परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोभिड–१९ विरूद्धको लडाईंमा कसको जिम्मेवारी कति?

एकता, संयम्ता र सुझबुझ नै बल हो, जीवन हो, समयको माग हो

मानव सभ्यताको इतिहासमा यसअघि कहिल्यै नदेखिएको महामारी कोभिड १९ व्याधीको सामना आज सिङ्गो विश्वले गरिरहेको छ । हाम्रो राष्ट्रसँगै हामी नेपाली पनि यो महामारीसँग जुधिरहेका छौँ । देश लकडाउनमा गएको पनि हप्ता दिन भइसकेको छ । छिमेकी भारत तीन हप्ते लकडाउनमा छ । कोरोना भाइरस वा कोभिड १९ भनेर चिनिने यो महामारीले विश्व संरचना, विश्व व्यवस्था र विश्व अर्थ व्यवस्था नै तहसनहस पारेको छ । यसले मानव सभ्यता नै सिध्याउने त हैन भन्ने विश्वव्यापी चिन्ता बढिरहेको छ । यसको सङ्क्रमण कसरी हुन्छ, यो कस्तो खालको भाइरस हो भनेर यसलाई पहिचान्न कोशिस गर्दागर्दै चीनको वुहान शहरमा सन् २०१९ को अन्त्यतिर देखिएको यो महामारीले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र १९३, पर्यवेक्षक राष्ट्र दुई र आफूलाई स्वतन्त्र राष्ट्र दाबी गरेका तर संयुक्त राष्ट्रसङ्घको सदस्यता पाइनसकेका ११ समेत २०६ देशमध्ये १९९ वटामा फैलिसकेको छ ।

छिमेकी देश भारतमै निजी क्षेत्र राज्यलाई कोरोना विरूद्ध लड्न मुट्ठी खोलेर अरबौँको धनराशी सहयोग गरिरहेको छ । राज्यले सधैँ संरक्षण गरेको हाम्रो निजी क्षेत्र अहिले आपत्का बेला कहाँ छ र कसरी यो महालडाईमा हाम्रो पक्षमा आइरहेको छ भनेर आम नागरिकले खोजी गरिरहेका छन् । तारे होटल जस्ता अस्पतालका ढोका विरामीका लागि बन्द गर्नु, आपत्का बेलामा राज्य र नागरिकलाई साथ र सहयोग नदिनुले निजी क्षेत्रको उपस्थितिबारे समेत प्रश्न उठ्न थालेको छ ।

कोभिड १९ बाट सबैभन्दा धेरै व्यक्तिको मृत्यु इटलीमा (१०,७७९) भएको छ भने सबैभन्दा धेरै सङ्क्रमित संयुक्त राज्य अमेरिकामा भएका छन् । यस विश्व महामारीका सङ्क्रमित र मृतकको सङ्ख्या उल्लेख गरिसक्नु छैन किनभने यो संङ्ख्या प्रत्येक घण्टा अप्रत्याशित रूपले थपिँदै गएको छ । यो सामग्री तयार पार्दासम्म विश्वका सात लाख २१ हजार बढी नागरिक यस महामारीबाट सङ्क्रमित देखिएका छन् भने झण्डै ३४ हजारको ज्यान गइसकेको छ । विश्वको शक्तिशाली देश अमेरिकामा मात्रै परीक्षणको दायरा बढ्दै जाँदा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या डेढ लाखको नजिक पुगेको छ । पछिल्लो १२ घण्टायताको तथ्याङ्कमा १८ हजार बढी सङ्क्रमितको सङ्ख्या थपिएको छ भने थप २५५ जनाको मृत्युसँगै त्यहाँ कोभिड १९ बाट मर्नेको सङ्ख्या २४७५ पुगिसकेको छ । अमेरिकापछि दोस्रो स्थानमा रहेको इटलीमा मात्रै यस महामारीबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ९८ हजारको हाराहारीमा पुगेको छ । ८१ हजार बढी जनामा फैलिएको र तीन हजार बढीको ज्यान लिएको उद्गम थलो चीनमा कोभिड १९ थामिने सङकेत देखिए पनि युरोप र अमेरिकामा डढेलोको रूपमा भयावह ढङ्गले फैलिरहेको छ । मृत्युको घण्टा बजाइहेको छ र रोकिने नामोनिसान नै देखिँदैन । आफ्नो एक जानगरिकको ज्यानको बदला युद्ध छेड्ने हैसियत राख्ने विज्ञान, प्रविधि, हतियार, स्वास्थ्य विज्ञानले सुसज्जित शक्ति राष्ट्रहरू कोरोना वा कोभिड १९ भाइरसबाट आफ्ना नागरिकहरू सयौँ र हजारौँका सङ्यामा मरिरहेको हेर्न विवश छन् । तिनको आधुनिक चिकित्सा प्रणाली लाचार छ ।

