परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कुल गार्हस्थ उत्पादनको क्षेत्रगत वृद्धिमा कोरोनाको प्रभाव

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारणले विश्वको कुल गार्हस्थ उत्पादनमा ९ खर्ब अमेरिकी डलरको क्षति आगामी दुई बर्षमा हुने र चीन, अमेरिका र वेलायत जस्ता देशहरूले समेत उनीहरूको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने अनुमान गरिएको छ । यसै क्रममा नेपालको कुल गार्हस्थ उत्पादनमा वृद्धि २.२७ प्रतिशत रहने प्रक्षेपण तथ्यांक विभागले गरेको छ भने अघिल्लो सालको नेपालको कुल गार्हस्थ उत्पादनमा वृद्धि ६.९९ प्रतिशत रहेको थियो । कुल गार्हस्थ उत्पादनमा योगदान दिने क्षेत्रहरूको वृद्धिदर यस प्रकार छः

यसरी कुल गार्हस्थ उत्पादनको खानी तथा उत्खनन्, उद्योग, निर्माण, होटेल तथा रेष्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण जस्ता क्षेत्रगत वृद्धिमा कोरोनाको प्रभाव नराम्रोसँग परेको देखिन्छ । यसबाट जोगिन यी क्षेत्रहरूमा सरकारले राहतका प्याकेज ल्याउनु जरुरी हुन्छ भने अरु कम असर परेका र असरै नदेखिएका क्षेत्रहरूमा पनि समयमा नै सजकता अपनाउन सके रोगको महामारी र यसले निम्त्याउने भोकमरीबाट देशलार्ई जोगाउन सकिन्छ

(१) कृषि तथा वनः आर्थिक वर्ष २०७६/०७७ मा यो क्षेत्रले कुल गार्हस्थ उत्पादनको २७.०८ प्रतिशत योगदान दिएको तथ्याङ्क विभागले प्रारम्भिक अनुमान गरेको छ । यो क्षेत्रको वृद्धिदर २.४८ प्रतिशत रहने पनि यस विभागले अनुमान गरेको छ । यो वृद्धि अघिल्लो सालको ५.०५ प्रतिशतको तुलनामा कमी हो । यसो हुनुको मुख्य कारण धान उत्पादनमा कमी हुनु हो भने कोरोनाले तरकारी, दूध उत्पादन र आपूर्तिमा रोकावट आउनु नै हो । तर कोरोनाले गहुँ उत्पादन र फलफुलको उत्पादनमा खासै असर नपरेको देखिन्छ ।

कृषिमा पर्ने समस्याबाट छुटकारा पाउन सरकारले तत्कालै बारीमा सड्न लागेको उत्पादनलाई बजारसम्म पुर्याउने र बाली लगाउन लागेका किसानहरूका खेतमा मल र बिऊ पुर्याउनु जरुरी छ भने आगामी वर्षको बजेटमा ग्रामिण कृषिलार्ई अगाडि बढाउने नीतिलार्ई पहिलो प्राथमिकता दिनुपर्छ । यसका लागि कृषि र वन क्षेत्रको पूर्ण सदुपयोग गर्न गाउँघरका बाँझा खेतबारीमा खेती गर्ने, विदेशबाट सिप सिकेर आएका युवाले त्यो सिप आफ्नै खेतबारीमा देखाउने बेला आएको छ भनेर उनीहरूलाई बुझाउनुपर्छ । त्यसको लागि सरकारले सहुलियत ऋणदेखि, मल, बिऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ । त्यति मात्रै होइन, कृषकको उत्पादन बिक्रीको ग्यारेन्टी पनि सरकारले लिनुपर्छ । किसानले दूध बिक्री नभएर सडकमा पोख्ने, तरकारी बिक्री नभएर बारीमै सडेर जाने र उखु किसानले भुक्तानी नपाएका जस्ता घटनाले कृषि पेशा अँगाल्न चाहनेहरूमा निराशा पैदा भएको छ । तर सरकारले किसानलाई तपाईंको उत्पादन हामीले किन्छौँ भनेर आश्वस्त गराउन सक्नुपर्छ । यसो गर्दा देशमै प्रशस्त रोजगारी सिर्जना हुन जान्छ ।

