परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जनपक्षीय पत्रकारिता र प्रगतिवादी साहित्यका आर्दश व्यक्तित्वः कृष्णसेन इच्छुक

काठमाडौं । प्रेस संगठन नेपाल आज एक विज्ञप्ति प्रकाशित गरी पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रेस संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका आर्दश व्यक्तित्व इच्छुकको स्मृति दिवस कोरोना महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको कुरा पनि स्पष्ट पार्नुभएको छ । विज्ञप्तिको पूर्ण पाठ निम्न अनुसार छ :

आज जेठ १३ गते, पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस । जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यत्तित्व इच्छुकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । 

वि.सं २०१३ साल कार्तिक ३ दिने जन्मिनुभएका इच्छुक२०५९ साल जेष्ठ ६ गते गिरफ्तार हुनुभएको थियो । २०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर उहाँको कायरतापूर्वक हत्या गरिएको थियो । जनपक्षीय पत्रकारिता मार्फत् राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको लागि उहाँले दिनुभएको योगदान असाध्यै महत्वपूर्ण छ । यसैगरी प्रगतिवादी साहित्यको माध्यमबाट प्रगतिशील चेतना निर्माण, समाज परिवर्तन र रुपान्तरणका लागि पु¥याउनु भएको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । नेपालका संस्कृतिकर्मीहरुले सांस्कृतिक शहीदको रुपमा पनि उहाँको उत्तिकै श्रद्धा र आदर गर्ने गरेका छन् । उहाँका शोकाञ्जली (२०४८, इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरी (२०५८) जस्ता कालजयी कृतिहरु प्रकाशित छन् । 

इच्छुकको सम्झना र सम्मानमा हरेक वर्ष जेठ १३ गते स्मृति दिवस भव्यताको साथ प्रेस संगठन, नेपालले मनाउँदै आएको सबैलाई अवगत नै छ । हरेक वर्ष कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारशक्तितारा स्मृति पत्रकारिता पुरस्कारपनि प्रदान गर्दै आइएको थियो । तर यो वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण विश्व ठूलो संकटको अवस्थाबाट गुज्रिरहेको छ । नेपाल पनि अहिले बन्दाबन्दीको अवस्थामा छ । मानव समाज नै ठूलो त्रासदी र अनिश्चितताको भूमरीबाट गुज्रिरहेको अवस्थामा औपचारिक कार्यक्रमहरु गरेर स्मृति दिवस मनाउन सम्भव भएन ।

तसर्थ यो वर्ष कृष्णसेन इच्छुकस्मृति दिवसमा केन्द्रीय कमिटिले कुनै अपौचारिक सभा नगर्ने जानकारी गराउन चाहन्छौं । मातहतका कमिटिका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागु गरेको बन्दाबन्दीको नियमलाई पूर्ण पालना गर्दै सृजनशील कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन अपिल गर्दछौं । साथै उक्त पुरस्कार पनि बन्दाबन्दीको अवस्था हटेपछि सिफारिस समिति बनाएर घोषणा गरिने छ । 

कोरोना भाइरस संक्रमणका कारण कतिपय पत्रकार साथीहरु उपचारको क्रममा हुनुहुन्छ । हामी उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै यो विषम परिस्थीतिमा कार्यक्षेत्रमा खटिरहनुभएका पत्रकार साथीहरुलाई उच्च सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गर्दछौं ।  

Facebook Comments