भौतिक विकास, शस्त्रअस्त्र, आर्थिक सामथ्र्य, विज्ञान प्रविधि र चिकित्सा प्रणालीबाट सुसज्जित शक्तिशाली देशहरूको हालत यस्तो छ । तुलनात्मक रूपले कम विकसित, सामथ्र्यका हिसाबले कमजोर तर बाक्लो जनघनत्व भएको विश्वको करीब ३ प्रतिशत भूभाग र २१ प्रतिशत जनसङ्ख्या भएको दक्षिण एशियामा यो महामारी युरोप र अमेरिकाको जस्तै फैलेको भए के हुन्थ्यो, कल्पना गर्न पनि सकिन्न । शक्ति राष्ट्रहरूका शासक स्वयं पनि यस महामारीको सङ्क्रमणबाट जोगिन नसकेको अवस्था छ । स्पेनमा त शाही परिवारकी सदस्यको समेत ज्यान गएको छ । विश्वको नियमित हवाई सेवा बन्दप्रायः छ । हजारौँ लाखौँ खर्ब डलरको विश्व अर्थ व्यवस्था ध्वस्त भएको छ । अधिकांश देशहरूले आफूलाई बन्द राखेका छन् । देश बाहिरको आवतजावत मात्रै हैन, आन्तरिक आवतजावत राज्य सरकारहरूले बन्द गरेका छन् ।

नागरिक बचाउन कोरोना विरूद्ध सरकार कठोर बनिरहँदा भोकमरीले गरिब र विपन्न नागरिक मर्ने अवस्था पनि आउनुहुन्न । कोरोना बाहेकका रोगबाट लाखौँ नागरिक पीडित छन् । कोरोना विरूद्धको लडाईमा तिनको उपचार र जीवन रक्षा छायाँमा पर्नुहुन्न । केन्द्रदेखि स्थानीय स्तरका राज्य संयन्त्र परिचालन गरेर कालाबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य बृद्धिलाई नियन्त्रण गरी, दैनिक उपभोग्य वस्तुको आपूर्ति सुचालु राख्ने चुनौतीको सामना पनि सरकारले गर्न सक्नुपर्छ ।

स्वास्थ्य विज्ञहरूले पत्ता लगाए अनुसार, व्यक्ति व्यक्तिबीचको भौतिक सम्पर्कबाट कोरोना भाइरस फैलिने भएकाले यसलाई फैलिनबाट रोक्न आफूले आफैँलाई घरभित्र बन्द अवस्थामा राख्नुपरेको छ । झण्डै डेढ अर्व जनसङ्ख्या भएको छिमेकी राष्ट्र भारतले आफ्ना नागरिकलाई तीन हप्ते लक डाउन अन्तर्गत घरभित्रै राखेको अवस्था छ भने हाम्रो देश नेपालले पनि पहिलो एक हप्ता र थप आठ दिनका लागि लक डाउन गरी नागरिकको ज्यान संरक्षण गर्ने प्रयत्न गरिरहेको छ । छिमेकी भारतमा एक हजार २४ जना सङ्क्रमित छन् भने २७ जनाको ज्यान गइसकेको छ । भारतको तुलनामा हामी केही सुरक्षित अवस्थामा छौँ । हामीकहाँ सङ्घीय सरकार, स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, पाँच जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ भने यीमध्ये एक जना निको भइसकेको अवस्था छ । जम्मा ९१७ जनामा कोरोना परीक्षण गरिएकोमा ९१२ जना सङ्क्रमित नभएको अर्थात् यस भाइरसले नछोएको नतिजा आएको छ । यो सन्तोषको विषय हो ।

