परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जहरै ओकल्छ यो हुण्डरी

कविता (छन्द: शार्दूल विक्रीडित)

आयो कोभिड चीलतुल्य मनुवा चल्ला बने चाँचरी

सारा विश्व छ थर्कमान अहिले सन्त्रासले बेसरी

रोक्ने हो कुन रीतबाट नरको संहार पो यो घरि?

सारा लोक सखाप पार्न जहरै ओकल्छ यो हुण्डरी॥१

 

कोरोना जुन उच्च सङ्क्रमण यो हाबी भयो बेसरी

पार्यो हेर समस्त लोककन नै आक्रान्त यसै घरि

छैनन् औषध रोग घोर जटिलै बन्दैछ धर्तीभरि

सारा लोक सखाप पार्न जहरै ओकल्छ यो हुण्डरी॥२

 

गर्छन् युद्ध विषाणुले शरीरमा फैलेर कब्जा गरी

मर्छन् सोत्तर नै परेर दुनियाँ तड्पेर ऐया गरी

आविस्कार मनुष्यको हुन गयो जित्नै नसक्ने अरि

सारा लोक सखाप पार्न जहरै ओकल्छ यो हुण्डरी॥३

 

हावाबाट फिजिन्छ हेर उसको साम्राज्य आगोसरि

हेर्दा छैन परन्तु भित्र दिलमा वज्रिन्छ त्यो बेसरी

उम्दा बाण छ रामबाण उसको रोकिन्न केही गरी

सारा लोक सखाप पार्न जहरै ओकल्छ यो हुण्डरी॥४

 

थाले बन्न अनेक शस्त्र फगतै मान्छे निसाना गरी

आस्थाले कुन झार्न सक्छ मह झैँ सञ्जीवनी तर्तरी

फैले कोभिड विश्व निल्छ धरती जाने छ बाँझो परी

सारा लोक सखाप पार्न जहरै ओकल्छ यो हुण्डरी॥५

 

रोकौँ दुष्ट किटाणुको कहर है जागेर मान्छे सब

धेरै गर्छ विनास खास यसको यस्तै चले ताण्डव

होला वंश विनाश है मनुजको यस्तो दशामा परी

सारा लोक सखाप पार्न जहरै ओकल्छ यो हुण्डरी॥६

Facebook Comments