परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लकडाउने नेपाल भ्रमण

कोरोना डायरी- ३

लौ आउनु होस् चोटा, कोठा र छततिर घुमेर गफ गरौं । कोरोना, लकडाउन, भाइरस, सेनेटाइजर सावुन–पानी, माक्स, परिक्षण, नेगेटिभ, पोजेटिभ, भ्रष्टाचार लगायतका शब्दहरु भन्दा पर अर्को संसारमा प्रवेश गरौं ।

साबुन–पानीले हात धोएर कोठमा पस्न म तपाईंलाई निमन्त्रणा गर्छु । के यही शहरहरु मात्र नेपाल हो ? पक्कै पनि होइन । मानिसको जनघनत्व शहरमा बढी छ । यो वास्तविकता हो र सबैलाई थाहा छ । यो बाहेक दुर्गम ग्रामिण क्षेत्र, लेक, बेसी र तराइका फाँटहरुमा पनि जीवन छ भन्ने बिर्सन मिल्दैन । लौ त्यहाँको जनजीवन लकडाउनमा के गर्दै छ ? यो फोनबाटै घुमेर आऊँ ।

पर्खनु होस् है म पूर्वी पहाडको ताप्लेजुङ बस्ने पत्रकार आनन्द गौतमलाई फोन लगाउँछु ।

– हल्लोsss ! आनन्दजी हो !

– हजुर ! नमस्कार ! हो म आनन्द बोल्दै छु ।

– आनन्दजी के छ त्यहाँको अवस्था, मुलतः खेती किसानी गर्ने ग्रामिण कृषकहरु के गर्दैछन् ?

उताबाट आनन्दजीले किसानहरुको बारेमा बताउन थाल्नु भयो – हाम्रो गाउँघरतिर लकडाउन गरिरहनु पर्ने अवस्था छैन । किसानहरु आफ्नो काममा जुटेका छन् । लेकको माथिल्लो भागका किसानहरु गहुँबाली सम्बन्धी काम गर्दैछन् । माथिल्लो लेक भन्दा तल र औल भन्दा माथिल्लो भागका किसान मकै गोड्न व्यस्त छन् । तल औलतिर चैते धान लगाउने चटारो छ । किसानहरु फुर्सदमा छैनन् । सदरमुकामतिर भने लकडाउनको पालना गरिएको छ । अरु सबै यथास्थितिमै चलिरहेको छ ।

धन्यवाद आनन्दजी । अब म सरासरी तराई झरेर विराटनगर छेउमै रहेको झोराहाट जान्छु । र, त्यहाँ स्थानीय समाजसेवी टीकाप्रसाद खतिवडालाई भेट्छु ।

– टीकाजी के छ तराईका देहातको खबर ?

– खासै केही छैन । विदेशबाट कोही आएको छ भने गाउँलेहरुले खबर गर्छन् । नत्र किसानहरु आ–आफ्नो खेतवारीमा काम गरेर दिन बिताउँदै छन् । समूहमा भेला नभई गहुँ, मुसुरो धनियाँ उठाउने काम र अन्य खेतीका लागि जमिन बनाउने काम हुँदैछ । हटिया लगाउन बन्द गरिएको छ, समूहमा भेला नुहुनु भनिएको छ । लकडाउनले देहातमा होइन शहरी क्षेत्रमा प्रभाव पारेको छ । दैनिक जीवन चलिरहेकै छ ।

ल त टीकाजी तपाईंलाई झोराहाट मै छाडेर म कर्णालीको हुम्ला जिल्ला गएर पत्रकार नवराज महतरालाई भेट्छु ।

नमस्कार है नबराजजी !

….. नमस्कार ! हैन कहाँबाट टुप्लुक्क आईपुग्नु भयो । लौ यो साबुन पानीले मिचिमिची हात गोडा धोएर भित्र बसौं ।

पानी त प्रसस्त रहेछ त नबराजजी !

छ नि ! उsss त्यो परको खोल्सीमा पानीको मुहान छ । गहुँ लगायतका बाली यहाँका किसानले वैशाखमा थन्क्याउँछन् । यी किसान देख्नु भएन खेतबारीमा । यिनीहरु चिनो, कोदो, सिमी लगायतका बाली लगाउँदै छन् । यो वर्ष हिउँ प्रसस्त परेकाले यहाँका किसान खुशी छन् ।

अन्य आकर्षणहरू

सर्जक पदम गौतमको विश्रामपुर !