तर, जति व्यक्तिमा कोरोनाको सङ्क्रमण देखियो, ती विदेशबाट स्वदेश फर्केकाहरू भएका कारण तिनको हवाई यात्रा, नेपालमा आएर प्रयोग गरेका सवारी साधन, हाट– बजार, परिवारका सदस्य, आफन्त र सम्पर्कमा आएका समुदायका सदस्यहरूमध्ये कतिमा यो सङ्क्रमण फैलियो वा फैलिन पाएको छैन भन्ने यकिन हुन नसक्नु नै अहिलेको चिन्ताको विषय हो । अन्तर्राष्ट्रिय सीमा बन्द गरिसकेपछि पनि छिमेकी भारतबाट हजारौँको सङ्ख्यामा घर फिरेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको परीक्षण हुन नपाउनु अहिलेको चिन्ता हो । तिनमा केहीजानी कोरोनाको भाइरस रहेछ भने त्यो कति फैलियो होला भन्ने डर अहिले सिंगो राष्ट्रलाई छ ।

नेपाल सरकारले त्यही कारण जो जहाँ छ, त्यहीँ राखेर परीक्षणको दायरा बढाउँदै कोरोना सङ्क्रमण फैलिन नदिने रणनीति लिएको छ । केहीजानी यो महामारी भुसको आगोसरि फैलियो भने महाशक्ति राष्ट्रको त केही नलागेको उदाहरण देखिइरहेको छ, हाम्रो हालत के होला? यो प्रश्नको उत्तर अकल्पनीय छ । अहिले स्वास्थ्यविज्ञ, स्वास्थ्यकर्मीहरू, सचेत नेपाली नागरिक, राजनीतिक दलहरू र राज्य सरकार, मिडिया, सुरक्षाकर्मी सबैको प्राथमिक दायित्व र प्रयत्न यस भाइरसलाई थप फैलिन नदिने नै हो ।

विरोधका लागि विरोधभन्दा पनि रचनात्मक सुझाव दिएर काम गर्नेहरूको मनोवल बढाउनुपर्छ । कानून बाहिर गएर कुनै गलत काम गरेका खण्डमा भोलि कसैले उन्मुक्ति पाउँदैन नै । पहिले यो विपत्का बेला हामी बाँचौँ । बाँचेर यो विपत् टरेपछि तपाई–हामीले नै छानेका प्रतिनिधिहरूको संसद्, संसदीय समितिहर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायालय छन् । लोकतन्त्रमा निर्वाचित जनउत्तरदायी सरकार जवाफदेहीबाट उम्केर जाने ठाउँ छैन । संसद् र संसदीय समितिहरूमा छलफल हुन्छ, बहस हुन्छ । प्रधानमन्त्रीदेखि विभागीय मन्त्री र सम्बन्धित सचिव र अधिकारीहरूसँग त्यहाँ जवाफ खोजिनेछ, बयान लिइनेछ । प्रतिपक्षलाई लोकतन्त्रमा राज्यले पालेर राख्नुको कारण पनि आलोचना सुन्नलाई नै हो । उसले पनि संसद्मा भूमिका खेल्ने नै छ । अख्तियारले मुद्दा चलाउने, न्यायालयमा सुनुवाइ हुने र फैसला हुने ठाउँ छँदैछ । यी सबै लोकतान्त्रिक विधि र प्रक्रिया भोलि महामारी साम्य भएपछिका कुरा हुन् ।