वनको सदुपयोग गर्नका लागि वातावरणमा नकारात्मक असर नपर्ने गरी पुराना रूख काट्ने र नयाँ रूख रोप्ने गर्नुपर्छ । बाहिरबाट करोडौं रुपैयाँको काठ आयात गर्ने तर देशमै भएका काठ कुहिएर जाने अवस्थाको अन्त्य हुनुपर्छ । दिगो विकास कायम गर्दै वनको सदुपयोग गरेर पनि हामीले धेरैलार्ई देशभित्रै रोजगारी दिन सकिन्छ ।

(२) मत्स्य पालनः चालु आर्थिक वर्षमा यो क्षेत्रले कुल गार्हस्थ उत्पादनको ०.५७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यो क्षेत्रलार्ई कोरोनाले खासै असर नपारेको देखिन्छ । गत सालको तुलनामा चालु आर्थिक वर्षमा यसको वृद्धि प्रतिशत राम्रो नै हुनु यसको प्रमाण हो । यो वर्षमा यसको वृद्धिदर ७.१७ प्रतिशत रहने अनुमान गरिएको छ भने गत सालमा यसको वृद्धिदर ५.६० मात्र थियो । यो क्षेत्रमा सरकारी र निजी क्षेत्रको प्रयास सफल भएका कारणले कोरोनाले त्यति ठूलै नोक्सानी गर्न नसकेको तथ्याङ्क विभागको निष्कर्ष छ । तर पोखरीमा उत्पादन भएका माछालाई बजारसम्म पुर्याउने र खाली भएका पोखरीहरूमा माछाका भुरा छोड्ने व्यवस्था तत्काल नमिलाउने हो भने यो क्षेत्र पनि कोरोनाबाट नराम्ररी प्रभावित हुन्छ ।

(३) खानी तथा उत्खनन्ः खानी उत्खननको क्षेत्रमा कोरोनाले नराम्रोसँग असर गरेको छ । यो क्षेत्रमा गत वर्षमा वृद्धिदर ८.९१ प्रतिशत थियो भने चालु वर्षमा घटेर –०.६९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ अर्थात वृद्धिदर नकारात्मकतिर जाने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा ०.५५ प्रतिशतको योगदान दिएको यो क्षेत्रमा कोरोनाको कारणले आपूर्ति प्रणालीमा आएको रोकावट तथा उत्पादनमा आएको कमीले वृद्धि दर ऋणात्मक भएको हो ।

(४) उद्योगः कोरोनाको कारणले नराम्रो प्रभाव परेको र भविष्यमा पनि प्रभाव पर्ने क्षेत्र भनेको उद्योग क्षेत्र पनि हो । गत साल ६.८२ प्रतिशतको वृद्धिदर रहेको यो क्षेत्रमा महामारीको कारणले वृद्धिदर ऋणात्मक भएर –२.२७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा ५.०९ प्रतिशतको योगदान दिने अनुमान गरिएको यो क्षेत्रमा उद्योगलाई चाहिने कच्चा पदार्थको रोकावट र उत्पादित वस्तुलाई बन्दाबन्दीले बजारसम्म पु¥याउन समस्या भएको कारणले वृद्धिदरमा समस्या आउने तथ्याङ्क विभागले प्रारम्भिक अनुमान गरेको छ । यो क्षेत्रमा जोखिम न्युनिकरण गर्नका लागि सरकारले अनुदान प्याकेजको घोषणा गर्नुका साथै स्वास्थ्य सुरक्षा अपनाएर तत्कालै उद्योग सञ्चालनमा ल्याउनु पर्छ ।

(५) विद्युत, ग्यास तथा पानीः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा १.४१ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको यो क्षेत्र कोरोनाले खासै असर नगर्ने क्षेत्र हो । चालु वर्ष यस क्षेत्रमा २८.७५ प्रतिशत वृद्धि दर रहने प्रक्षेपण गरिएको बाट पनि यो क्षेत्र कोरोनाको कम प्रभाव पर्ने क्षेत्र हो भन्न सकिन्छ । यसो हुनुको मुख्य कारण भने गत वर्षको तुलनामा यो वर्ष विद्युत उत्पादन बढी हुनु नै हो ।

