परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कस्तो अचम्म ! दुइटै सत्य हो

कोरोना डायरी –१०

हिजो बडो गज्जब भयो । एकछिन खुशी, एकैछिनमा दुःख । काठमाडौंमा पीडामा बसेका अथवा लकडाउनका कारण भोकै कोठामा थुनिएर बसेकाहरु आ—आफ्नो घर जान पाउने खबर आयो । हामी खुशीको मारे पोकापन्तुरा तयार गर्न थाल्यौ । काठमाडौंमा नराम्रो दुःख पाइयो, अब सायद यो ठाउँ आइँदैन होला । भोलि बाइबाई काठमाडांै भनेर चट्ट चार भञ्ज्याङ काटिन्छ । घर जान पाइने भयो भनेर मन रोमाञ्चित भयो ।

आवश्यक सामान पोको पारी सके पछि हँसिलो मुख बनाएर पिर्कामा बसेर फेसबुकसँग खेल्न थाले । मनमा यसो सोच्दै पनि थिएँ– अब गाउँ गएर बाँझो रहेका आफ्ना खेतवारीमा अन्न बाली लगाउने हो । पशुपालन व्यवसाय पनि थाल्नु पर्छ होला ।

यस्तै बेलामा फोनको घण्टी बज्यो । उठाएँ– उताबाट भोलि हामीलाई लिएर जाने ड्राइभर बोल्नुभयो– ‘अघिको समाचार होइन अरे !’ काठमाडौबाट बाहिर जान पाउने भनेकै छैन भनेर सरकारले फेरि वक्तब्य निकाल्यो ।

‘लाsss मारे छ’ भन्दै मलिनो अनुहार लाएर फोन राखें । सबैलाई जान नपाउने खबर सुनाए । वातावरण उकुसमुकुस भयो । एक जना पत्रकार भाइलाई फोन गरेर सोधें— हल्लो…, भाइ पत्रकार ! यो घर जान पाउने र नपाउने खबर कुन चाहिँ सत्य हो ? पत्रकार भाइले दाह्रा किट्दै भने ‘दुइटै सत्य हो ।’ उनले फोन राखिदिए म अरकच्च परें ।

हैन के के हुन्छ हँ यो नेपालमा ? एकता, समन्वय, विचार आदान प्रदान, विज्ञहरुसँग छलफल केही नै हुदैन यो मुलुकमा ? यो कोरोना भाइरस नसरोस्, नफैलियोस् भनेर लकडाउन गरिएको हो । सरकारले लगाएको कफ्र्यू होइन । दुई दिन छोड्दिने दुई दिन बन्द गर्ने सोचाई कहाँबाट आयो ? बडो विचित्र छ । बुझेर, सोचेर, छलफल गरेर निर्णयमा नपुगे झमेला आई लाग्छ । ‘दुवै सत्य हो’ पनि सरकारका विरुद्धको राष्ट्रिय मुद्दा बन्न पुग्यो ।

कति गर्नु यो सरकारको कुरा ! आउनुहोस् बरु भान्सामा पसौं । यी यो सिलिण्डरमा एक दुई छाक भात पाक्ने ग्याँस छ । दुई तीन किलो चामल र अलिकति नुन पनि छ । अस्ति घरबाट पठाई दिएको गुन्द्रुक र भात पकाउने खाने ! कि कसो ! एक दुई दिनलाई त पुग्यो, त्यसपछि चाहिँ हामीलाई ‘राहात पनि छैन, भात पनि छैन’ हुने भयो । हरे कोरोना कहाँबाट आयौं नि तिमी ! कतिलाई तिमी आफैंले लाने भयौ, कतिलाई भोकले लाने भयौ ।

खुईअ ! गर्दै बस्नु वाहेक सबै बाटो बन्द भएको बेला यो खालको समाचार कसरी आयो ? ‘होइन पनि, हो पनि’ दुईटै समाचार सत्य हुने नेपालको नियती नै हो कि क्या हो ? पोकोपन्तुरो खोलेर सामानहरु यथास्थानमा राखें । अब के गर्ने ? फेरि भित्रैदेखि चिमोटिएर प्रश्न उब्जियो । अनि अरुले सुन्ने गरी आफैं उत्तर दिएँ ‘केही पनि नगर्ने ।’