यात्रा

यहाँ अझै मानिस बाँकी छन्

नेपालगन्जिया

– अनि लकडाउनको प्रभाव कस्तो छ नि ?

– किसानहरुमा लकडाउनको प्रभाव खासै छैन । आफ्नो परिवार मिल्छन् खेती पाती गर्छन्, बस्छन् ।

– ल तपाईंलाई धन्यवाद । म अहिले नेपालगंज पुगेर पत्रकार डिल्ली विसीलाई भेट्नु छ । म उतै लागें ।

– नमस्कार है डिल्लीजी !

– नमस्कार ! अहो खबरै नगरी आई पुग्नु भयो त !

– म आज तराईको देहात र पहाडी जिल्ला को ग्रामिण क्षेत्र घुम्न निस्किएको यहाँ आई पुगें । अनि हौ डिल्लीजी ! यहाँका सर्वसाधारण किसानहरुको खबर के छ नि ?

– खासै उल्लेख्य केही छैन । किसानहरु अहिले आ–आफ्नो खेतवारीबाट मुसुरो, चना, तोरी, केराउ, गहुँ लगायतका बाली भित्र्याउँदै छन् । परिवार मिलेर आफ्नो खेतवारीमा जान्छन् । काम गर्छन्, आफ्नो घर फर्किन्छन् । देहातलाई लकडाउनले खासै फरक पारेको छैन । स्कुल, कलेज, संघ संस्था बन्द छन् । यसको प्रभाव विद्यार्थी र अभिभावकमा परेको छ । शहर र सीमा क्षेत्रमा भने हल्ला बढी भएर होला मानिसहरु अलि बढी भयभित छन् ।

डिल्लीजीको कुरा सुन्दा सुन्दै रात पर्न लाग्यो । म उहाँसँग बिदा भएर पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदवारी पुगें । मनकामना रत्न अम्बिका उच्च माविका हेडसर कुवेर प्रसाद भेटुवाललाई भेटेर भलाकुसारी सुरु गरें ।

उहाँले कोरोनाप्रति सचेत र लकडाउनको समयलाई ख्याल गर्दै किसानहरु आ–आफ्नो खेतबारीमा खटीरहेको उल्लेख गर्नु भयो ।

कुबेरजीले भन्नुभयो – अब मकै छर्ने बेला हुन लाग्यो । यसले गर्दा किसानहरु बारीमा मल हाल्न ब्यस्त छन् । चैते (तौली) धान लगाउने बेला पनि भयो । काम नगरी माम मिल्दैन भन्ने कुरा किसानले बुझेका छन् । बजारहरु भने खुलेका छैनन् । लकडाउन आफ्नै लागि हो भन्ने बुझ्दा बुझ्दै पनि बाध्यताहरु छन् । यो महामारीले आउँदो साल भोकमरी ननित्याओस भनेर सबै आफ्नो काममा खटिरहेका छन्  ।

उहाँको कुरोलाई विट मारेर म काठमाण्डौंको कोठामा फर्किए । अनि ओछ्यानमा डङ्ग्रङ लडेर सोच्न थालें – तराईको देहात, पहाडी जिल्लाको ग्रामिण क्षेत्र, जिल्ला स्थित बजार र काठमाण्डौं बीचमा कत्रो अन्तर । सोचमा, गतिमा, मतिमा, बोली बचनमा, व्यवहारमा फराकिलो खाडल । यहाँका अधिकांश मान्छे नकरात्मक सोचले किच्चिएर, असहयोगी भावनाले थिच्चिएर, लोभले गुडल्किएर कुण्ठामा बाँचेका छन् ।

उsss फोनको घण्टी बज्यो । तल भान्साबाट श्रीमती तारा पोखरेलजीले मिसकल गर्नु भयो । सायद चिया खाजा तयार भयो । अब म तल ओर्लिन्छु ।

आफ्नै कोठामा थुनिएको बेला भएको मेरो ताप्लेजुङदेखि हुम्लासम्मको किसान यात्रा ! तपाईंहरुलाई कस्तो लाग्यो ? खुसुक्क भन्नु होस् है । वाई वाई !

चैत २० गते अपरान्ह

Facebook Comments