कारण परिवारका हरेक सदस्य कुनै न कुनै काममा व्यस्त रहने हुन्छन् । सन्तानले चाहेर पनि बा–आमासँगै रहेर समय विताउन पाएका हुँदैनन् । जसको कारण बाध्यतावश पनि ज्येष्ठ नागरिक परिवारबाट एक्लिन पुगेका छन् ।

हाम्रो समाजमा पनि एक्लोपना ठूलो समस्याको रूपमा देखिइसकेको छ । यसतर्फ राज्य र समाजको ध्यान अहिलेसम्म पुगेको देखिँदैन । ज्येष्ठ नगरिकलाई कल्याणकारी दृष्टिकोणले हेरेर मात्र हुँदैन । ठोस योजना, कार्यक्रम र जनचेतना ल्याउनु आजको आवश्यकता हो ।

शिक्षा तथा रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ । लामो समय विदेशिने र उतै वस्ने गरेका कारण ठूलो परिवार भएर पनि बा–आमा एक्लिन पुगेका छन् ।

सुविधा तथा सहरप्रतिको आकर्षणले बसाइसराइ बढेको छ । सन्तान सहरतिर लाग्ने, गाउँ–घरमा बा–आमा एक्लै पर्ने अवस्था आएको छ । परिवारले सहर वा बस्ती सरेको ठाउँमा लगे पनि नौलो ठाउँ, चिनजान, साथीभाइसँगको विछोडले बा–आमा एक्लै पर्दै गएका छन् ।

जीवनसाथीको मृत्यु र निसन्तान जस्ता कारणले एक्लो पर्ने त स्वाभाविक भइहाल्यो ।

विकासको गतिसँगै आएको परिवर्तनले हाम्रो समुदायको संरचनामा पनि परिवर्तन ल्याएको छ । समुदाय मिश्रित हुन गएको छ । एउटा खास वर्गको समुदायमा भिन्नभिन्न ठाउँ, समुदायबाट आएका मानिस मिसिन पुगेका छन् । यस्तो मिश्रित समुदायमा नजिकको पारस्परिक सम्बन्ध पाउने अवस्था कमै रहन्छ । भावना मिल्ने वा जीवनका भोगाइहरूमा सँंगै रहेका साथी नपाउँदा समुदायबाट ज्येष्ठ नागरिकहरू एक्लिँदै गएका छन् ।

प्रविधिले हाम्रो जीवनलार्ई सहज बनाइदिएको छ । डिजिटल सञ्चार तथा सामाजिक सञ्जालले एकअर्कालाई जोडेको छ । एक्लै रहँदाको समयमा पनि त्यस्ता प्रविधिको प्रयोगले समय कटाउन, मनोरञ्जन लिन र अरुसँग सम्पर्क राख्न सहज बनेको छ । तर ज्येष्ठ नागरिक त्यस्ता साधनको प्रयोग गर्न नआउँदा वा नपाउँदा पनि एक्लिँदै गएका छन् ।

अहिलेको कोरोनाको महामारीलाई नियन्त्रणमा ल्याउन बन्दाबन्दी र सामाजिक दूरी कायम गर्ने विधि अपनाइएको छ । यसले कोरोना भाइरसको नियन्त्रण गर्न पक्कै राम्रो काम गरेको छ । तर पहिले नै एक्लोपनको समस्या भोग्दै आएका ज्येष्ठ नागरिकलाई यस बन्दाबन्दी र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाले थप एक्ल्याउँदै लगेको छ ।

अन्य आकर्षणहरू

परिवारपछि ज्येष्ठ नागरिकको नजिकको अर्को सम्बन्ध भनेको समुदाय हो । त्यो पनि सामाजिक दूरी अपनाउँदा टाढिन पुगेको छ ।

परिवारको संरचनामा आएको परिवर्तन, प्रतिस्पर्धा र कामकाजी जीवनशैली, शिक्षा तथा वैदेशिक रोजगारी, सुविधा तथा सहरप्रतिको आकर्षण जस्ता कारणहरूले ज्येष्ठ नागरिक एक्लिँदै आएका छन् । प्रविधिमा पहुँच नहुँदा एक्लोपन हटाउने विकल्पको साधनबाट पनि बञ्चित भएर एक्लिन पुगेका छन् । अहिले आएर कोरोना भाइरस अर्को थप कारण बन्न पुगेको छ ।