कोठामा थुनिएर बस्ने, कुनै काम नगर्ने र झोक्राएर टोलाउने मान्छेले हरेक खाले कुरा सोच्न सक्छ । त्यसमा पनि हामी नेपाली ‘उम्लिएको पानीमा कुख्रा चोबल्यो भने त्यसले उसिनेको अण्डा पार्छ’ भन्ने खालका छौं । एक पित्को बुद्धि नहुनेले पनि डोकाभरिको बुद्धि आफुसँग मात्र भएको धमास दिन्छ । हो, हामी त्यस्तैमा अभ्यास्त भएर बाँचेका छौं ।

अन्य आकर्षणहरू

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

बा-आमा देवता हाम्रा

यी हेर्नुन् मेरो मन बरालिएको । लकडाउनमा थुनिएर बस्नु भनेको म जस्तालाई चाहिँ उपचार गर्न पानीबाट बाहिर निकालेको माछाको अवस्था भएको छ । यस्तो वेलामा के गर्ने भन्ने सल्लाह भने कोही साथीले दिएका छ्रैनन् । पहिला पहिला त साथीहरुले भरमार सित्तैमा सल्लाह दिन्थे । अहिले सबै गुफा पसेका छन् । दिमागको एउटा सानो जुइनो फुस्कियो भने मान्छे बौलाउँछ भन्थे हो कि क्या हो ! जब समय प्रतिकुल हुन्छ तब व्यक्ति, समुदाय, समाज र राष्ट्रहरु उल्झनमा फस्नु अस्वभाविक होइन । अहिलेको विश्वले त्यही प्रतिकुल समय बेहोर्दै छ । म पनि त्यही भित्र छु ।

नाथे जाबो नदेखिने भाइरसले तहल्का मच्चाई रहेको छ । मानव समुदाय त्राहीमाम छ । यो वर्तमान असाध्य निष्ठुरी भएर आइलाग्यो । भविष्य झन् डरलाग्दो भएर उपस्थित हुने आँकलन गरिदैछ । अभावग्रस्त, भयग्रस्त र अराजक भविष्यको कल्पनाले मान्छेमा अहिले नै तनाव थपिएको छ । संकटबाट पार पाउन कसैसंग झगडा गर्न पनि नमिल्ने कसैलाई आरोप पनि लगाउन नमिल्ने कस्तो अवस्था हो यो !

कोरोना भाइरस यही नेपाल सरकारले विश्वभर फैलाएको हो भन्न पनि नमिल्ने, लकडाउन मान्दिन भन्न पनि भएन । यो पनि हुदैन, उ पनि मिल्दैन । अनि नेपालीको बानी अनुसार कसलाई सरापेर बस्ने । यो कोरोना सशरीर उपस्थित भए हाम्रो नेपालीले कोदो चुटाई चुटेर परम्धाम पुर्याइ दिने थिए ।

घर जान नपाएको रिस कोसँग पोखौं । होइन उही ख्याल उही साँच्चो पर्सिदेखि के खाने होला ! तपाईंहरु कस्तो कुरा बुझ्नु हुन्न हँ ! तर्कसँगत कुरो गर्नु म त्यसै छटपटाएको हैन । काम केही गर्न पाइएन, गोजा मात्र होइन, भान्सा कोठा समेत रित्तो छ । ‘यो पाराले संसार थाम्दैन है’ भनेको यही हो । आsss जेसुकै होस् है भनेर निचमारेर बसेर पनि नहुने भयो । झगडा र विलौना गर्ने ठाउँ पनि रहेन ।

लु अब म चाहिँ यही नानाथरिका सोच बोकेर सुतौं क्यारे । मैले बुझें तपाईलाई पनि मेरो कुरा सुन्न मन छैन । लु विदा माग्नलाई हात जोडेर नमस्कार गरें है !

चैत २८ गते

Facebook Comments