परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

काँही नभएको झुम्रीको मुवाइल !

फुटानी

जमाना अनुसार चल्नु पर्छ भनेर झुम्रीलाई एउटा मुवाइल फुनको सेट किनी दिएको थिएँ, ए बाबा हो प्रचण्डलाई सत्ता प्राप्त भए जस्तै भएको छ । नेट पनि जोडेकी छ । समाचार, विचार फेसबुक, टुइटर सप्पै आउँछ भन्छे, त्यसैमा भुलेर खत्तम भै । हैन कति कुरा अटेको हौ त्यो मुवाइलमा । मलाई काममा जोतेकी छ, उ भने मुवाइलमा झुण्डिएकी छ ।

‘हौ काका ! कहाँ छौ ?’ बाहिरबाट कसले बोलायो भन्दै निस्किए माथिको ठूलोकान्छा भतिज पो र’छ ।

‘अनि भतिज यो लकडाउनको बेला कति कामले आइस् ।’

मेंरो त नेट नै चलेन हौ काका ! तिम्रो नेटको पासवर्ड भन त !

नेट चैं नचलेकै राम्रो है भतिज ! बेकारको र’छ त्यो नेट भन्ने जन्तु !

आ…. काका ! तिमी कुरो बुझ्दैनौं के ! अहिलेको जमानामा हामीलाई नेट भनेको नेतालाई कुर्सी जस्तै प्यारो हुन्छ क्या । खै पासवर्ड चै भनन !
कता पासपोर्ट भन्छ ! विदेश जानु पर्ने भा पो पासपोर्ट बनाउनु ! बनाकै छैननी भतिज ।

तिमी कुरो बुझ्दैनौ । काकी खै ?

झुम्री ! उ तिहाँ मुवाइलमा नेट हेरेर बसेकी छ ।

ए काकी खै पासवर्ड भन भन !

ए… ठूलो कान्छा ! कति खेर आइस् ? म त समचार पढेर बसी रा’की थिएँ ।

अघि आ’को नि ! पासवर्ड के हो ? काकालाई सोधेको त बनाकै छैन भन्छन् ।

सजिलो छ भतिज ‘झुम्रीकुमारी’ मात्र हो ।

‘आफ्नै नामको पासवर्ड बनाउनु भएछ काकी ले’ भन्दै ठूलो कान्छो आफ्नै मुवाइलमा घोप्टिएर थिच्न थाल्यो ।

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

माओवादीको कन्तविजोग!

प्रलाप भित्रका प्रचण्ड !

अहिले झुम्रीसंग बोल्नै नहुने भा’को छ । सत्तासिन पार्टीको नेता जस्तो पो भा’की छ । म त छक्कै पर्छु । यो मुवाइलले लेख्न चै राम्रो नराम्रो, भा’को न’भाको, हुने नहुने सप्पै लेख्छ अरे । पुग्न चै हाम्रो नेताहर्ले, बोले जस्तै एल्ले भनेको नपुग्ने र’छ । हिजो मात्र झुम्रीले समाचार सुनाउँदै थिई फेरि पछि होइन र’छ भनी । यो पनि झुठ बोल्न चैं हाम्रो नेताहरु भन्दा पनि खप्पिस ंछ ।

फेसबुके, टुइटे र अनलाइनेहर्ले सामाजिक सञ्जालको दुरुपयोग गरे, धुस्नु काडे । फोटोहरु पनि एउटाको अर्को जोडेर, अरु राष्ट्रले नेपाललाई पठाएको चिठ्ठी पनि कम्प्यूटरमा दुरुस्त बनाएर घुसार्दा रा’न भनेर झुम्री सुनाउदै थिई । मलाई पनि मुवाइलमा समचार हेर्न चैं खुबै रहर लाग्न थालेको छ । जान्दिन र पो !
ए… ठूलो कान्छा ! समचार के के छ सुनात ! घोसे्र मुन्टो लगाएर मोवाइलमा घोप्टिएको ठूलो कान्छो झसङ्ग भयो । हाम्रो मन्त्रीहरु पत्रकारहरुसंग तर्सिए जस्तै गरेर तर्सियो ।

नयाँ केही छैन हौ काका ! कोरोना भाइरसले मर्ने मान्छेको संख्या सप्पैतिर गरेर एक लाख नाध्यो अरे । हाम्रो चैं भारतमा निर्भर हुनुपर्ने छ अरे ! उता रोकियो भने यता पनि रोकिने न’भा नरोकिने भनेको होला ।

हाम्रो हर्ले जानेन भतिज । नेपालमै खेती किसानी गरेर खाने ठाउँ जति पनि थियो । तर, सारै नराम्रो गरी हाम्रो युवाहरु त भारत र खाडीतिर पो गुटुङटुङ हान्निएर काम खोज्न गयो । पहाडतिर खेत र बारी डङ्ग्रङ् डङ्ग्रङ बाँझिएर लडेको छ । तराइ त फेरि सप्पैतिर प्लटिङ्ग गरेर पो मरे छ । यो पाराले राष्ट्र उभो लाग्दैन भतिज ! उमेर भा’को जति सप्पै कोरोना बोक्न विदेश गा’को छ । अनि आफ्नो देश अरकच्च परेर जहाँको त्यही छ ।

मनासिप कुरो गरेउ काका ! तर, हाम्रो सरकारले पनि युवाहर्लाई काम दिन सकेन । खेतवारी बाँझो राख्न नपाउने नीति ल्याउँछ अनि युवाजति रेमिटेन्स भित्र्याउन विदेश पठाउँ छ । अनि खेतबारी बाँझै नबसे के बस्छ त ! हेर्नुन मलाई सरकारले कृषि ब्यवसायको लागि ऋण दिन्छ, अनुदान दिन्छ भनेर विदेशबाट आएँ । तर, त्यो पनि ठूला बडा र पहुँचवालाले मात्र पाउने र’छ ।

त्यही भर त बिग्रियो त भतिज ! काम गर्न सक्ने, आवश्यक परेको र पहुँच नभएकोहर्ले पाउनै सक्तैन । अनि त्यो अनुदानको के काम ।

अनि हौ भतिज तेरो भाइ चाहिँ काठमाडौंमै छ ?

लकडाउनले गर्दा उतै थुनियो नि हौ काका !

अनि अस्ति कहिले हो काठमाडांैबाट घर आउन दुई दिनलाई खुला ग¥यो भनेको होइन ?

ए… काका ! एकछिन पछि सरकारले होइन भनेर वक्तव्य नै निकाल्यो नि ! अनि त उतै थुनियो । काका म अहिले लागें घरतिर । भोलि आउँछु ।

भतिज पनि गयो । झुम्री भने एकोहोरो भएर मुवाइलमा घोप्टिएकी छ । यस्तो पाराले काम धन्दा चैं कसले गर्ने होला ! होइन यो मुवाइल सुवाइल राख्न नहुने र’छ । यसले नराम्रोसंग मान्छे विगार्दो र’छ । अब चाहिँ म क्लिएर भएँ । म कुन दिन काँही नभएको झुम्रीको मुवाइल उभिन्डे खोला पुग्ने गरी फ्याक्छु होला । नरहे बाँस, नबजे बाँसुरी ! कि कसो !

Facebook Comments