यो विषम परिस्थितिमा यसअघि कहिल्यै अनुमानसम्म नगरेको अदृश्य विश्वव्यापी शत्रुको हामीले सामना गरिरहनुपरेको छ । यस्तोमा हामी सबैले आआफ्नो ठाउँबाट जिम्मेवार बन्न जरुरी छ । यो सामान्य अवस्था होइन न त यो कुनै तानाशाहले जनताका अधिकार कटौती गर्न लगाएको कफ्र्यु नै हो । हामी नेपालीले तानाशाहले लगाएको कफ्र्यु बहादुरीपूर्वक तोडेका उदाहरण छन् । तिनले दिएका आदेश र आज्ञालाई ज्यानको बाजी लगाएर अवज्ञा गरेका उदाहरण छन् । तर यो त्यस्तो परिस्थिति होइन । हाम्रै मतबाट लोकतान्त्रिक प्रक्रियामार्फत् बहुमत प्राप्त जनताको लोकतान्त्रिक सरकारले जनताकै जीउज्यान संरक्षण गर्न, नेपाली सभ्यता बचाउन गरेको लक डाउन हो अर्थात् हामी आफैंले आफैँलाई आफ्नै सुरक्षाको लागि घरमा राखेको अवस्था हो । सरकारले लकडाउन गर्ने आँट नगरेको भए विद्यालय, कार्यालय, हाट बजार, बन्द व्यापार पूर्ण खुला राखेको भए हामी आममान्छे हिँडडुल गर्नुपर्ने हुन्थ्यो । लाखौँको सङ्ख्यामा हामी हिँड्डुल गर्न बाध्य हुने नै थियौँ किनभने हामीमध्ये कतिको जागीरमा गयल हुन्थ्यो, कतिको पढाइ छुट्थ्यो, कतिका सरकारी कार्यालयका काम छुट्थे, कति हामी बैंकमा पैसा जम्मा गर्ने, झिक्ने र तिरोतारोका लागि बैँकमा लाम लाग्थ्यौँ, कति नयाँ खुलेको जागीरका लागि फर्म भर्न लाम लाग्थ्यौँ, कति पुलिस रिपोर्टका लागि लाममा हुन्थ्यौँ भने हामीमध्ये ९५ प्रतिशतको दैनिकी सार्वजनिक वसमा कुखुरा कोचाइ र सिन्की खँदाइ अवस्थामा चल्थ्यो । कति हामी विदेश जाने हुन्थ्यौँ । कति हाम्रा आफन्त विदेशबाट आउँदै हुन्थे । कैयन विदेशी पर्यटक नेपाल आउँथे । ती पनि निर्धक्क घुम्थे । त्यसपछि के हुन्थ्यो होला? हामी अनुमान गरौँ । यसैकारण लकडाउन गर्नुपरेको हो । यो कुनै सत्तापक्षले विपक्षीलाई देखाउन गरेको लकडाउन वा विपक्षीले सत्तापक्षलाई दबाब दिन गरेको बन्द होइन । अनि स्वतन्त्रता हनन् भएकाले त्यसको बहालीका लागि नागरिकले हर्कत् गर्नुपर्ने अवस्था पनि होइन । वैज्ञानिक पुष्टि भएको कुरा के हो भने यो भाइरस मावमानवबीचको सम्पर्कबाट नै सर्छ । यो हावाबाट उडेर आउँदैन । आउँछ भने हामीले बाहिर गएर फर्किँदा साथमै लिएर आउँदा मात्रै आउँछ । त्यसैले हामी घरै बस्नुपरेको हो ।

