परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अबका केही दिन ‘अतिथी देवो भव’ लाई स्थगित गरौं

आदरणीय दाजुभाइ, दिदी बहिनीहरु,
नमस्कार !

म कलाकार तैयब शाह, हाल महामारीको रुपमा विश्वभर फैलिई रहेको कोरोना भाईरस र सोसँग हाम्रो देशमा पनि उब्जेका केही सवालहरुका सम्बन्धमा यहाँहरु माझ केही कुराहरु राख्न चाहान्छु ।

जीवनमा कतिपय घटनाहरु हामीले कल्पनासम्म गरेका हुँदैनौ तर सामना गर्नु पर्ने स्थिति उत्पन्न भएर आउने गर्दछ । त्यसैमध्ये हामीले यस्ता धेरै घटना, दुर्घटनाहरु आफंैले खुद भोग्यौ भने कति घटनाहरु पूर्बजको भोगाइलाई कथा जसरी सुन्यौ र मनन पनि गर्दै आएका छौं । इतिहासलाई फर्केर हेर्ने हो भने हामीलाई छर्लङ्ग हुन्छ कि समय समयमा देशमा बिभिन्न खालको साह्रो गाह्रो परिस्थिति हुदै आएको छ । त्यस्ता परिस्थितिहरुसंग हामी डटेर अगाडि बढ्दै आएका छौं ।

कुरा अहिलेको कोरोना कहरसंग जोडौं । जुन भाईरस हामीले फिल्मको पर्दामा हेर्न पनि मुश्किल परेको थियो । त्यो आज हाम्रो जीवनमा ज्वलन्त भएर घुमिरहेको छ । सिंगो पृथ्वीलाई कब्जा गरिरहेको छ, विज्ञानलाई चुनौती दिईरहेको छ । यसले को ठूलो, को सानो, धनी, गरीब, यो जात, उ जात, बालक, बृद्घ, केही नभनी समानरुपले सर्बत्र आक्रमण गरिरहेकोछ । यसले यो धर्म, त्यो धर्म पनि नभनी सारा जगतलाई सुनसान हुने गरी मृत्युको नाङ्गो नाच नाचिरहेकोछ ।

हिन्दु, इसाई, मुस्लिम, बुद्घिष्ट आदि इत्यादि, जो जुन धर्मसंग सम्बन्धित राष्ट्र भए पनि कोरोना भाइरसले आफ्नो बसमा पार्न सफल भैरहेको छ । हाम्रो देश नेपाल अनि हामी नेपाली, परापूर्वकाल देखिनै सबै जनजाती, धर्म धर्मालम्बीहरु एक आपसमा मिलेर बसेका छौं, हाम्रो देशलाई चार जात छत्तिस वर्णको साझा फूलवारी भनेर दुनियालाई चिनाएका पनि छौं । हामी जुन धर्ममा आस्था राखे पनि भगवान सिर्फ एक, रुप अनेक भन्ने गर्दछौं । जीन्दगीमा आईपरेको अप्ठ्यारो अनी अन्धकारबाट बाहिर आउनका लागि हामी सबै नै आ–आफ्नो आस्था र विश्वास राख्ने भगवानसँग प्राथना गर्दछौं । यो कुनै नौलो कुरा हैन, आस्था राख्नु पर्छ, म स्वयं अल्लाहमा आस्था राख्ने मान्छे हुँ । तर आस्था राख्नु पर्छ भन्दैमा अन्धविश्वास नै गर्नु पर्छ भन्ने हैन । अहिले आएर मुस्लिम समुदायलाई नै असर पर्ने गरी विदेशी मुस्लिमहरुलाई नेपालमा आवत जावतमा रोक नलगाई धर्मस्थलमा बास बस्न दिएकै कारणले उदयपुर गाईघाटमा धेरैजना मुस्लिममा कोरोना पोजेटिभ देखिएको खबरले म अत्यन्तै दुखित भएको छु ।

म एक मुसलमान मात्र नभएर सच्चा नेपाली भएको नाताले हाम्रो नेपाली सम्पूर्ण मुसलमान समुदायलाई के भन्न चाहन्छु भने ‘अतिथी देवो भव’ लाई केही दिनका लागि मनबाट टाडै राखौं । यो कोरोनाले तपाईं र मलाई मात्र मार्ने हैन यदि हामीले अब पनि सोच्न ढिला ग¥यौं भने हामीले हाम्रो परिवार, छोराछोरी, दाजुभाइका साथै टोल छिमेकमा रहेका सबै साथीभाइलाई सार्न र मार्न पनि सक्छौं । यसमा कुनै दुइमत नै छैन । त्यसैले म सबैमा यो आग्रह गर्दछु कि हामी आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्दै मेरो छोटो कविता पनि जोड्न चाहन्छु ।

यो हो बिपदको बेला धीरता गर मानव
विश्वमा औषधि यसको तुरुन्तै छैन सम्भव
एक आपसमा हामी टाढा सुरक्षित भर्ई बसौं
मान्छेको दुखमा मान्छे, सबैले केही न केही गरौं ।

यो युद्व भनेको कुनै राजनीतिक दल, कुनै धर्मसँगको हैन । यो युद्व भनेको कारोना भाइरस वा भनौ मृत्यूसँगको हो । त्यसैले हामीले सरकारको आज्ञा पालना गरी लकडाउनमा बसेर मात्र जीत हाँसिल गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।

मेरो मतलव भगवानमा आस्था नराखौं भन्ने पटक्कै हैन आस्था राखौं, राख्नुपर्छ । पूजा पाठ जे जे गर्नु छ आफ्नो घर भित्रै गरौं । बाहिर चटक देखाउन जरूरी छैन अहिले । मनलाई जे गर्दा शान्ति मिल्छ त्यो गरौं तर लकडाउन भित्र बसेर गरौं । अहिलेको समयमा रिस र बलले केही हुनेवाला छैन । त्यसैले संयमता अपनाऔं । घरमा सुरक्षित बसेर कारोनासँगको यो हाम्रो लडाईमा जीत हाँसिल गरौं । भोलि फेरि पहिले कै अवस्थामा फर्किन सकौं ।

अन्त्यमा फेरि एक पटक सबैलाई हात जोडेर के भन्न चाहन्छु भने हाम्रो नियमित ध्यान हुने मस्जिदहरू केही समयलाई स्थगित गरी मानव कल्याणका लागि कोरोना भाईरस बिरूद्ध लड्न नेपाली मुस्लिम समाजलाई अनुरोध छ । म तपाईहरुको प्यारो कलाकार तैयव शाह, सदैब राष्ट्र र समाजप्रति समर्पित रहनेछु । यस सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक पङ्ती स्मरण गर्न चाहान्छु ।

‘मानिस ठूलो दिलले हुन्छ जातले हुदैन’
धन्यवाद !

Facebook Comments