परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अल्छे तिघ्रो स्वादे जिब्रो पो भइयो

कोरोना डायरी– ९

आउनुहोस् फेरि एकछिन भलाकुसारी गरौं । सञ्चै हुनुहुन्छ ! के गर्नु लकडाउनले तपाईं हामीलाई हिड्न दिए पनि कोरोनाले दिदैन । बरु समय काट्ने मेलो गफ नै ठीक छ । साँच्चै एउटा कुरो भनौं है– हाम्रो पूर्खाले उपभोग गरेको जीवनशैली वैज्ञानिक र मानव हित खातिर नभै नहुने थियो कि थिएन ? प्रकृति पुजक हाम्रो पुर्खाले प्रकृति माथि मानव हस्तक्षेपको खुलेर विरोध गरेका थिए कि थिएनन् । उनीहरुको खानपान, रहन सहनले रोगब्याधीलाई परास्त गर्न मद्दत् ग¥यो कि गरेन होला ?

कोठामा थुनिएर बसेका बेला यस्तै कुरा मनमा खेल्न थालेको छ । वास्तवमा हाम्रा पूर्खाहरु निकै दूरदर्शी थिए । विभिन्न खाले महामारी र प्रकोपको कहरलाई सफलतापूर्वक पन्छाए । उनीहरुले प्राणी र प्रकृति बिचको सम्बन्धलाई सुमधुर बनाएर राख्न सके । रोग ब्याधी आइलागेको बेला वा विरामी परेको बेला जडिबुटीको पहिचान गरी ओखतीमुलो गरे । त्यसबेला पनि यस्तै खालका त्रासदी आइलाग्यो होला । बिभिन्न खालका दैवी प्रकोपहरु झेल्नु प¥यो होला ! त्यस्तो बेला के गरी बाँचे हाम्रो पूर्खा ?

अस्पताल थिएन, सुत्केरी भएका थिए, औषधी थिएन, विमारी निको बनाएकै थिए । लडेर घाइते हुन्थे, चोटपटक लाग्थ्यो, कतिपयको हात खुट्टा भाँचिन्थ्यो खै एक महिना भित्रै जस्ताको तस्तै बनाउँथे । खै त त्यो पद्धति, परम्परा र क्षमता कहाँ गयो ? हामीले किन त्यसको जगेर्ना गर्न सकेनौं ?

हो, यही कुराले अहिले हामीलाई लखेट्दै छ । खुट्टाको हड्डी दुई टुक्रा भएर भाँचिदा जडिबुटी पिधेर लेपन बनाएपछि त्यही दलेर बाँसको काम्रोले बाँधे पछि १८ दिनमा मानिस दौडने हुन्थ्यो । अहिले ६ महिना लाग्छ । त्यो पनि पहिलाकै रुपमा नआउन सक्छ । सुत्केरी हुन नसक्दा आफ्नै तरिकाले सहज रुपमा सुत्केरी गराउने विधि जानेका थिए । बिफर लगायतका रोग फैलन नदिन बैद्यहरुले खोपको विकास गरेका थिए । ती सबै परम्परागत विधिलाई हामीले तिरस्कार गर्दै आयौं । त्यसलाई वेकामे, रुढीगत परम्परा भन्दै अवमूल्यन ग¥यौं ।

रुख विरुवाको महत्व, खोला, नाला र नदीहरुको महत्व जलचर, थलचर र नभचर प्राणीहरुको महत्व हामीले बुझ्नै सकेनौ । चक्रीय प्रणालीमा अवरोध उत्पन्न भयो भने दुःखका दिन आउँछ भन्ने कुरा हाम्रा पूर्खाले बुझेको थियो । अहिले वातावरण, पर्यावरण, वनस्पति र प्रकृतिमाथि भष्मासुर तरिकाले गरिएको हस्तक्षेप रोकौं भनेर धेरै जना जागिर खाँदै छन् । हाम्रो पूर्खाले जोगाएर हामीलाई सुम्पिएको त्यो अमूल्य निधि हामीले नाश गरी सकेका छौं । अनि कोरोना, इवोला, एड्स लगायतका रोगका भाइरस, नमौलाए के मौलाउँ छ त !