हामीले सुरुसुरुमा नबुझेर कोरोना भाइरसलाई उडायौँ । हामी नेपाली बेसार खाने, मरमसला, खुर्सानी खाने, हामीलाई यो भाइरसले छुँदैन भन्यौँ । नेपाल कोरोनामुक्त देश हो भने नेपाल भ्रमणको प्रचार पनि ग¥यौँ । त्यतिखेर हामीलाई यसको गाम्भीर्य थाहा भएन । तर त्यसो होइन रहेछ । मौका पायो भने यो गुणात्मक हिसाबले फैलँदो रहेछ भन्ने अब हामीले बुझिसकेका छौँ । यौटा तथ्य हामीले के विर्सनुहुँदैन भने यो भाइरस लक्षण देखिएर पनि सर्छ, नदेखिएरै पनि सर्छ । लक्षण नदेखिइकनै अरु कैयौँलाई सारिसकेपछि मात्रै पनि सङ्क्रमित व्यक्तिलाई लक्षण देखिन सक्छन् । अनि यसको सङ्क्रमणमा परेका बलियाबाङ्गा युवा पनि मरी नै रहेका उदाहरण हाम्रा सामुन्ने छन् । त्यसैले मलाई त केही हुन्न भन्ने मानसिकताबाट हामी मुक्त हुनैपर्छ । हामीले आफू, आफ्नो परिवार, आफन्त, समाज, राष्ट्र र मानव सभ्यताका लागि आफूलाई आफैँले अनुशासनमा राख्नैपर्छ । आनीबानी परिवर्तन गर्नैपर्छ । अत्यावश्यक काम विशेष बिना घरबाट निस्कने धृष्टता गर्ने हुन्न । त्यस्तो विशेष परिस्थितिमा पनि मास्क लगाएर, हातमा स्यानिटाइजर लगाएर मात्रै निस्कनुपर्छ र अरुभन्दा कम्तीमा तीन फिटको दूरी बनाइरहनुपर्छ । सामान किन्दा पसलमा पनि यही उपाय अपनाउनुपर्छ र घर आउने वित्तिकै साबुनपानीले हात धुने, स्यानिटाइज गर्ने उपाय अपनाउनुपर्छ । बेलाबेलामा साबुनपानीले हात धोइरहनुपर्छ ।

कतिपय हाम्रा आवश्यकता र इच्छा यो विषम परिस्थितिमा पूरा हुन सक्दैनन् । हाम्रा स्वादका सबै खानेकुरा नपाइन सक्छन् । हामीले जान चाहेका ठाउँ, घुम्न खोजेका ठाउँमा मन परेका मान्छेसँग जान नपाइएको हुन सक्छ । आफन्त, छरछिमेक, ओल्लोपल्लो घर आवतजावत बन्द भएको अवस्था छ । घर बस्दाबस्दै वाक्क दिक्क भएको अवस्था हुन सक्छ । हाम्रा आम्दानीका स्रोत घटेका छन् । यी कुराले हामीलाई पीडा दिन्छन् नै । तर यसको विकल्प के छ त? संसारै यही अवस्थामा गुज्रिरहेको छ । सहनुको कुनै विकल्प नै छैन । यही घरभित्रको बसाइलाई रचनात्मक र रमाइलो बनाएर बस्नुको पनि कुनै विकल्प छैन । घरमै बसेर गर्न सकिने काम गरेर समय बिताऊँ । आफन्तसँग फोन र अनलाइनमार्फत् कुरा गरौँ ।

अहिलेको आपत्कालीन अवस्थामा सामाजिक मिडिया आफैँ प्रहरी बन्ने, अनुसन्धान गर्ने, छानबिन गर्ने, मुद्दा चलाउने र आफैँले फैसला नै गरिदिने, अपफाह फैलाउने हिसाबले जुन आएको छ, यो जिम्मेवारी बोध होइन भन्नैपर्ने हुन्छ । एकथरी पत्याइएका विद्वानहरू जिम्मेवारीका साथ प्रस्तुत हुनुको साटो यस्तो विपत्का बेला जनमानसलाई भड्काउने र भ्रम फैलाउने कोशिसमा प्रस्तुत भएका पनि देखिएका छन् । तिनले आफैँलाई आफैँले प्रश्न गरे हुन्छ, आफैँले चाहिँ अहिले भ्रम फैलाउने र अपफाह फैलाउने बाहेक के योगदान गरेका छन्? तिनलाई भन्नुपर्ने हुन्छ, संयमता अपनाऊँ, आह्वान गर्नुपर्ने हुन्छ, आऊ, जिम्मेवारीका साथ सबै मिली कोरोना विरूद्ध लडौँ, हामी अरुलाई पनि बचाऊँ, आफू पनि बाँचौँ । सस्तो लोकप्रियताका लागि जे पायो त्यही नबोलौँ ।