(६) निर्माण क्षेत्रः यो आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको ७.२३ प्रतिशत योगदान दिने अनुमान गरिएको यो क्षेत्रलार्ई कोरोनाले नराम्रोसँग प्रभाव पारेको र वृद्धिदर  –०.३१ प्रतिशत (ऋणात्मक) रहने अनुमान गरिएको छ । निर्माण क्षेत्रलार्ई आवश्यक पर्ने सामग्रीहरू विश्व बजारबाट आयात गर्न नसक्नु र यहाँ भएका पनि बन्दाबन्दीले ढुवानी गर्न नसक्नु साथै यो क्षेत्र लगभग बन्दको अवस्थामा रहेको हुनाले वृद्धिदर ऋणात्मक भएको हो ।

(७) थोक तथा खुद्रा व्यापारः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा १३.८९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको यो क्षेत्रमा पनि कोरोनाको असर पर्ने र वृद्धिदर अघिल्लो वर्षको ११.०६ प्रतिशतको वृद्धिमा कमी आई २.११ प्रतिशत मात्र वृद्धि हुने अनुमान तथ्याङ्क विभागले लगाएको छ । यसो हुनुको मुख्य कारण बन्दाबन्दीले आपूर्ति व्यवस्थामा कमी आउनु र जनतालाई आवश्यकता अनुसार सेवा दिन नसक्नु नै हो ।

(८) होटेल तथा रेष्टुरेन्टः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा १.४१ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको यो क्षेत्रमा कोरोनाले सबैभन्दा नराम्रोसँग असर पारेको देखिन्छ । तत्कालै आन्तरिक र वाह्य पर्यटन आवागमनमा सुचारु हुने कुरा त्यति सहज देखिँदैन । धेरै होटल–रेष्टुरेन्ट बन्द अवस्थामा छन् । हामीकहाँ यो क्षेत्रको ठूलो स्थिर लागत छ । यदि यो स्थिर लागतलार्ई समयमा व्यवस्थित गर्न सकिएन भने कोभिड १९को कारणले धेरै रिसोर्ट, होटेल र रेस्टुरेन्ट बन्द हुने सम्भावना पनि उत्तिकै रहन्छ । यो क्षेत्रमा कोरोनाका कारणले अघिल्लो आर्थिक वर्षको वृद्धिदर ७.३३ बाट घटेर यो आर्थिक वर्षमा  –१६.३० प्रतिशतको ऋणात्मक वृद्धिदर आएको अनुमान गरिएको छ ।

(९) यातायात, सञ्चार तथा भण्डारणः यो क्षेत्रमा पनि कोरोनाको असर परेको देखिन्छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको ६.४२ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान लगाइएको यो क्षेत्रमा गत सालको वृद्धिदर ५.९० मा कमी आएर –२.४५ को ऋणात्मक वृद्धिदर हुने अनुमान लगाएबाट पनि यो क्षेत्र कोरोनाले नराम्रोसँग प्रभावित भएको पुष्टि हुन्छ । यसो हुनुको मुख्य कारण भनेको बन्दाबन्दीले विश्वव्यापी र आन्तरिक दुवै यातायात ठप्प हुनु नै हो ।

(१०) वित्तीय मध्यस्थताः यो क्षेत्र अन्तर्गत वैंक, बीमा, वित्त कम्पनी आदि पर्दछन् । यो आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा ६.६२ प्रतिशत योगदान दिने अनुमान गरिएको यो क्षेत्रमा कोरोनाले खासै असर नगरेको प्रारम्भिक अनुमान  छ । अघिल्लो वर्ष यो क्षेत्रको वृद्धिदर ६.१८ प्रतिशत थियो भने यो आर्थिक वर्षमा यसको वृद्धिदर ५.१५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । अन्य क्षेत्र हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष खासै कमी छैन । यसो हुनुको कारण यो क्षेत्रको क्रियाकलापमा वृद्धि हुनु नै हो ।

आगामी बर्षको बजेटमा स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएन भने देशमा महामारीले ठूलै नोक्सानी पार्ने पनि देखिन्छ ।

(११) घरजग्गा कारोबार तथा व्यावसायिक क्षेत्रः यो आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको ११.८५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएकोे यो क्षेत्रमा पनि कोरोनाको असर परेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको वृद्धि ६.१२ को तुलनामा यो वर्षको वृद्धिदर ३.२५ प्रतिशत हुने अनुमान गर्नु भनेको पछिल्लो अवस्थामा यसको कारोबारमा गिरावट आउनु नै हो । तर यो क्षेत्रमा घरपरिवारले उपभोग गरेको आफ्नै घरको आवासीय सेवालाई गणना नगर्ने हो भने फेरि वृद्धिदर ऋणात्मक हुन जान्छ ।