पारस्परिक सम्बन्धबाट जब मानिस एक्लो हुन्छ र उसले आफूलाई एक्लो भएको महसुस गर्दछ भने त्यसलाई एक्लोपना भन्ने गरिन्छ । एक्लोपना, ज्येष्ठ नागरिकको समस्यामध्ये एक ठूलो समस्या हो । एक अध्ययनका अनुुसार, पाँच जनामा एक जना ज्येष्ठ नागरिक एक्लोपनाको समस्यामा रहेका देखिएको छ ।

एक्लोपना अहिले विश्वव्यापी समस्याको रूपमा देखा परेको छ । यसलाई महामारीको रूपमा पनि हेर्न थालिएको छ । यस लेखमा विशेषगरी ज्येष्ठ नागरिक केन्द्रित भएर उनीहरूका विषयवस्तु केलाइएको छ । तर बालबालिका, युवायुवती, वयस्क र सवै उमेरका मानिस यस समस्यामा पर्दै गएका छन् । यसले कुनै पनि उमेर र पृष्ठभूमिकामा रहेका जो कोहीलाई पनि असर गर्न सक्दछ । एक्लोपना यस समयको सवैभन्दा ठूलो सार्वजनिक चुनौतीको रूपमा देखा परेको छ । अमेरिकाको राष्ट्रिय सर्वेक्षणले यस कुराको पुष्टि गर्दछ ।

एक्लोपनको असर सीँधै स्वास्थ्यमा पर्दछ । त्यसैले यसलाई एक किसिमको गम्भीर स्वास्थ्य समस्याको रूपमा हेरिन्छ । उदासिनता तथा निराशा, चिन्ता, मुटु सम्बन्घी रोग तथा पक्षघात, स्मरणमा ह्रास, निर्णय क्षमतामा ह्रास, मानसिक रोग, अल्जाइमर्स जस्ता रोगका कारण बन्दछ एक्लोपना । यसको डरलाग्दो पक्ष भनेको लामो समयसम्मको एक्लोपनले जीवनप्रतिको मोहमा ह्रास ल्याउँदछ । मठ मन्दिर, पाटीपौवा, सडक तथा सार्वजनिक स्थलहरूमा आजकल ज्येष्ठ नागरिकहरू वेवारिशे हालतमा देखिनु र उनीहरूमा आत्महत्याका घटना बढ्नुुको कारणमध्ये एक यो पनि हो ।

विकासोन्मुख देशहरूमा भन्दा विकसित देशहरूमा एक्लोपनाको समस्या बढी देखिएको छ । एक महिनासम्म पनि कसैसँग बोल्न नपाएको, आप्mनो भावना व्यक्त गर्न नपाएको अवस्था विकसित देशहरूमा पाइएको छ ।

विकसित देशहरूमा एक्लोपनाको समस्यालाई गहिरो रूपमा लिई यसको समाधानमा लाग्ने वेलायत विश्वमा पहिलो मुलुक बनेको छ । वेलायत सरकारले एक्लोपना सम्बन्धी मन्त्रालय गठन गरी त्यो हेर्ने मन्त्री नै नियुक्त गरेको छ । यस समस्याबाट मुक्ति पाउन विभिन्न रणनीति अपनाउँदै आएको छ । प्राथमिक र माध्यमिक स्तरको पाठ्यक्रम बनाई सन् २०२० अर्थात् यसै वर्षदेखि विद्यालयमा एक्लोपना विषयको पठनपाठन सुरु गर्ने योजना लिएको छ । एक्लोपना र सामाजिक सम्बन्धको मूल्य, मान्यताका विषयमा बालबालिकाहरूलाई सिकाउन गुरुयोजना सञ्चालन गरिएको छ ।

यस लेखमा ज्येष्ठ नागरिक एक्लिँदै गएका प्रस्तुत विषयवस्तु हाम्रै देशको अहिलेको अवस्थालाई आधार मानेर गरिएको हो । हाम्रो समाजमा पनि एक्लोपना ठूलो समस्याको रूपमा देखिइसकेको छ । यसतर्फ राज्य र समाजको ध्यान अहिलेसम्म पुगेको देखिँदैन । ज्येष्ठ नगरिकलाई कल्याणकारी दृष्टिकोणले हेरेर मात्र हुँदैन । ठोस योजना, कार्यक्रम र जनचेतना ल्याउनु आजको आवश्यकता हो ।

Facebook Comments