हामी त घरमा सुरक्षित नै छौँ । खाली पट्यारको कुरा होे । तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवामा खट्ने ढुवानीकर्ता, सरसफाइकर्मी, कर्मचारी, पसल सञ्चालक, सञ्चारकर्मीहरूले हाम्रा लागि ज्यानको बाजी थापेर दिनरात नभनी काम गरिरहेका छन् । विभिन्न तहका सरकारमा रहेका हाम्रा जनप्रतिनिधिहरू रातदिन खटिरहेका छन् । अभाव, गरीबी, विपन्नता र संसारै बन्द भएको यो अप्ठ्यारो परिस्थितिमा राज्य सरकारले क्षमताले भ्याएसम्म हाम्रै लागि काम गरिरहेको छ । अत्यावश्यक सेवाका कर्मचारी ज्यानको बाजी थापेर काम गरिरहेका छन् । यस्तो बेलामा हामीले सामान्य परिस्थितिमा जस्तै घर बसीबसी फेसबुक, ट्वीटर लगायतका सामाजिक मिडियाबाट गर्ने गाली, टिप्पणी र देखाउने बोक्रे विज्ञता खेल मैदानमा प्रतिकूलताका बाबजूद खेलिरहेको खेलाडी र युद्धस्थलमा भोकै लडिरहेको जवानलाई गरेको टिप्पणी जस्तो नबनोस् । हामी आफैँ अहिले त्यस स्थानमा भए के गर्न सक्थ्यौँ, यसरी सोच्न आवश्यक छ । विकसित र सामथ्र्य भएका देश समेत लाचार बन्न बाध्य भएको भाइरस महामारीमा हाम्रो राज्यका सीमा छन् भन्ने हेक्का राख्नुपर्छ ।

विरोधका लागि विरोधभन्दा पनि रचनात्मक सुझाव दिएर काम गर्नेहरूको मनोवल बढाउनुपर्छ । कानून बाहिर गएर कुनै गलत काम गरेका खण्डमा भोलि कसैले उन्मुक्ति पाउँदैन नै । पहिले यो विपत्का बेला हामी बाँचौँ । बाँचेर यो विपत् टरेपछि तपाई–हामीले नै छानेका प्रतिनिधिहरूको संसद्, संसदीय समितिहर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायालय छन् । लोकतन्त्रमा निर्वाचित जनउत्तरदायी सरकार जवाफदेहीबाट उम्केर जाने ठाउँ छैन । संसद् र संसदीय समितिहरूमा छलफल हुन्छ, बहस हुन्छ । प्रधानमन्त्रीदेखि विभागीय मन्त्री र सम्बन्धित सचिव र अधिकारीहरूसँग त्यहाँ जवाफ खोजिनेछ, बयान लिइनेछ । प्रतिपक्षलाई लोकतन्त्रमा राज्यले पालेर राख्नुको कारण पनि आलोचना सुन्नलाई नै हो । उसले पनि संसद्मा भूमिका खेल्ने नै छ । अख्तियारले मुद्दा चलाउने, न्यायालयमा सुनुवाइ हुने र फैसला हुने ठाउँ छँदैछ । यी सबै लोकतान्त्रिक विधि र प्रक्रिया भोलि महामारी साम्य भएपछिका कुरा हुन् ।

अहिलेको आपत्कालीन अवस्थामा सामाजिक मिडिया प्रहरी बन्ने, अनुसन्धान गर्ने, छानबिन गर्ने, मुद्दा चलाउने र आफैँले फैसला नै गरिदिने, अपफाह फैलाउने हिसाबले जुन आएको छ, यो जिम्मेवारी बोध होइन भन्नैपर्ने हुन्छ । एकथरी पत्याइएका विद्वानहरू जिम्मेवारीका साथ प्रस्तुत हुनुको साटो यस्तो विपत्का बेला जनमानसलाई भड्काउने र भ्रम फैलाउने कोशिसमा प्रस्तुत भएका पनि देखिएका छन् । तिनले आफैँलाइृ आफैँले प्रश्न गरे हुन्छ, तिनले आफैँले चाहिँ अहिले भ्रम फैलाउने र अपफाह फैलाउने बाहेक के योगदान गरेका छन्? तिनलाई भन्नुपर्ने हुन्छ, संयमता अपनाऊँ, आह्वान गर्नुपर्ने हुन्छ, आऊ, जिम्मेवारीका साथ सबै मिली कोरोना विरूद्ध लडौँ, हामी अरुलाई पनि बचाउँ, आफू पनि बाँचौँ । सस्तो लोकप्रियताका लागि जे पायो त्यही नबोलौँ ।

