फर्किन्छ कैले मति?
कविता (छन्द: शार्दूलविक्रीडित)
यो नेपाल लुटेर म्लेच्छहरुले अन्तै बुझाएपछि
गर्दै दुच्छरको बराबर घृणा थाक्दैन यो सन्तति
लादेको अभिसन्धिबाट नपुगी दारेर छाला जति
अर्को दुश्मन तीक्ष्ण खञ्जर धसी चिर्दैछ छाती अति॥१
धेरै भाग विदेशभित्र मिसिए मैदान औ टाकुरा
को आवाज बुलन्द गर्दछ यहाँ खैँचेर खै पाखुरा
माताको जब अस्मिता छ लुटिँदै छोपी चपाए कुरा
नाचे भो अब मर्दले छमछमी लाएर धागा चुरा॥२
भारी भूल भयो अवश्य पहिले लेख्नै नसक्ने गरी
आस्थाले प्रिय पाउ नै जमिनमा टेक्नै नसक्ने गरी
यो भाङ्लो थपियो र पल्टिन गयौँ उत्तानु टाङै परी
बढ्दा संयम साथ बुद्धि बलले जाने छ बाधा टरी॥३
मत्तातुल्य भयो छिमेकतिरको खुङ्खार झेला भयो
आफ्नो भूतलमा पराइ जनको निर्बिध्न भेला भयो
माटोको महिमा भुलेर रहँदा यस्तो झमेला भयो
आमाको दिल भित्रसम्म चिरियो उत्पात हेला भयो॥४
हाम्रो सुन्दर सार्वभौम धरती ताकी गरे है छल
पाएको अधिकार खुम्चिन गयो खाए, उडाए फल
केले यो पशुराज्य झाँगिन गयो मर्ने सदा दुर्बल?
नेपाली नर-लोक घोर दबिए आएन हाँस्ने पल॥५
धोकामा घनघोर उल्झन थपी तानेर उम्दा जति
झम्टेको छ जहाँ हुँडार जसरी पारेर छाडा गति
नेपाली जुन सार्वभौम जनता खप्दैछ यस्तो खती
यस्ता यी अपराधखोरहरुको फर्किन्छ कैले मति?॥६