परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नागार्जुन नगरपालिका वडा नंबर १० लाई करीब ९६ हजार रुपैयाँका स्वास्थ्य उपकरण

काठमाडौँ । जागृति बाल तथा युवा सरोकार नेपालले नागार्जुन नगरपालिका वडा नंबर १० लाई ९६ हजार रुपैयाँ बढीका स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।

सो संस्थाका तर्फबाट अध्यक्ष तिलोत्तम पौडेल र सदस्य देवकी आचार्यले सो स्वास्थ्य उपकरण वडाअध्यक्ष सुन्दर केसीलाई हस्तान्तरण गर्नुभयो ।

सो उपकरण बुझ्दै वडाध्यक्ष सुन्दर केसीले विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)  को संक्रमणबाट मानव समुदायमा गम्भीर संकट परेका बेला स्वास्थ्य उपकरण उपलब्ध गराइदिएकोमा धन्यवाद दिनुभयो ।

हस्तान्तरण गरिएका स्वास्थ्य उपकरणहरूमा टप ग्लोब्स, पेपर मास्क, मास्क केएन ९५, स्यानिटइजर, पीपीई सेट तथा इन्फ्रारेड थर्मोमिटर रहेका छन् । ती उपकरणहरू स्यूचाटार स्वास्थ्य चौकीले उपयोग गर्नेछ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कोभिड १९ विरूद्धको यो लडाईमा समुदाय स्तरमा साथ दिने उद्देश्यले क्यानलान स्वीट्जरल्याण्डको सहयोगमा आफ्नो क्लबले विभिन्न पालिकाहरूलाई मद्दत गर्दै आएको बताउनुभयो । परिसंवाद डट कमसँग कुरा गर्दै उहाँले अहिले १० वटा जिल्लाका १८ वटा पालिका तथा नवलपरासी (सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पतालमा करीब २५ लाख रूपैयाँ बराबरका स्वास्थ्य उपकरण सहयोग गरिसकेको र थप २५ लाख रूपैयाँ बराबरका उपकरण वितरणको क्रममा रहेको जानकारी दिनुभयो । लकडाउनले गर्दा उपकरण लैजान केही असहज भएको पनि उहाँको भनाइ थियो ।

यसैबीच, नागार्जुन नगरपालिका वडा नंबर १० का वडाअध्यक्ष सुन्दर के.सी. ले परिसंवाद डट कमसँग कुरा गर्दै आफ्नो वडाका विपन्न तथा असहाय व्यक्तिहरूको राहत र वडावासीको जीवनरक्षाका लागि वडाले कोभिड १९ राहतसम्बन्धी कोष खडा गरी स्यूचाटार सहकारीमा खाता खोलेको हुँदा यो विपत्का बेला सो खातामा सक्दो सहयोग रकम जम्मा मानवीयताको प्रदर्शन गर्न क्षमता र मन भएका सबै वडावासीहरूलाई अनुरोध गर्नुभएको छ । उहाँले सो खाताको सञ्चालन पूर्ण रूपमा पारदर्शी ढङ्गले हुने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वडा कार्यालयले भोकले कसैलाई पनि मर्न नदिने र काम गर्न सक्नेलाई काम दिएर पारिश्रमिक दिने गरेको बताउँदै कसैलाई बाँच्नै गा¥हो भएको भए आफूलाई वडामा सम्पर्क गर्न पनि वडाध्यक्ष सुन्दर के.सी. ले आग्रह गर्नुभयो । नागार्जुन नगरपालिकाको वडा नंबर १० मा निर्मलीकरणका लागि स्प्रे गर्नुका साथै सरसफाइको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

Facebook Comments