सरकारमा रहेका जनप्रतिनिधि र अधिकारीवर्गले पनि आम जनताका सुझावलाई समेत ख्याल गरी, पारदर्शी ढङ्गले आमजनमानसको विश्वास जित्दै द्रुत गतिमा कोरोना विरूद्धको लडाईमा लागिरहनुपर्छ । विदेशबाट आएका सबैको तथ्याङ्क लिएर परीक्षणको दायरा फराकिलो बनाउनु अति आवश्यक छ । एकातिर कोरोनासँगको युद्ध पनि जितेर राष्ट्रलाई पहिलेकै ट्रयाकमा ल्याउनुपर्ने जिम्मेवारी सरकारको छ भने गरिब र विपन्न तथा आपत्मा परेका जनताको जीवन रक्षाको दायित्व पनि सरकारकै छ । जनता बचाउन कोरोना विरूद्ध सरकार कठोर बनिरहँदा भोकमरीले गरिब र विपन्न नागरिक मर्ने अवस्था पनि आउनुहुन्न । कोरोना बाहेकका रोगबाट लाखौँ नागरिक पीडित छन् । कोरोना विरूद्धको लडाईमा तिनको उपचार र जीवन रक्षा छायाँमा पर्नुहुन्न । केन्द्रदेखि स्थानीय स्तरका राज्य संयन्त्र परिचालन गरेर कालाबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य बृद्धिलाई नियन्त्रण गरी, दैनिक उपभोग्य वस्तुको आपूर्ति सुचालु राख्ने चुनौतीको सामना पनि सरकारले गर्न सक्नुपर्छ । लक डाउन हुनासाथ खाद्यान्न नै नपाइने जुन त्राश देखिएको थियो, स्थानीय छेउछाउका पसलहरू खुलिरहनुले त्यो त्राश हट्दै गएको छ । तर कतै स्टक सकिने पो हो कि भनने डर अझै नागरिकहरूमा छ । यस पङ्क्तिकारले केही पसलेहरूसँग कुरा गर्दा खाद्यान्नको आपूर्तिमा समस्या छैन भन्ने जवाफ दिएका थिए ।

छिमेकी देश भारतमै निजी क्षेत्र राज्यलाई कोरोना विरूद्ध लड्न मुट्ठी खोलेर अरबौँको धनराशी सहयोग गरिरहेको छ । राज्यले सधैँ संरक्षण गरेको हाम्रो निजी क्षेत्र अहिले आपत्का बेला कहाँ छ र कसरी यो महालडाईमा हाम्रो पक्षमा आइरहेको छ भनेर आम नागरिकले खोजी गरिरहेका छन् । तारे होटल जस्ता अस्पतालका ढोका विरामीका लागि बन्द गर्नु, आपत्का बेलामा राज्य र नागरिकलाई साथ र सहयोग नदिनुले निजी क्षेत्रको उपस्थितिबारे समेत प्रश्न उठ्न थालेको छ । निजी क्षेत्र यो महायुद्धमा आम नागरिकको पक्षमा खुलेर आउनुको बिकल्प छैन । मुट्ठी खोल्ने र जिम्मेवार देखिने यही उपयुक्त बेला हो ।

सरकार, राज्य स‌ंयन्त्र, चिकित्सा क्षेत्र, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र हामी आमजनता सबै एकताबद्ध भई कोरोनालाई परास्त गर्नुको कुनै विकल्प छैन । दिनरात नभनी ज्यानको बाजी थापेर काम गर्ने ज्यूँदा भगवान चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवामा खटिने व्यक्तिको सुरक्षालाई उच्चप्राथमिकता दिँदै तिनको मनाेबल बढाऔँ । पछि अवस्था सामान्य भएपछि आआफ्ना वाद, सिद्धान्त र विचार अनुसार चल्ने ठाउँ त छँदैछ नि। अहिलेलाई एकता, संयम्ता र सुझबुझ नै बल हो, जीवन हो, समयको माग हो । अस्तुः ।

Facebook Comments