(१२) सार्वजनिक प्रशासन तथा रक्षाः कोरोनाले असर नगरेको क्षेत्रमध्ये यो पनि एउटा हो । चालु आर्थिक वर्षमा ३.१७ प्रतिशत योगदान दिएकोे प्रारम्भिक अनुमान रहेको यो क्षेत्रको वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी अर्थात ६.९१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्षमा यसको वृद्धिदर यो वर्षको भन्दा कम अर्थात् ५.५४ प्रतिशत थियो । यसो हुनुको मुख्य कारण तीन तहका सरकारले सार्वजनिक प्रशासन र रक्षमा गरेको खर्च नै हो भनी तथ्याङ्क विभागले औँल्याएको छ ।

(१३) शिक्षाः आर्थिक दृष्टिकोणबाट हेर्दा कोरोनाले यो क्षेत्रलाई खासै असर नपारेको प्रारम्भिक अनुमान गर्न सकिन्छ । अघिल्लो वर्षको वृद्धिदर ५.११ प्रतिशत र यो वर्षको वृद्धिदर ४.८८ प्रतिशत हुने अनुमान गरिएबाट पनि यो क्षेत्रको आर्थिक पाटोमा खासै नकारात्मक असर नपरेको पुष्टि हुन्छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा ७.६७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान यो क्षेत्रमा गरिएको छ । यो क्षेत्रमा बन्दाबन्दीका कारणले पठनपाठन र परिक्षा ठप्प भए पनि अनलाइन कक्षा सञ्चालन सुरु भएबाट अब यो क्षेत्र प्रविधी मैत्री हुने आशा गरिएको क्षेत्र हो ।

(१४) स्वास्थ्य तथा सामाजिक कार्यः सरकारले स्वास्थ्य क्षेत्रमा गरेको खर्चका कारणले यो क्षेत्रको वृद्धि दर राम्रो भए पनि अन्य हिसावले हेर्दा स्वास्थ्य क्षेत्रमा पनि कोरोनाको सकस र दबाब ठूलै परेको छ । यो क्षेत्रमा अघिल्लो वर्षको वृद्धि ६.७५ को तुलनामा यो वर्षकोे वृद्धिदर ७.०७ प्रतिशतले हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा योगदान १.८८ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । आगामी बर्षको बजेटमा स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएन भने देशमा महामारीले ठूलै नोक्सानी पार्ने पनि देखिन्छ ।

(१५) अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा ५.१८ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान लगाइएको यो क्षेत्रमा कोरोनाको असर खासै परेको देखिदैन । तीनै तहको सरकारले सामुदायिक र सामाजिक क्षेत्रमा गरेको खर्च र निजी क्षेत्रबाट सञ्चालित टेलिभिजन र एफ. एम. रेडियो जस्ता सेवाहरूको आर्थिक गतिविधिमा वृद्धि भएको कारणले यो क्षेत्रको वृद्धिदरमा खासै कमी नआएको देखिन्छ । यो क्षेत्रमा अघिल्लो वर्षको वृद्धिदर ५.७३ प्रतिशत थियो भने यो वर्षमा यसको वृद्धिदर ४.७० प्रतिशत रहने अनुमान गरिएको छ भने यो क्षेत्रले चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा ५.१८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान तथ्याङ्क विभागले गरेको छ ।

यसरी कुल गार्हस्थ उत्पादनको खानी तथा उत्खनन्, उद्योग, निर्माण, होटेल तथा रेष्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण जस्ता क्षेत्रगत वृद्धिमा कोरोनाको प्रभाव नराम्रोसँग परेको देखिन्छ । यसबाट जोगिन यी क्षेत्रहरूमा सरकारले राहतका प्याकेज ल्याउनु जरुरी हुन्छ भने अरु कम असर परेका र असरै नदेखिएका क्षेत्रहरूमा पनि समयमा नै सजकता अपनाउन सके रोगको महामारी र यसले निम्त्याउने भोकमरीबाट देशलार्ई जोगाउन सकिन्छ ।

Facebook Comments