हाम्रा आफ्नै जीवनशैलीहरु थिए । पद्धतिहरुलाई हामीले पुरातन, रुढीग्रस्त, अवैज्ञानिक र अरु यस्तै विल्ला भिराएर लखेटी सकेका छौं । हामीले नमस्कार गर्न विर्सिएका थियौं । ‘भिडभाडमा जिउ जोगाउनु अनिकालमा विउ जोगाउनु’ भन्ने पूर्खाको भनाई काम लाग्छ भन्ने नै सोचेनौं । अब यो खालको दशा आउन नदिने हो भने हाम्रा पूर्खाले अपनाएका राम्रा कुराहरु हामीले पुनः आत्मसात गर्नै पर्छ ।

तपाईंलाई लाग्यो होला यहाँ लकडाउनमा थुनिएको बेला अर्ति र उपदेश, पूर्खा र पर्यावरणको कुरो कोच्याउँछ भन्ने । मलाई त्यस्तो लाग्यो भनेको मात्र हो ।
मेरो शरीर अहिले गधालाई भारी बोक्न नदिएको स्थिति भोग्दै छ । युट्युवे र टुइटेहरुले भरमार मनपरी लेखेर नबुझ्नेलाई त्रास र बुझ्नेलाई मनोरञ्जन दिई रहेका छन् । हामी भने त्यता नझुत्तिएर पूर्खा सम्झदैछौं । कतिपयले त ‘काम पाइनस् बुहारी …, खोइ को नि के जाति गर !’ भने खालको र’छ भनेर ठान्नु भयो होला । हुन त मेरा मित्र आरडी कुलुङ नेपालीले ‘अहिले जस्तै युट्युवेहरु उबेला थिए भने राजकुमार सिद्धार्थ गौतम बुद्ध होइन, बौलाहा हुन्थे’ भनेर लेखिसक्नु भएको छ । आsss छोडौं यो कुरो !

अन्य आकर्षणहरू

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

बा-आमा देवता हाम्रा

यता छतबाट चारैतिर हेर्नु त, परिवेश नै अनिदो, आलस्य र उराँठको दोलाईं ओढेर गुम्फित भए जस्तो छ । चैत्र वैशाखको महिना उराँठ लाग्ने हुनु स्वभाविकै हो । तर, यो बेला न्याउली नरुने, डाँफे नउड्ने र कोइली नकराउने अवस्थाले भने अलि भिन्नै अर्थ राख्छ । मन भरी आशंका लिएर नराम्रो खबरको प्रतिक्षामा यो समय बसी रहेको छ । हो, हामी यही समय भित्र छौं । सशङ्कित भएर कतै कुनै ननिको खबरको प्रतिक्षा गरे जस्तो ।

यो फूर्सदको समयलाई सिर्जनात्मक काममा लगाउनु पर्ने हो तर सकिएन । यसो केही लेखौं जस्तो लागेर कलम खोजेको त्यो पनि छैन । मेरा छिमेकी पल्लो घरका विनय मित्र सरलाई फोन गरेर आफूसँग कलम नभएको जानकारी गराएँ । उहाँले एउटा पाइलट पेन ल्याएर दिनु भयो । म फुरुक्क परें । हातमा लिएको कलम हेर्दै सोच्न थाले – मबाट रचनाको सिर्जना ! लौ यो हुन सक्तैन । पटक्कै हुदैन । त्यसका लागि अध्ययन हुनुपर्छ, समाज विश्लेषण गर्न सक्ने क्षमता हुनु पर्छ, दर्शन, भूगोल र इतिहासको विज्ञ हुनुपर्छ । म भनेको ‘टपरटुयाँ पनि हुन्छ, मुर्ख मध्ये प्रतिष्ठित’ मात्र हो ।

आजको दिन पनि त्यतिकै गयो । लेखन, खेतीपाती र स्वाथ्यकर्मीलाई त वेफुर्सद नै छ । हामी जस्ता लठबुङको भने ‘कुरो कथनी, दिन कटनी’ पनि नहुने भयो । साँची मेरा मित्र पिएचडी डाक्टर ढाकाराम सापकोटा के गर्दै हुनुहुन्छ होला ! हुन त उहाँ लेखेर बस्ने मान्छे हो । बेफुर्सदमै हुनुहुन्छ होला । लकडाउन खुलेपछि सोध्ने छु– ‘डाक्टर साप लकडाउनको समयलाई कसरी उपयोग गर्नु भयो ?’

अहिले अल्छी र मेरो मित्रता सारै घनिष्ट भएको छ । अलि अलि भएको दिमाग कता थन्क्याएँ आफैलाई थाहा छैन । अनि अररिएर बसेको छु । पाङ न पुच्छरको कुरा ग¥यो, मनमा विभिन्न खाले तर्कना र शरीरमा खाद्य पदार्थ भ¥यो बस्यो । अन्नले पनि सराप्छ, अल्छे तिघ्रो, स्वादे जिब्रो भन्ने बुझ्दा बुझ्दै पनि त्यो युक्ति म माथि पूर्णरुपले लागू भयो ।

आजलाई नमस्कार गरें है हजुर !

चैत २७ गते

Facebook Comments