परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आनन्दका केही टुक्रा

साहित्य

१.

दु:ख मनभित्र बर्षा पालेर

पीडा तब पो जवान हुन्छ

उसले भोकाहरू कहाँ देख्छ र

जसको पैसामा मात्र ध्यान हुन्छ !

 

 

२.

जल्छु ए दियो ! साथसाथ तेरो

गुनासो नरहोस् — ‘केही पनि छैन तेरो’ !

हँसाएको थियो दृश्यले एक दिन मलाई

रुँदै छु ए बगर ! साथ छ अब तेरो !!

 

३.

मेरो मनको पीडाको कथा यहाँ छ

तर सुन्ने मान्छे देख्दिनँ को कहाँ छ

सत्य हो— सबै छ जीवन गुजार्न

तर किन शून्य मेरो संसार छ?

डुब्दै म जान्छु जति पारि जान्छु

विधाता भन् मेरो लक्ष्य कता छ ?!

 

 

 

 

 

४.

केही कुरा मनको भन्न सकूँ

उपहास दुनियाको सुन्न सकूँ

सुख–दु:खमा अडिग रहन सकूँ

मलाई सिर्फ यति अधिकार देऊ

मलाई सुखको संसार नदेऊ !

म दिनहुँ पाल्छु नयाँ ब्यथा

मेरा अनौठा अनौठा छन् कथा

जसको न आदि न त अन्त्य होस्

त्यस्तो जीवनलाई सिर्फ आकार देऊ

मलाई सुखको संसार नदेऊ !!

 

 

 

 

५.

पीडा बच्चा झैँ बढ्न थाले

आँसुको डुङ्गा चढ्न थाले

दौडमा खरायो कछुवासित गई

जित्छु नै भनी दौडिन थाले !

पन्छीहरूका जब पिँजडा खुले

हेर, बाजहरू फेरि उड्न थाले

लिएर आयो जसले संजिवनी

मान्छेहरूले उसलाई नै गाड्न थाले !!

Facebook Comments